शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

बालमैत्री योजना निर्माणका लागि सुनकोशीमा संवाद

मंगलवार , जेठ १९, २०८३

सिन्धुली,१९ जेठ  — बालबालिका तथा किशोरकिशोरीका आवश्यकता, अपेक्षा र प्राथमिकतालाई स्थानीय सरकारको योजना तथा बजेट निर्माण प्रक्रियासँग जोड्ने उद्देश्यले सुनकोशी गाउँपालिकामा पालिका स्तरीय मेला संवाद कार्यक्रम सम्पन्न भएको छ । बालमैत्री तथा समावेशी विकासको अवधारणालाई व्यवहारमा उतार्ने लक्ष्यसहित आयोजित उक्त कार्यक्रममा बालबालिका, किशोरकिशोरी, जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

प्लान इन्टरनेशनल नेपालको सहयोग तथा मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्ड्स नेपाल) को साझेदारीमा आयोजित कार्यक्रममा बालबालिका तथा किशोरकिशोरीसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूमा खुला छलफल गरिएको थियो । स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा उनीहरूको आवाज र सुझावलाई प्रभावकारी रूपमा समेट्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै सुनकोशी गाउँपालिका अध्यक्ष दीपा बोहराले बालबालिका तथा किशोरकिशोरी केन्द्रित योजना निर्माण र कार्यान्वयनलाई स्थानीय सरकारको महत्वपूर्ण दायित्वका रूपमा लिनुपर्ने बताइन् । समाजको समग्र विकासका लागि बालबालिकाको हितलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम निर्माण गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले यस्ता संवादले वास्तविक आवश्यकता पहिचान गर्न सहयोग पुग्ने धारणा व्यक्त गरिन् ।

अध्यक्ष बोहराले बालबालिका तथा किशोरकिशोरीले उठाएका विषयवस्तु स्थानीय विकासका लागि मार्गदर्शक बन्न सक्ने बताउँदै आगामी दिनमा पनि बालमैत्री, समावेशी तथा सहभागितामूलक विकासलाई गाउँपालिकाको प्राथमिकतामा राखिने प्रतिबद्धता जनाइन् । स्थानीय सरकारका योजना तथा बजेटहरू प्रत्यक्ष रूपमा लक्षित वर्गको आवश्यकतासँग जोडिनुपर्नेमा उनले जोड दिइन् ।

कार्यक्रममा ह्याण्ड्स नेपालका सचिव रामकुमार कार्कीले स्थानीय तह र साझेदार संस्थाबीचको सहकार्यलाई प्रभावकारी बनाउन यस्ता संवाद कार्यक्रम महत्वपूर्ण हुने बताए । उनले योजना छनोट, कार्यान्वयन तथा अनुगमनका विभिन्न चरणमा समुदायको सहभागिता सुनिश्चित गर्न आवश्यक रहेको उल्लेख गरे । विशेषगरी बालबालिका तथा किशोरकिशोरीका आवाजलाई नीतिगत तथा योजनागत तहसम्म पु¥याउन संवादका यस्ता माध्यम उपयोगी साबित हुने उनको भनाइ थियो ।

संवाद कार्यक्रममा सहभागी बालबालिका तथा किशोरकिशोरीहरूले शिक्षा, स्वास्थ्य, खेलकुद, बाल संरक्षण, सीप विकास, सुरक्षित वातावरण तथा अवसरको समान पहुँचजस्ता विषयलाई प्राथमिकताका साथ उठाएका थिए । उनीहरूले विद्यालयको गुणस्तर अभिवृद्धि, खेलकुद पूर्वाधार विस्तार, मानसिक स्वास्थ्यसम्बन्धी सचेतना, बाल अधिकारको संरक्षण तथा युवामैत्री वातावरण निर्माणमा स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।

सहभागीहरूले प्रस्तुत गरेका धारणा, सुझाव तथा मागलाई आगामी स्थानीय योजना तथा बजेट निर्माण प्रक्रियामा समावेश गर्ने उद्देश्यले विस्तृत छलफल गरिएको आयोजकले जनाएको छ । कार्यक्रमले बालबालिका तथा किशोरकिशोरीलाई आफ्ना विचार सार्वजनिक रूपमा अभिव्यक्त गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीय शासन प्रणालीमा उनीहरूको सहभागिता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको सहभागीहरूको भनाइ थियो ।

कार्यक्रममा जनप्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, शिक्षक, अभिभावक, युवा तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले बालमैत्री स्थानीय शासनको अवधारणालाई सुदृढ बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका थिए ।

प्रतिक्रिया