सिन्धुली,१५ जेठ — जेनजी आन्दोलनका क्रममा जिल्ला कारागार सिन्धुलीबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ । जबर्जस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका फरार कैदीलाई सुनकोशी गाउँपालिका–२ मझुवाबगरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रवार बिहान करिब साढे सात बजे प्रहरी चौकी कुशेश्वर दुन्जाबाट प्रहरी सहायक निरीक्षक राम अवतार यादवको नेतृत्वमा खटिएको गस्ती टोलीले नियमित गस्तीका क्रममा फरार कैदीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–१२ निवासी ३३ वर्षीय विनोद खड्का रहेका छन् । उनलाई स्थानीयस्तरमा ‘काले’ नामले चिनिने गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक उज्ज्वल कार्की अनुसार खड्का जेनजी आन्दोलनका क्रममा उत्पन्न परिस्थितिमा जिल्ला कारागार सिन्धुलीबाट फरार भएका थिए । फरार भएपछि उनको खोजी कार्यलाई तीव्र बनाइएको थियो । सोही क्रममा प्राप्त सूचनाका आधारमा प्रहरीले मझुवाबगर क्षेत्रमा निगरानी बढाएको र गस्तीका क्रममा उनलाई नियन्त्रणमा लिन सफल भएको जनाएको छ ।
पक्राउ परेका खड्कालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः जिल्ला कारागार सिन्धुली पठाइएको प्र.नि कार्किले बताए । फरार कैदी पक्राउ परेसँगै घटनासम्बन्धी थप अनुसन्धानसमेत अघि बढाइएको छ ।
सुरक्षा निकायले कानुन कार्यान्वयन तथा फरार अभियुक्तको खोजी कार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ । प्रहरीका अनुसार फरार व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन जिल्लाभर निगरानी र खोजतलास अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ ।