शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

शिक्षा–खेलकुद बजेटबाट कागबेनी यात्रा

बुधवार , जेठ १३, २०८३

सिन्धुली,१३ जेठ — सुनकोशी गाउँपालिकामा शिक्षा तथा खेलकुद शीर्षकअन्तर्गत विनियोजित बजेटबाट जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीहरूको कागबेनी, मुक्तिनाथ र अपर मुस्ताङ भ्रमण सम्पन्न गरिएको विषय सार्वजनिक भएपछि स्थानीय तहको बजेट उपयोगमाथि प्रश्न उठेको छ । वडा नं. १ ले शिक्षा तथा खेलकुद शीर्षकमा विनियोजन गरेको चार लाख रुपैयाँबाट उक्त भ्रमण गरिएको खुलेपछि बजेटको उद्देश्य र प्रयोगबीच असन्तुलन देखिएको भन्दै आलोचना बढेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले वडा नं. १ को बजेटबाट भ्रमण गरिएको पुष्टि गरेका छन् । उनका अनुसार भ्रमणका लागि करिब ३० जनाको नाम सिफारिस गरिएको थियो । यद्यपि आफू भने भ्रमणमा सहभागी नभएको उनले बताए ।

भ्रमण टोलीमा गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल, उपाध्यक्ष कपिलकुमार कोइराला, वडा नं. २ का अध्यक्ष जीवन बुर्जा, वडा नं. ६ का अध्यक्ष महेन्द्र थापा, गाउँपालिकाको कानुनी सल्लाहकार चिरञ्जीवी दाहाल, शिक्षक तथा प्राध्यापकहरू लगायत सहभागी रहेको जनाइएको छ । भ्रमणका क्रममा कागबेनीमा श्राद्ध गरिएको तस्बिरसमेत सार्वजनिक भएपछि शिक्षा तथा खेलकुद शीर्षकअन्तर्गतको रकम धार्मिक तथा व्यक्तिगत प्रयोजनमा खर्च गरिएको आरोप लागेको हो ।

स्थानीय स्रोतका अनुसार भ्रमणमा एउटा बस र गाउँपालिकाका दुईवटा सवारीसाधन प्रयोग गरिएको थियो । शिक्षा र खेलकुदसँग प्रत्यक्ष सम्बन्ध नराख्ने गतिविधिमा सार्वजनिक बजेट खर्च गरिएको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन् ।

यसअघि पनि वडा नं. १ ले शैक्षिक भ्रमणका नाममा लुम्बिनी, पाल्पा र स्वर्गद्वारीसम्म भ्रमण कार्यक्रम सञ्चालन गरेको थियो । स्रोतका अनुसार अघिल्ला भ्रमणमा सहभागी भइसकेका केही शिक्षक र निकट व्यक्तिलाई पुनः अवसर दिइएको छ भने नयाँ तथा अवसर नपाएका शिक्षकहरू विभिन्न बहानामा छुटाइएको थियो । पहुँच र निकटताका आधारमा टोली चयन गरिएको आरोपसमेत लागेको छ ।

शिक्षा क्षेत्रका जानकारहरू भने वास्तविक शैक्षिक अवलोकन भ्रमणका लागि जिल्लाभित्रै वा आसपासका नमुना विद्यालय पर्याप्त रहेको बताउँछन् । उनीहरूका अनुसार शैक्षिक उपलब्धिभन्दा भ्रमण र घुमघामलाई प्राथमिकता दिने प्रवृत्ति स्थानीय तहमा बढ्दो चिन्ताको विषय बनेको छ ।

सुनकोशी गाउँपालिकाको चालु आर्थिक वर्षको बजेटमा विभिन्न शीर्षकमा भ्रमण खर्चका लागि उल्लेख्य रकम विनियोजन गरिएको छ । वडा नं. ७ मा मात्र शैक्षिक अवलोकन भ्रमण शीर्षकमा तीन लाख रुपैयाँ छुट्याइएको छ भने पालिकास्तरमै भ्रमण शीर्षकअन्तर्गत २० लाख रुपैयाँ राखिएको छ ।

स्थानीय तहमा सार्वजनिक स्रोतको उपयोग पारदर्शी र उद्देश्यअनुकूल हुनुपर्ने माग उठिरहेका बेला शिक्षा तथा खेलकुद शीर्षकको बजेट धार्मिक तथा भ्रमण गतिविधिमा प्रयोग गरिएको घटनाले वित्तीय अनुशासन र उत्तरदायित्वमाथि पुनः बहस सिर्जना गरेको छ ।

स्रोत : सिन्धुली मंसिर चार

22.jpg
undefined

प्रतिक्रिया