सिन्धुली,१७ जेठ — सिन्धुलीको पिपलभञ्ज्याङस्थित श्री माध्यमिक विद्यालयमा उज्ज्वलता परियोजनाअन्तर्गत सञ्चालित कार्यक्रमहरूको सामाजिक लेखापरीक्षण आइतवार सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१÷०८२ र २०८२÷०८३ मा विद्यालयमा कार्यान्वयन गरिएका गतिविधिहरूको उपलब्धि, प्रभाव तथा पारदर्शितामाथि समीक्षा गर्न आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो ।
सामाजिक लेखापरीक्षणमा प्रस्तुत विवरणअनुसार परियोजनाले विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र विद्यार्थीमैत्री वातावरण निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको छ । परियोजनाको सहयोगमा कक्षा कोठा तथा खानेपानी धारा मर्मत, महिनावारी स्वच्छता आराम कक्षको व्यवस्थापन र सूचना तथा सञ्चार प्रविधिसम्बन्धी सामग्री उपलब्ध गराइएको छ । यी गतिविधिबाट विद्यालयका एक सय बाउन्न विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन्। विद्यालय प्रशासनका अनुसार पूर्वाधार सुधारसँगै विद्यार्थीको नियमित उपस्थितिमा समेत सकारात्मक परिवर्तन देखिएको छ ।
विद्यालयमा गुनासो सुनुवाइ संयन्त्र स्थापना गरिएपछि विद्यार्थीहरूले आफ्ना समस्या र जिज्ञासा सुरक्षित रूपमा राख्न सक्ने वातावरण बनेको सामाजिक लेखापरीक्षणमा उल्लेख गरिएको छ । प्राप्त गुनासोहरूको समयमै सम्बोधन हुन थालेपछि विद्यालयको सिकाइ वातावरण थप सुरक्षित, उत्तरदायी र बालमैत्री बन्दै गएको सहभागीहरूले बताएका छन् ।
परियोजनामार्फत शिक्षकहरूलाई सूचना तथा सञ्चार प्रविधि, विज्ञान–प्रविधि–इन्जिनियरिङ–कला तथा गणित शिक्षा, अंग्रेजी, गणित, सामाजिक अध्ययन, लैङ्गिक रूपान्तरण तथा समावेशी शिक्षासम्बन्धी क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको थियो । तालिमपछि कक्षाकोठामा सहभागीमूलक शिक्षण, परियोजनामा आधारित सिकाइ तथा नवीन विधिको प्रयोग बढेको जनाइएको छ । यसले विद्यार्थीको सिकाइप्रतिको रुचि र कक्षागत सहभागितामा उल्लेखनीय सुधार ल्याएको विद्यालयले जनाएको छ ।
विद्यालयमा सञ्चालन गरिएका अतिरिक्त क्रियाकलाप, दौंतरी शिक्षा कार्यक्रम तथा विभिन्न परियोजनामूलक अभ्यासहरूले विद्यार्थीहरूको नेतृत्व क्षमता विकासमा समेत सकारात्मक प्रभाव पारेको छ । हाल विद्यालयका विभिन्न गतिविधि बाल क्लब तथा विद्यार्थीहरूको सक्रिय नेतृत्वमा सञ्चालन हुन थालेका छन् ।
त्यसैगरी कक्षा ६ देखि ८ सम्मका उनान्नब्बे विद्यार्थी उपचारात्मक सिकाइ कार्यक्रममा सहभागी भएका थिए । प्रारम्भिक मूल्यांकनका आधारमा विभिन्न समूहमा वर्गीकृत गरिएका विद्यार्थीमध्ये अठहत्तर जनाको शैक्षिक उपलब्धिमा उल्लेखनीय सुधार आएको तथ्य सामाजिक लेखापरीक्षणमा प्रस्तुत गरिएको छ ।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले उज्ज्वलता परियोजनाले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, सिकाइ वातावरण सुधार, विद्यार्थी नेतृत्व विकास तथा समावेशी शिक्षाको प्रवद्र्धनमा सकारात्मक भूमिका खेलेको निष्कर्ष निकाल्दै यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।