शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली माननीय बनेर दबाब दिने पक्राउ

सोमवार , जेठ १८, २०८३


सिन्धुली,१८ जेठ — आफूलाई संघीय संसद्का प्रतिनिधिसभा सदस्य भनेर झुटो परिचय दिँदै सरकारी निकायका कर्मचारी तथा सर्वसाधारणमाथि अनुचित प्रभाव पार्न खोजेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार कमलामाई नगरपालिका–७ माझिटार निवासी ३६ वर्षीय लोकबहादुर तामाङलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीका अनुसार तामाङले आफू सिन्धुली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य धनेन्द्र कार्की भएको दाबी गर्दै विभिन्न व्यक्तिलाई टेलिफोन सम्पर्कमार्फत दबाब दिने तथा सरकारी कामकारबाहीमा प्रभाव पार्ने प्रयास गरेका थिए । उनले ट्राफिक प्रहरीसहित विभिन्न सरकारी निकायका कर्मचारीलाई फोन गरी आफ्नो पहुँचको धाक देखाउँदै अनुचित हस्तक्षेप गर्न खोजेको आरोप छ ।

यस्ता गतिविधिबारे प्राप्त सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा झुटो परिचय प्रयोग गरी प्रभाव जमाउने, कर्मचारीमाथि दबाब सिर्जना गर्ने तथा अभद्र व्यवहारसमेत गरेको तथ्य खुलेपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले  जेठ १४ गते तामाङलाई नियन्त्रणमा लिई अभद्र व्यवहार गर्न नहुने कसुरअन्तर्गत अनुसन्धान सुरु गरेको जनाएको छ । यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट सात दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक उज्ज्वल कार्कीले जानकारी दिए ।

प्रहरीले सार्वजनिक पद तथा जिम्मेवारीमा रहेका व्यक्तिको नाम दुरुपयोग गरी प्रभाव पार्ने, सरकारी कामकारबाहीमा हस्तक्षेप गर्ने वा सर्वसाधारणलाई भ्रममा पार्ने कार्य कानुनविपरीत हुने भन्दै यस्ता गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ।

घटनाबारे थप तथ्य संकलन तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

1.jpg
undefined

प्रतिक्रिया