सिन्धुली ,१४ जेठ– गत वर्षको बाढीपहिरोबाट गम्भीर रूपमा क्षतिग्रस्त बनेको बीपी राजमार्गअन्तर्गत काभ्रे–सिन्धुली खण्डको पुनर्निर्माण कार्य तीव्र पारिएको छ । नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहकार्यमा राजमार्ग पुनस्र्थापनाको काम विभिन्न प्याकेजमार्फत अघि बढाइएको हो ।
यसक्रममा सिन्धुलीको बर्खेखोलादेखि काभ्रेको पिप्लसम्मको ३ दशमलव २ किलोमिटर सडक खण्ड जाइकाको अनुदान सहयोगमा दुई लेनमा निर्माण हुने भएको छ । करिब २ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त सडक निर्माणको जिम्मा जापानी निर्माण कम्पनी शिमिजु कर्पोरेसनले पाएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।
सडक खण्डको शिलान्यास पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल सिग्देल र नेपालका लागि जापानका राजदूत मायदा तोरुले संयुक्त रूपमा गरेका हुन् । सिन्धुली र काभ्रेको सीमास्थित बर्खेखोलामा आयोजित कार्यक्रममा जाइका नेपालका मुख्य प्रतिनिधि मात्सुजाकी मिजुरी, स्थानीय जनप्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।
वि.सं. २०८१ सालको असोजमा आएको बाढीले भकुण्डेबेँसीदेखि नेपालथोकसम्मको बीपी राजमार्गको करिब ३० दशमलव ५ किलोमिटर सडक खण्डमा व्यापक क्षति पु¥याएको थियो । पहिरो, सडक कटान तथा पुल आसपासको भूक्षयका कारण यातायात सेवा लामो समय प्रभावित बनेको थियो ।
क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि सरकारले विभिन्न चरणमा ठेक्का प्रक्रिया अघि बढाएको थियो । कुल २७ दशमलव ३ किलोमिटर सडक खण्ड पुनर्निर्माणका लागि काभ्रे र सिन्धुली दुवैतर्फ छुट्टाछुट्टै प्याकेजमा निर्माण सम्झौता गरिएको जनाइएको छ ।
सिन्धुली क्षेत्रअन्तर्गत बर्खेखोलादेखि गजुलीदहसम्मको पाँच किलोमिटर सडक खण्ड खरिढुंगा घिसिङ–क्षितिज जेभीले निर्माण गरिरहेको छ । उक्त आयोजनाको लागत भ्याट बाहेक ५५ करोड रुपैयाँ रहेको सडक डिभिजन कार्यालय खाल्टेले जनाएको छ ।
त्यसैगरी काभ्रे खण्डमा भकुण्डेबेँसीदेखि चारसयबेँसीसम्मको ११ किलोमिटर सडक निर्माणको जिम्मा लामा–नवकान्तिपुर जेभीले लिएको छ । यो आयोजनाको लागत करिब १ अर्ब १४ करोड रुपैयाँ रहेको बताइएको छ ।
चारसयबेँसीदेखि डाला बेँसीसम्मको नौ किलोमिटर सडक खण्ड खानी–कमल जित–एवान जेभीले निर्माण गर्ने गरी २०८२ असारमा सम्झौता भएको थियो । उक्त खण्डको लागत भ्याट बाहेक १ अर्ब २२ करोड रुपैयाँ तोकिएको छ ।
यस्तै डाला बेँसीदेखि पिप्लेसम्मको २ दशमलव ३ किलोमिटर सडक निर्माणको जिम्मा उमा एन्ड कम्पनी–भण्डारी–अमर ज्योति जेभीले पाएको छ । ६८ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त सडक खण्डको ठेक्का सम्झौता २०८२ कात्तिकमा सम्पन्न भएको जनाइएको छ ।
स्थानीयवासीले भने नेपाल सरकारमार्फत निर्माण भइरहेका सडक र जाइकाको अनुदानमा बन्न लागेको सडकबीच गुणस्तर, प्रविधि र निर्माण शैलीमा स्पष्ट भिन्नता देखिएको टिप्पणी गरेका छन् । निर्माणाधीन केही खण्डमा गुणस्तरसम्बन्धी प्रश्न उठ्ने अवस्था रहेको भन्दै उनीहरूले प्रभावकारी प्राविधिक अनुगमनको आवश्यकता औंल्याएका छन् ।
स्थानीय तहका जनप्रतिनिधिले पनि दीर्घकालीन रूपमा टिकाउ सडक निर्माणमा जोड दिएका छन् । उनीहरूले पुनर्निर्माणलाई केवल अस्थायी मर्मतका रूपमा नभई भविष्यमा प्राकृतिक विपद्को जोखिम कम गर्ने संरचनात्मक सुधारसँग जोड्नुपर्ने बताएका छन् ।
सडक डिभिजन कार्यालयका अनुसार वर्षायाम समाप्त भएलगत्तै जाइकाको सहयोगमा बन्ने सडक खण्डको निर्माण कार्य तीव्र गतिमा अघि बढाइनेछ । बीपी राजमार्ग पूर्वी नेपाललाई राजधानीसँग जोड्ने प्रमुख रणनीतिक सडक भएकाले यसको पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखिएको सरकारको भनाइ छ ।