शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

राजमार्गमै बिस्कुन : सिन्धुलीका किसान जोखिम मोलेर मकै सुकाउँदै

शनिवार , जेठ १६, २०८३


सिन्धुली,१७ जेठ — सिन्धुलीले गाउँघरका आँगन अहिले सडकले ओगटेका छन् । घरअगाडिको खुला चौतारो, खेतको डिल र परम्परागत आँगन हराउँदै जाँदा ग्रामीण जनजीवनका गतिविधि राजमार्गमै सरेका दृश्य अब सामान्य बन्दै गएका छन् । सिन्धुलीका  मदन भण्डारी राजमार्गमा सडककै बीच भागमा धान सुकाउँदै गरिएको ‘बिस्कुन’ ले यतिबेला ग्रामीण भेगको बाध्यता र जोखिम दुवैलाई उजागर गरेको छ ।

स्थानीय बासिन्दाले घर वरिपरि पर्याप्त खुला स्थान नहुँदा तथा लगातारको घामको अभावका कारण सडकलाई नै मकै सुकाउने थलो बनाएका हुन् । राजमार्गको कालोपत्रे सतह छिट्टै ततिने भएकाले धान चाँडो सुक्ने विश्वासमा सडक प्रयोग गरिएको स्थानीयको भनाइ छ । तर यस्ता गतिविधिले सवारी आवागमनमा अवरोध सिर्जना गर्नुका साथै दुर्घटनाको जोखिमसमेत बढाएको छ ।

विशेषगरी बिहान र दिउँसोको समयमा सडकमा सवारीको चाप रहने भए पनि स्थानीयले सडककै एक भाग ढाकेर धान सुकाउने गरेका छन् । कतिपय स्थानमा बालबालिका र वृद्धवृद्धासमेत सडकछेउमै काममा व्यस्त देखिन्छन् । यसले ग्रामीण जीवनशैली र पूर्वाधार विस्तारबीचको असन्तुलनलाई प्रस्ट देखाएको स्थानीय सरोकारवालाहरू बताउँछन् ।

सडक डिभिजन कार्यालयका अधिकारीहरूले राजमार्ग सार्वजनिक सम्पत्ति भएकाले यसलाई निजी प्रयोजनमा प्रयोग गर्नु उपयुक्त नहुने बताएका छन् । सडकमा धान, मकै वा अन्य कृषि उपज सुकाउँदा दुर्घटनाको जोखिम बढ्ने तथा सवारी चालकलाई समस्या पर्ने भएकाले यस्ता गतिविधि नियन्त्रण गर्न स्थानीय तहसँग समन्वय भइरहेको जनाइएको छ ।

यद्यपि स्थानीयवासी भने आफूहरू बाध्यतावश सडक प्रयोग गर्नुपरेको बताउँछन् । “घरमा खुला ठाउँ छैन, घाम लाग्ने भरपर्दो ठाउँ पनि सडक नै हो,” एक स्थानीय कृषकले भने, “जोखिम थाहा हुँदाहुँदै पनि विकल्प नहुँदा यहीँ धान सुकाउनुपरेको छ ।”

मदन भण्डारी राजमार्ग निर्माणसँगै ग्रामीण बस्तीको स्वरूप फेरिएको छ । सडकले सहज पहुँच र यातायात सुविधा दिएको भए पनि परम्परागत बस्ती संरचना क्रमशः साँघुरिँदै गएको स्थानीयको अनुभव छ । कतिपय ठाउँमा सडक घरको आँगनजस्तै बनेको छ भने कतै सडक नै दैनिक गतिविधिको केन्द्र बनेको देखिन्छ ।

ग्रामीण जनजीवनका यस्ता दृश्यले पूर्वाधार विकाससँगै सुरक्षित सार्वजनिक प्रयोग, वैकल्पिक खुला स्थानको व्यवस्थापन र स्थानीय चेतनाको आवश्यकता अझ स्पष्ट रूपमा औँल्याएको छ ।

प्रतिक्रिया