१. भूमिका
कम्युनिस्ट पार्टीको जीवन्तता नेतृत्वको शक्तिमा मात्र होइन, नेतृत्वलाई निरन्तर सच्याउने, खबरदारी गर्ने र आवश्यक पर्दा हस्तक्षेप गर्ने संस्थागत संस्कृतिमा निर्भर हुन्छ । कम्युनिस्ट आन्दोलनमा नेतृत्वको अधिकार जति महत्त्वपूर्ण हुन्छ, त्यति नै महत्त्वपूर्ण हुन्छ नेतृत्वमाथिको जनवादी नियन्त्रण । यही जनवादी नियन्त्रणको संगठित, जिम्मेवार र संस्थागत अभिव्यक्ति नै ‘हस्तक्षेपकारी भूमिका’ हो ।
मेरो बुझाइमा हस्तक्षेपकारी भूमिका नेतृत्वविरुद्धको आवेगपूर्ण विद्रोह होइन; नेतृत्वलाई सिद्धान्त, विधि र जनहितको मार्गबाट विचलित हुन नदिन समयमै सचेत गराउने, आवश्यक पर्दा दृढतापूर्वक सच्याउने र अन्तिम विकल्पका रूपमा वैचारिक तथा संगठनात्मक संघर्षमार्फत सुधार वा परिवर्तनको पहल गर्ने कम्युनिस्ट जिम्मेवारी हो । यसको आधार अनुशासनहीनता होइन, सिद्धान्तप्रतिको निष्ठा र संगठनप्रतिको उत्तरदायित्व हो । यसको मूल उद्देश्य व्यक्ति परिवर्तन होइन, सही राजनीतिक दिशा, जनवादी मूल्य र स्वस्थ संगठनात्मक संस्कृतिको रक्षा गर्नु हो । व्यक्ति त सहायक पक्ष मात्र हो ।
विडम्बना के छ भने, कम्युनिस्ट पार्टीमा वर्ग, सिद्धान्त र संगठनभन्दा व्यक्ति क्रमशः माथि उठ्दै गएको छ । गणतन्त्रमा यस्तो हुनु दुःखको कुरा हो । यही प्रवृत्तिले जनवादलाई कमजोर बनाउँदै अन्ततः क्रान्तिकारी चरित्रलाई क्षय गराएको छ । यस अर्थमा, समस्याको चुरो जनवादको (आन्तरिक लोकतन्त्र) कमजोरी वा हत्या हुनुभित्र अन्तर्निहित छ । जसका कारण सत्तामा पुगेका धेरै कम्युनिस्ट पार्टीहरूमा व्यक्तिको पतन वा अवसानसँगै क्रान्तिको प्रतीकात्मक रातो रङ पनि क्रमशः धुमिल हुँदै जान्छ ।
कम्युनिस्ट आन्दोलनको इतिहासले देखाएको छ कि धेरै आन्दोलनहरू नेतृत्वको कमजोरीका कारण मात्र होइन, नेतृत्वलाई समयमै सच्याउन नसक्ने संगठनात्मक विरासत र सामन्ती–पुँजीवादी संस्कृतिको प्रभावका कारण पनि कमजोर भएका छन् । जहाँ नेतृत्वमाथिको जनवादी नियन्त्रण कमजोर हुन्छ, त्यहाँ व्यक्तिवाद, नोकरशाही र अवसरवादले ठाउँ लिन्छन् र आन्दोलनले क्रमशः आफ्नो क्रान्तिकारी ऊर्जा गुमाउँदै जान्छ ।
त्यसैले कम्युनिस्ट पार्टीमा नेतृत्वबाट तल्ला तहप्रति सकारात्मक निगरानी र तल्ला तहबाट नेतृत्वप्रति रचनात्मक खबरदारी तथा हस्तक्षेप—यी दुवै प्रक्रिया सन्तुलित रूपमा सञ्चालन भइरहनुपर्छ । यही सन्तुलन नै जनवादी केन्द्रीयताको आधार हो । यो सन्तुलन बिग्रँदा एकातिर अराजकता र अर्कोतिर नोकरशाही हाबी हुन्छ, र दुवैले अन्ततः पार्टीलाई वैचारिक तथा संगठनात्मक संकटतर्फ धकेल्छन् ।
दुःखको कुरा, नेपालको कम्युनिस्ट आन्दोलन आज यस्तै संकटबाट गुज्रिरहेको छ । नेतृत्वले आफैँले स्थापित गरेका मूल्य–मान्यता, विधि र मापदण्डको उल्लङ्घन गर्ने प्रवृत्ति बढ्दो छ भने आत्मसमीक्षा र आत्मसुधारको संस्कृतिसमेत कमजोर बन्दै गएको छ । गम्भीर राजनीतिक गल्तीपछि पनि त्यसलाई स्वीकार गर्नेभन्दा पनि प्राविधिक कारण देखाई घुमाई–फिराई सही साबित गर्ने प्रवृत्ति पार्टीमा हाबी हुँदै गएको छ । फरक मत राख्ने नेता–कार्यकर्तालाई दोषारोपण गर्ने प्रवृत्ति बलियो बन्दै गएको देखिन्छ । नेतृत्वका गलत क्रियाकलापप्रति खबरदारी गर्दै औँला ठड्याउने नेता–कार्यकर्तालाई पार्टीमा ’प्रवेश निषेध’ जस्ता अशिष्ट शब्द प्रयोग गरिँदै छ । यस्तो गैरमाक्र्सवादी अभ्यासले स्वस्थ बहस, आत्मआलोचना–आलोचना र सुधारका सम्भावनालाई क्रमशः साँघुरो बनाएको छ ।
यसै पृष्ठभूमिमा, यस लेखमा प्रस्तुत ‘हस्तक्षेपकारी भूमिका’ लाई केवल मेरो व्यक्तिगत अनुभवका रूपमा होइन, कम्युनिस्ट पार्टीको जीवन्तता, जनवाद र क्रान्तिकारिताको अपरिहार्य संगठनात्मक सिद्धान्तका रूपमा स्थापित गर्ने प्रयास गरिएको छ । यहाँ प्रस्तुत प्रसङ्गहरू आत्मकथाका पाना होइनन्; ती नेतृत्व, संगठन र सिद्धान्तबीचको सम्बन्धलाई व्यवहारमा परीक्षण गर्दै लामो राजनीतिक अभ्यास, संघर्ष र आत्मसमीक्षाबाट निस्किएका संगठनात्मक निष्कर्ष हुन् ।
२. अनुभव र संघर्ष
मैले प्रस्तुत गरेको ‘हस्तक्षेपकारी भूमिका’ कुनै सैद्धान्तिक कल्पना मात्र होइन, पार्टी जीवनका विभिन्न चरणमा व्यवहारमा उतार्ने प्रयासबाट प्राप्त निष्कर्ष हो । कतिपय प्रयास सफल भए, कतिपय असफल । तर प्रत्येक अनुभवले एउटा कुरा स्पष्ट ग¥यो—नेतृत्वलाई समयमै सच्याउने संस्थागत अभ्यास र संस्कृति नहुँदा कम्युनिस्ट पार्टी क्रमशः वैचारिक र संगठनात्मक संकटमा फस्दै जान्छ ।
एमाले र माओवादीबीच २०७५ साल जेठ ३ गते पार्टी एकता भएपछि स्थायी समिति बैठकमा लिखित प्रस्ताव प्रस्तुत गरेँ । यसमा नयाँ संविधान (२०७२) जारी भइसकेपछि पनि पार्टी, सरकार र संसद २०४७ सालको संविधानकालीन राजनीतिक कार्यशैलीबाट माथि उठ्न नसकेको विषयमा गम्भीर छलफल गर्न माग गरेको थिएँ । त्यस विषयमा छलफल नभएसम्म संसदमा नबोल्ने अडानसमेत लिएको थिएँ । तर त्यसबारे कुनै गम्भीर बहस भएन; संसद नै विघटन भयो । पार्टी एकता जोगाउन खेलेको हस्तक्षेपकारी भूमिका र संसद पुनःस्थापनापछि २०७९ साल जेठ ४ गते प्रतिनिधिसभाको रोस्ट्रमबाट मैले व्यक्त गरेको “हस्तक्षेपकारी धारणा“ नेतृत्वलाई असहज लागेको उनीहरूको अनुहारको उदासीनताबाट स्पष्ट बुझ्न सकिन्थ्यो । तर मैले पार्टी एकता बचाउन गरेका प्रयास र संसदमा उठाएका प्रश्नहरू सही थिए भन्ने कुरा समयले पुष्टि गरिदियो ।
यसै मान्यताका आधारमा २०७९ साल मंसिरमा पदाधिकारीहरूको सचिवालय बैठकमा नेतृत्वको विचार, नीति र कार्यशैलीमा देखिएका गम्भीर विचलनबारे सात पृष्ठ लामो सातबुँदे प्रस्ताव प्रस्तुत गरेको थिएँ । नेतृत्व परिवर्तन गर्नुपर्ने बाध्यात्मक स्थिति सिर्जना भएको संकेत गरेको थिएँ । त्यो कुनै व्यक्तिविशेषको विरोध होइन, पार्टीलाई सही दिशामा फर्काउने रचनात्मक हस्तक्षेप थियो । आज फर्केर हेर्दा एउटा आत्मआलोचना पनि गर्नुपर्छ—प्रस्ताव प्रस्तुत गरेपछि त्यसको कार्यान्वयनका लागि आवश्यक दृढताका साथ उभिन नसक्नु मेरो कमजोरी थियो । त्यसबेला नेतृत्वमा सुधारको झिनो अपेक्षा मभित्र बाँकी थियो, तर समयले त्यो अपेक्षालाई सही साबित गरेन । आज नेतृत्व र पार्टी मात्र होइन, राष्ट्र नै संकटमा पर्ने हो कि भन्ने चिन्ता व्याप्त भइरहेको छ ।
नेतृत्वको पटक–पटकका प्रस्तावलाई स्वीकार गरेर प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको जिम्मेवारी लिँदा पनि नेतृत्वलाई सही दिशातर्फ उन्मुख गराउने वातावरण निर्माण गर्न सकिन्छ कि भन्ने आशा निम्छरो भए पनि जीवितै थियो । केही सकारात्मक संकेत देखिए पनि त्यसमा सापेक्षिक सुधार हुन सकेन, क्षणिक भ्रममा सीमित रह्यो । प्रधानमन्त्रीले सुरु गरेको भ्रष्टाचारविरुद्धको कदम आन्तरिक र बाह्य प्रभावशाली व्यक्तिहरूतर्फ सोझिन थालेपछि आतंकित भएर त्यसलाई शिथिल पारिएको प्रस्ट देखेपछि मैले २०८० साल माघमा प्रमुख सल्लाहकार पदबाट राजीनामा दिएँ । मेरो दृष्टिमा त्यो कुनै व्यक्तिगत असन्तुष्टि होइन, सिद्धान्त, आदर्श र राजनीतिक नैतिकताप्रतिको प्रतिबद्धताबाट प्रेरित हस्तक्षेपकारी कदम थियो ।
यी अनुभवहरूले हस्तक्षेपकारी भूमिकाको आवश्यकता अझ स्पष्ट बनाइरहेका बेला, त्यसलाई व्यवहारमै परीक्षण गर्ने अर्को अवसर मलाई संगठनात्मक जिम्मेवारीमार्फत प्राप्त भयो ।
केन्द्रीय समितिको बैठक सम्पन्न भएपछि अध्यक्षले मलाई नयाँ संगठनात्मक जिम्मेवारीबारे छलफलका लागि केन्द्रीय कार्यालयमा बोलाउनुभयो । छलफलमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ पनि उपस्थित हुनुहुन्थ्यो । अध्यक्षले “पूर्व, मधेस र सुदूरपश्चिममध्ये कुन प्रदेशको जिम्मेवारी लिन चाहनुहुन्छ“ भनेर सोध्नुभयो । मैले स्पष्ट जवाफ दिएँ—“जहाँ जिम्मेवारी दिनुहुन्छ, त्यहीँ काम गर्छु । तर एउटा कुरा नोट गरिराख्नुस्, म पहिलेझैँ होइन, हस्तक्षेपकारी ढङ्गले काम गर्छु ।“ मैले ‘हस्तक्षेपकारी’ शब्द अनायास प्रयोग गरेको थिइनँ; त्यो मेरो स्पष्ट संगठनात्मक दृष्टिकोण थियो ।
त्यसपछि मलाई पूर्वको (१ नं. प्रदेश) जिम्मेवारी दिइयो । मैले २०८० साल चैत २ गते कान्तिपुर दैनिकमा “पूर्व–पश्चिमको सवालमा कहाँ चुक्यौं?“ शीर्षकको लेख प्रकाशित गरिसकेको थिएँ । उक्त लेखमा गणतन्त्र स्थापनापछि समाजवाद निर्माणको सन्दर्भमा पूर्वको भूमिकालाई पार्टीले प्राथमिकतामा नराख्नु गम्भीर राजनीतिक कमजोरी भएको उल्लेख गरेको थिएँ । यस प्रकारको पृष्ठभूमिमा अग्रगामी राजनीतिक चेतनाको ऐतिहासिक विरासत बोकेको त्यस क्षेत्रमा समाजवादी कार्यदिशालाई नयाँ ढङ्गले कार्यान्वयन गर्न सकिने विश्वास थियो ।
जिम्मेवारी सम्हाल्नेबित्तिकै प्रदेशका प्रमुख नेताहरूबाट बैठक बोलाउने प्रस्ताव आयो । तर मैले पहिले जिल्लाहरूमा पुगेर नेता–कार्यकर्ताको अनुभव, गुनासा र सुझाव प्रत्यक्ष सुन्नुपर्ने धारणा राखेँ । करिब पन्ध्र दिनको छलफलपछि प्राप्त निष्कर्षका आधारमा प्रदेश समितिको तर्फबाट एउटा हस्तक्षेपकारी प्रस्ताव तयार गरियो, जसमा पार्टीभित्र देखिएका संगठनात्मक कमजोरी र सुधारका उपायहरू समेटिएका थिए ।
प्रदेश बैठकमा अध्यक्षलाई उपस्थित हुन आग्रह गर्दा प्रारम्भमा उहाँले सहजै स्वीकार गर्नुभयो । तर पछि अनिच्छुक हुनुभयो । तर प्रदेशको दबाब झेल्न नसकेपछि बैठकमा सहभागी हुनुभयो । २०८१ साल जेठ २९ गते सम्पन्न बैठकमा प्रदेशका तर्फबाट प्रस्ताव प्रस्तुत भएपछि अध्यक्षले निजी सचिवालयबाट आफूलाई बैठकमा नजान सुझाव आएको जानकारी गराउनुभयो । तर प्रदेशले प्रस्तुत गरेको प्रस्ताव सकारात्मक र उपयोगी लागेको अनुभूति व्यक्त गर्दै उहाँले प्रदेश इन्चार्जप्रतिको आफ्नो शंका निवारण भएको धारणा राख्नुभयो । यसले पार्टी पंक्तिमा नयाँ उत्साह र आत्मविश्वास सिर्जना ग¥यो ।
त्यसपछि सञ्चालन गरिएको ‘पूर्वेली संगठन सुदृढीकरण अभियान’ ले उल्लेखनीय परिणाम दियो । यसले “हस्तक्षेपकारी कार्यशैली“ व्यवहारमै प्रभावकारी हुन सक्ने देखायो । कोशी प्रदेशमा संगठन पुनर्जीवित भयो, स्थानीय तहको उपनिर्वाचन र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा पार्टीले उल्लेखनीय सफलता हासिल ग¥यो र मोरङको ग्रामथान गाउँपालिका र महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा विजयसँगै पार्टी राष्ट्रिय रूपमा पनि बलियो उपस्थितिसहित अघि बढ्न सफल भयो । यसले सही राजनीतिक कार्यशैली, जनवादी केन्द्रीयतामा आधारित सामूहिक नेतृत्व र रचनात्मक हस्तक्षेपले संगठनलाई पुनर्जीवित गर्न सक्ने तथ्य व्यवहारद्वारा पुष्टि भयो ।
यसै अवधिमा कोशी प्रदेश सरकारमा पार्टीको सहभागिताका क्रममा मन्त्री चयनको विषय उठ्यो । अध्यक्षबाट आएको व्यक्तिगत निर्देशनभन्दा प्रदेश नेतृत्वको सामूहिक छलफलबाट बनेको निर्णयलाई प्राथमिकता दिइयो । यो नेतृत्वको अवज्ञा होइन, संगठनात्मक विधि, सामूहिक निर्णय र न्यायपूर्ण प्रक्रियाप्रतिको प्रतिबद्धता थियो । मेरो बुझाइमा हस्तक्षेपकारी भूमिका भनेको यही हो—नेतृत्वलाई अस्वीकार गर्नु होइन, नेतृत्वलाई सही प्रक्रियाभित्र राख्ने साहस देखाउनु हो ।
यसै मान्यतालाई दृढतापूर्वक अघि बढाउने क्रममा संघीय संसदको निर्वाचन (२०८२) मा निरन्तरतामा क्रमभङ्ग भयो । मेरो गृह जिल्लामा केन्द्रीय नेतृत्वले उम्मेदवार छनोट गर्दा जिल्ला कार्यदलले सर्वसम्मतिले सिफारिस गरेका उम्मेदवारमध्येबाट होइन, सरोकारवाला कसैसंग पनि सल्लाहसमेत नगरी जनवादी प्रक्रियाको उपेक्षा गरियो र अन्य निर्वाचन क्षेत्रमा सिफारिस गरिएको उम्मेदवारलाई बलजफत थोपर्ने अप्रिय काम भयो । अनुशासनको हवाला दिँदै व्यक्तिवादी र स्वेच्छाचारी निर्णय लादियो । मैले आफ्नो असहमति स्पष्ट रूपमा राखेँ र सिन्धुली जिल्ला कार्यदलले सर्वसम्मत गरेको निर्णायक विद्रोहमा साथ दिएँ । मेरो विश्वास सधैँ एउटै रह्यो—कम्युनिस्ट आन्दोलनमा व्यक्तिप्रतिको निष्ठाभन्दा सिद्धान्त र आदर्शप्रतिको निष्ठा ठूलो हुन्छ । आवश्यक पर्दा नेतृत्वलाई सचेत गराउनु, गलत निर्णयमा हस्तक्षेप गर्नु र संगठनलाई सही दिशामा उन्मुख गराउनु कुनै व्यक्तिविरोधी कार्य होइन; त्यो कम्युनिस्ट नेता–कार्यकर्ताको राजनीतिक र नैतिक जिम्मेवारी हो ।
यी सबै घटनाहरू फरक–फरक समयका भए पनि तिनको साझा सूत्र एउटै थियो—नेतृत्वलाई व्यक्तिविरोधका आधारमा होइन, संगठनात्मक सिद्धान्तका आधारमा सच्याउने प्रयास । यी सबै अनुभवहरूले मलाई एउटै निष्कर्षमा पु¥याएको छ—रचनात्मक हस्तक्षेपलाई संस्थागत नगरी कुनै पनि कम्युनिस्ट पार्टीमा जनवादी जीवन, आत्मसुधार र संगठनात्मक गतिशीलता कायम रहन सक्दैन । जहाँ तलबाट हस्तक्षेप गर्ने साहस समाप्त हुन्छ, त्यहीँबाट कम्युनिस्ट पार्टीको वैचारिक पतन सुरु हुन्छ ।
३. निष्कर्ष : संगठनात्मक शिक्षा र भविष्यको प्रस्ताव
मेरो राजनीतिक जीवनका यी अनुभवहरू कुनै व्यक्तिगत सफलता वा असफलताको मूल्याङ्कनका लागि होइनन्; कम्युनिस्ट पार्टीको संगठनात्मक जीवनबारे एउटा गम्भीर निष्कर्षमा पुग्नका लागि महत्त्वपूर्ण आधार हुन् । मैले देखेको, भोगेको र आत्मसमीक्षा गरेको यथार्थले एउटै कुरा पुष्टि गरेको छ—नेतृत्वलाई समयमै सच्याउने संस्थागत संस्कृति र वैज्ञानिक विचार, नीति र विधि नहुँदा कम्युनिस्ट पार्टीमा व्यक्तिवाद, नोकरशाही, अवसरवाद र आत्मसन्तुष्टिको प्रवृत्ति क्रमशः बलियो बन्छ । अन्ततः यही प्रवृत्तिले पार्टीको जनवादी जीवन, वैचारिक सृजनशीलता र क्रान्तिकारी क्षमता कमजोर पार्छ र अन्ततः नष्ट गर्दछ ।
नेपालको मात्र होइन, विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुग्नुका पछाडि लेनिनवादी संगठनात्मक सिद्धान्तका केही अन्तर्निहित सीमितताहरू पनि जिम्मेवार देखिन्छन् । विशेषतः नेतृत्वमाथि निरन्तर जनवादी नियन्त्रणको संस्थागत संयन्त्र कमजोर रहनु वा नहुनु यसको प्रमुख कमजोरीमध्ये एक हो । अल्पमत–बहुमतको संख्यात्मक अभ्यासले निम्त्याउन सक्ने नकारात्मक परिणामप्रति माओत्सेतुङले गम्भीर प्रश्न उठाउँदै त्यसलाई न्यूनीकरण गर्ने प्रयास गरेका थिए । तर नेतृत्वमाथि निरन्तर, संस्थागत र प्रभावकारी जनवादी नियन्त्रणको विचार, नीति, विधिमा आधारित स्थायी संयन्त्र विकास हुन सकेन । यही कमजोरीले धेरै कम्युनिस्ट पार्टीहरूमा नेतृत्वलाई क्रमशः संगठनभन्दा माथि उठाउने स्वेच्छाचारी प्रवृत्तिलाई बल पु¥यायो ।
यसबाट शिक्षा लिँदै कम्युनिस्ट आन्दोलनले संगठनात्मक संरचनामा नयाँ सोच विकास गर्नु आवश्यक छ । मेरो विचारमा हस्तक्षेपकारी भूमिका कुनै व्यक्तिको नैतिक साहसमा मात्र निर्भर रहनु हुँदैन; त्यसलाई संस्थागत व्यवस्था बनाइनुपर्छ । नेतृत्व चयनदेखि मूल्याङ्कनसम्म उत्तरदायित्व र जनवादलाई सुदृढ गर्ने नयाँ पद्धतिबारे गम्भीर बहस आवश्यक छ । यस सन्दर्भमा मेरिटोक्रेसी (मूल्याङ्कन प्रणाली) र डेमोक्रेसी (मतदान प्रणाली) लाई ५०–५० प्रतिशतको आधारमा समन्वय गरी नेतृत्व चयन गर्ने पद्धति एउटा सम्भावित विकल्प हुन सक्छ । मूल्याङ्कन विधिमार्फत केन्द्रीयता र गोप्य मतदानमार्फत जनवादको अभ्यास हुन्छ । यस प्रकारको अभ्यासले टिके प्रथाको अन्त्य मात्र गर्दैन, मूल्याङ्कन समिति मार्फत अराजकतालाई पनि नियन्त्रण गर्दछ । यसले नेतृत्वलाई जनताप्रति मात्र होइन, संगठनप्रति पनि बढी उत्तरदायी बनाउन सहयोग पु¥याउन सक्छ । यसले लोकप्रियता र कार्यक्षमताबीच सन्तुलन कायम गर्दै नेतृत्व चयनलाई न व्यक्तिगत प्रभावमा सीमित राख्छ, न केवल प्रशासनिक मूल्याङ्कनमा । पावर, पैसा र मसलको दुरुपयोगलाई सीमित रूपमा भए पनि अङ्कुश लगाउँछ ।
तर संगठनात्मक सुधार यतिमै सीमित रहन सक्दैन । सोभियत संघमा स्टालिनको कार्यकालदेखि क्रमशः गहिरिँदै आएको नोकरशाही र स्वेच्छाचारी प्रवृत्तिको प्रभाव अझै पनि धेरै देशका कम्युनिस्ट पार्टीमा देखिन्छ । त्यसैले लेनिनवादी संगठनात्मक सिद्धान्तको समयानुकूल समीक्षा, परिमार्जन र सिर्जनात्मक विकास अपरिहार्य बनेको छ । यस क्रममा पूर्वीय सभ्यता विशेषतः बौद्ध संगठनात्मक संस्कृतिमा विकसित करुणा, संवेदना, मनोविज्ञान, त्याग र लक्ष्यमा आधारित आत्मअनुशासन तथा आत्मसमीक्षाका अभ्यासले विकास गरेको वैचारिक सम्पदा, विशेषतः बुद्धका शिक्षा र दर्शनसँग गम्भीर संवाद आवश्यक छ । यसको उद्देश्य माक्र्सवादको विकल्प खोज्नु होइन, बरु प्रतिक्रान्तिलाई जन्म दिने संगठनात्मक, भावनात्मक, मनोवैज्ञानिक तथा सांस्कृतिक कारणहरूको गहिरो अध्ययन गर्दै माक्र्सवादलाई अझ समृद्ध बनाउनु हो । पूर्वीय दर्शनले “भावना र मनोविज्ञान“लाई उच्च प्राथमिकतामा राखेर अगाडि सारेका तर्क र तथ्यलाई गम्भीरतापूर्वक लिनु हो ।
कम्युनिस्ट आन्दोलनको भविष्य नेतृत्वको शक्तिमा होइन, नेतृत्वलाई सच्याउने जनवादी साहसमा निर्भर छ । यही साहसलाई संस्थागत रूप दिने नाम ‘हस्तक्षेपकारी भूमिका’ हो । त्यसैले म यसलाई नेतृत्व, जनवाद र अनुशासनसँगै कम्युनिस्ट पार्टीको चौथो संगठनात्मक स्तम्भका रूपमा स्थापित गर्न प्रस्ताव गर्दछु ।
इतिहासले बारम्बार पुष्टि गरेको छ—सही विचार, सही संगठनात्मक संस्कृति र आत्मसुधारको साहस भएको कुनै पनि क्रान्तिकारी आन्दोलन स्थायी रूपमा पराजित हुँदैन; त्यसको पुनर्जागरण सधैँ सम्भव हुन्छ ।
म नेपालको कम्युनिस्ट आन्दोलनको भविष्यप्रति निराश छैन । आन्दोलनले गम्भीर संकटको सामना गरिरहेको छ, तर सही वैचारिक दिशा, आत्मसमीक्षाको साहस, संगठनात्मक पहल र क्रान्तिकारी ध्रुवीकरणमार्फत पुनर्जागरण सम्भव छ । नयाँ पुस्ताको उदय, विशेषतः परिवर्तनप्रति प्रतिबद्ध युवाशक्तिको सक्रिय सहभागिताले त्यस सम्भावनालाई अझ बलियो बनाउन सक्छ ।
हाम्रो काम कम्युनिस्ट आन्दोलनमा सामेल युवाहरूमा आत्मविश्वास भर्नु, विकर्षण उन्मुख युवाहरूलाई कम्युनिस्ट आन्दोलनप्रति आकर्षित गर्नु र उनीहरूलाई निर्णायक भूमिकामा पुर्याउनु हो । र, २०२५ सालमा क्रान्तिकारी ध्रुवीकरणमार्फत संस्थापक पुष्पलाल श्रेष्ठले निर्वाह गरेको भूमिकालाई नयाँ सन्दर्भमा अझ उचाइमा व्यवहारमा उतार्नु हो । निराश हुँदै गइरहेका जनता, कार्यकर्ता र नेताहरूमा आशा र विश्वास पैदा गर्नु हो । यो सम्भव छ, किनकि पुँजीवादी सुधारका चक्रहरू उच्चतम सीमामा पुगेर रोकिएको मात्र होइन, धनी र गरिबबीचको कहालीलाग्दो खाडलका कारण तीव्र गतिमा ओरालो लागेकाले समाजवाद बाहेक मानव जातिको हित र अस्तित्व कायम राख्ने अर्को बाटो छैन । रातोपाटीबाट साभार