सिन्धुली ,१४ जेठ — मनसुनजन्य विपद्को जोखिम न्यूनीकरण तथा खोज–उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यसहित सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ खुर्कोटस्थित सुनकोशी नदी पुल क्षेत्रमा बिहीबार संयुक्त विपद् प्रतिकार्य सिमुलेशन “अभ्यास मनसुन–६” सम्पन्न गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा तथा नेपाली सेना श्री भवानी बक्स गणको अगुवाइमा गरिएको अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी, विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि र स्थानीयबासीको सहभागिता रहेको थियो ।
अभ्यासका क्रममा नदीमा फसेका व्यक्तिको उद्धार, डोरी तथा र्याफ्ट प्रयोग गरेर सुरक्षित स्थानमा स्थानान्तरण, पहिरो तथा भिरालो क्षेत्रमा फसेकाको उद्धार, घाइतेलाई प्राथमिक उपचारसहित अस्पतालसम्म पु¥याउने प्रक्रियालगायतका गतिविधि प्रस्तुत गरिएको थियो । कृत्रिम अभ्यासमार्फत सुरक्षा निकायको समन्वय, तयारी तथा शीघ्र प्रतिकार्य क्षमताको प्रदर्शन गरिएको आयोजकले जनाएको छ ।
समापन कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेलले विपद् व्यवस्थापन बेस खुर्कोटमा आवश्यक स्रोतसाधनको अभाव रहेको बताए । उनका अनुसार खुर्कोट क्षेत्रमा नौ जना तालिमप्राप्त गोताखोर रहे पनि आवश्यक उपकरण नहुँदा उद्धार कार्य अपेक्षाअनुसार प्रभावकारी बन्न सकेको छैन ।
“र्याफ्ट बोट, मोटर बोट र गोताखोर सेटजस्ता आधारभूत सामग्रीको व्यवस्थापन गर्न सकिए विपद्का बेला उद्धार कार्य अझ प्रभावकारी बन्न सक्छ,” उनले भने, “यसका लागि स्थानीय तहसँगको सहकार्य अपरिहार्य छ ।”
मन्थली नगरपालिका, रामेछापका प्रमुख लव श्रेष्ठले विपद्जन्य घटनामा प्रभावकारी प्रतिकार्यका लागि तीनै तहका सरकारले स्रोतसाधन व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने बताए । योजनाबद्ध पूर्वतयारीमार्फत जनधनको क्षति न्यूनीकरण गर्न सकिने उनको धारणा थियो ।
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले मनसुनजन्य विपद्को जोखिम बढ्दै गइरहेको अवस्थामा पूर्वतयारीस्वरूप गरिएको अभ्यासले उद्धारकर्मीको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन । उनले विपद् न्यूनीकरण तथा उद्धार कार्यमा सुरक्षा निकायलाई उच्च मनोबलका साथ सक्रिय रहन आग्रह गरिन ।
फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले जिल्ला विपद्को दृष्टिले संवेदनशील क्षेत्रमा पर्ने उल्लेख गर्दै सडक दुर्घटना, नदीजन्य डुबान तथा पहिरो यहाँका प्रमुख चुनौती रहेको बताइन । जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमले पनि बस्तीलाई थप असुरक्षित बनाएको उनको भनाइ थियो ।
आयोजकका अनुसार विगतका विपद्का घटना, तिनको प्रभाव तथा जोखिमको विश्लेषण गर्दै सम्भावित क्षति न्यूनीकरणका लागि आवश्यक समन्वय, पूर्वतयारी र कार्यजिम्मेवारी स्पष्ट पार्ने उद्देश्यले संयुक्त अभ्यास सञ्चालन गरिएको हो ।
यसैबीच, यही जेठ ४ गतेदेखि खुर्कोटमा सञ्चालन गरिएको दशदिने गोताखोर अनुशिक्षण तालिमसमेत सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म सिन्धुलीका प्रहरी नायव उपरीक्षक सुवर्ण पोख्रेलले उक्त तालिमले नदीजन्य विपद् तथा डुबानसम्बन्धी घटनामा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताए ।