काठमाडौं , ०४ असार– पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनालले सार्वजनिक गरेको ३६ बुँदे पत्रमा हरिबोल गजुरेलमाथि पार्टीको विधि र प्रक्रियाभन्दा बाहिर गएर नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिशोधपूर्ण व्यवहार गरेको हो कि भन्ने प्रश्न उठाएपछि हरिबोल गजुरेलमाथिको कार्वाहीको विषयले फेरि चर्चा पाएको छ ।
पार्टी निकट स्रोतहरूका अनुसार प्रचण्ड र गजुरेलबीच दूरी बढ्नुका पछाडि मुख्यतः दुई विषय जिम्मेवार रहेको बताइन्छ । प्रचण्ड निकट मानिने घरबेटी शारदा अधिकारीले हालै ललितपुरस्थित होटल हिमालयमा केही व्यवसायीसँग भएको अनौपचारिक भेटघाटका क्रममा यसबारे चर्चा गरेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार पहिलो कारण गजुरेल प्रचण्ड प्रधानमन्त्री हुँदा उनका राजनीतिक सल्लाहकारका रूपमा कार्यरत रहेको समयसँग सम्बन्धित छ । त्यतिबेला प्रचण्डकी छोरी तथा स्वकीय सचिव गंगा दाहालसँग आवश्यक समन्वय नगरेको विषय नेतृत्व तहमा असन्तुष्टिको कारण बनेको बताइन्छ । त्यससँगै गजुरेलले सरकार र पार्टीभित्र भ्रष्टाचारको आरोप लागेका केही व्यक्तिलाई संरक्षण गरिएको भन्दै आन्तरिक तथा सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका थिए । पछि उनले सल्लाहकार पदबाट राजीनामा दिएपछि दुई नेताबीचको सम्बन्ध थप चिसिएको स्रोतहरूको भनाइ छ ।
दोस्रो कारण कोशी प्रदेश सरकार गठनसँग जोडिएको बताइन्छ । स्रोतका अनुसार प्रदेश सरकार गठनका क्रममा प्रचण्डले छोरी जुवाइँ जीवन आचार्यलाई मन्त्री बनाउने चाहना व्यक्त गरेका थिए । तर गजुरेलले प्रदेश नेतृत्वको स्वायत्त निर्णय प्रक्रियालाई प्राथमिकता दिँदै केन्द्रको इच्छाअनुसार निर्णय नगरेको र अन्य व्यक्तिलाई मन्त्री बनाएको चर्चा छ । यही विषयले पनि दुवै नेताबीचको दूरी बढाएको घरबेटी शारदाको भनाइ छ ।
यही कारण हरिबोललाई र हरिबोलले भनेको व्यक्तिलाई सिन्धुली उम्मेदवार नबनाएको बताइन्छ । शारदा अधिकारीको भनाइ उद्धृत गर्दै उक्त स्रोतले जिल्लास्तरमा सर्वसम्मत निर्णय गरेर प्रचण्डको इच्छाविपरीत उम्मेदवार चयन गर्ने प्रयास भएपछि प्रचण्ड आक्रोसित बने । उनले प्रचण्डलाई पार्टीको निर्णायक शक्ति केन्द्रका रूपमा चित्रित गर्दै नेतृत्वसँग टकरावमा जाने नेताहरू अन्ततः कमजोर बन्ने टिप्पणी गरे । भलै सिन्धुलीमा हरिबोलले बोकेका नेता तथा कार्यकर्ता आफूतिर ल्याउँदा प्रचण्डको दुई चार झोला पैसा खर्च भयो । त्यसले प्रचण्डलाई के फरक पार्छ ? कमसेकम हरिबोल त कमजोर बने नि, शारदाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । यो समाचार आजको अर्थ डट.कमबाट साभार ।