सिन्धुली,११ जेठ — नागरिकलाई सरकारी सेवा सहज, सुलभ र पहुँचयोग्य बनाउने उद्देश्यसहित सिन्धुलीमा हुलाकमार्फत घरदैलोमै राहदानी वितरण सेवा सुरु गरिएको छ । सेवा प्रारम्भ भएसँगै पहिलो राहदानी गोलन्जोर गाउँपालिकाका एक सेवाग्राहीलाई हस्तान्तरण गरिएको छ ।
नेपाल सरकारद्वारा स्वीकृत ‘शासकीय सुधार सम्बन्धी एकसय कार्यसूची’ अन्तर्गत नागरिकमैत्री सेवा विस्तार गर्ने अभियानअनुसार जिल्लामा यो व्यवस्था लागू गरिएको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार २०८२ चैत १३ गतेको सरकारी निर्णयमा उल्लेखित कार्यसूचीको बुँदा नम्बर २७ कार्यान्वयन गर्दै स्थानीय तहसम्म सेवा पु¥याउने उद्देश्यले हुलाकमार्फत राहदानी वितरण प्रक्रिया अघि बढाइएको हो ।
सेवा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच २०८३ वैशाख २९ गते समझदारी गरिएको थियो । त्यसलगत्तै वैशाख ३० गतेदेखि राहदानीसम्बन्धी विवरण संकलन तथा प्रक्रियागत काम सुरु गरिएको प्रशासनले जनाएको छ ।
यसअन्तर्गत तयार भएको पहिलो राहदानी गोलन्जोर गाउँपालिका–७ साघुचेक पोस्ट निवासी विनिशा माझीलाई उपलब्ध गराइएको हो । उनको राहदानी जिल्ला हुलाक कार्यालय मातहत रहेको ग्वालटार हुलाक कार्यालयमार्फत हस्तान्तरण गरिएको प्रशासनले जनाएको छ ।
यसअघि राहदानी प्राप्त गर्न सेवाग्राही स्वयं जिल्ला प्रशासन कार्यालयसम्म पुग्नुपर्ने अवस्था थियो । विशेषगरी दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता, अतिरिक्त खर्च र समयको समस्या झेल्नुपथ्र्यो । नयाँ व्यवस्थासँगै ती समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।
प्रशासनका अनुसार सेवा विस्तारसँगै राहदानी वितरण प्रक्रियालाई थप प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाइनेछ । आगामी दिनमा जिल्लाका अन्य स्थानीय तह तथा दुर्गम बस्तीहरूमा समेत सेवा विस्तार गरिने तयारी भइरहेको जनाइएको छ ।
सरकारी सेवा प्रवाहलाई प्रविधिमैत्री र जनमुखी बनाउने संघीय सरकारको अभियानअन्तर्गत सुरु गरिएको यो अभ्यासले ग्रामीण क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ । स्थानीयवासीले पनि यस्तो सेवाले प्रशासनिक पहुँच विस्तार हुनुका साथै अनावश्यक झन्झट कम हुने प्रतिक्रिया दिएका छन् ।