सिन्धुली,११ जेठ – गत वर्षको बाढीपहिरोले गम्भीर रूपमा क्षति पु¥याएको बीपी राजमार्ग पुनर्निर्माणको कामले औपचारिक गति लिएको छ । जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा काभ्रेपलाञ्चोकको पिप्लेदेखि सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्ड पुनर्निर्माण कार्य सोमबारदेखि सुरु गरिएको हो ।
राजमार्गअन्तर्गत अत्यधिक जोखिममा परेको तीन दशमलव दुई किलोमिटर सडकखण्ड पुनर्निर्माणका लागि नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) बीच भएको सहकार्यअन्तर्गत निर्माण प्रक्रिया अघि बढाइएको हो । सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार पुनर्निर्माण कार्यलाई तीव्रता दिन प्रारम्भिक तयारी पूरा गरी निर्माण सुरु गरिएको हो ।
पुनर्निर्माण आयोजनाको शिलान्यास नेपालका लागि जापानका राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रूपमा गरेका छन् । कार्यक्रममा दुवै पक्षले विपद्पछिको पूर्वाधार पुनःस्थापनामा नेपाल–जापान सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
उक्त सडकखण्ड पुनर्निर्माणको जिम्मा जापानी निर्माण कम्पनी सिमिजु कर्पोरेसनले पाएको छ । परियोजनाका लागि जापान सरकारले दुई अर्ब ८० करोड येन अनुदान सहयोग उपलब्ध गराउने गरी गत कात्तिक १३ गते द्विपक्षीय सम्झौता भएको थियो । यो सहयोगलाई नेपालमा दिगो र सुरक्षित सडक पूर्वाधार निर्माणका लागि महत्वपूर्ण मानिएको छ ।
बीपी राजमार्गको विभिन्न स्थानमा गएको बाढीपहिरोका कारण सडक भासिने, कटान हुने तथा यातायात अवरुद्ध हुने समस्या देखिएपछि सरकारले पुनर्निर्माणलाई प्राथमिकतामा राखेको थियो । काभ्रे र सिन्धुली जिल्लाभित्र पर्ने करिब ३० दशमलव पाँच किलोमिटर सडकखण्डलाई चार प्याकेजमा विभाजन गरेर पुनर्निर्माण तथा मर्मतको काम अघि बढाइएको सडक विभागले जनाएको छ ।
भकुण्डेबेसीदेखि चारसयबेसीसम्मको ११ किलोमिटर सडक पुनर्निर्माणका लागि लामा–नवकान्तिपुर जेभीसँग एक अर्ब १४ करोड रुपैयाँमा ठेक्का सम्झौता भइसकेको छ । उक्त खण्डमा अहिले निर्माण कार्य जारी रहेको विभागले जनाएको छ ।
त्यसैगरी चारसयबेसीदेखि डालाबेसीसम्मको नौ किलोमिटर सडक पुनर्निर्माणका लागि खानी–कमलजित–एवान जेभीसँग एक अर्ब २२ करोड रुपैयाँमा सम्झौता गरिएको छ । डालाबेसीदेखि पिप्लेसम्मको दुई दशमलव तीन किलोमिटर सडक निर्माणको जिम्मा उमा एन्ड कम्पनी–भण्डारी–अमरज्योति जेभीले पाएको छ । यो खण्डका लागि ६८ करोड ८० लाख ६८ हजार रुपैयाँ बराबरको ठेक्का सम्झौता भएको छ ।
सिन्धुली जिल्लातर्फ पर्ने बर्खेखोलादेखि नेपालथोकसम्मको पाँच किलोमिटर सडक पुनर्निर्माणका लागि खरीढुंगा–घिसिङ–क्षितिज जेभीसँग ५५ करोड रुपैयाँमा सम्झौता गरिएको छ । यी सबै खण्डमा समानान्तर रूपमा पुनर्निर्माण र मर्मतको काम भइरहेको सडक विभागले जनाएको छ ।
नेपालको मध्यपहाडी क्षेत्रलाई राजधानीसँग जोड्ने रणनीतिक महत्वको बीपी राजमार्ग जापानकै आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको थियो । एक सय ५९ किलोमिटर लामो उक्त राजमार्ग निर्माणका लागि जापानले करिब २६ अर्ब येन सहयोग उपलब्ध गराएको थियो । २०५३÷५४ सालबाट सुरु भएको निर्माणकार्य २०७२ सालमा सम्पन्न भएको थियो ।
पूर्वी नेपाललाई काठमाडौंसँग छोटो दूरीमा जोड्ने मुख्य मार्गका रूपमा रहेको बीपी राजमार्ग व्यापार, पर्यटन तथा दैनिक आवागमनका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ । पछिल्ला वर्षहरूमा बढ्दो प्राकृतिक विपद्का कारण सडक संरचना जोखिममा परेपछि दिगो र विपद् प्रतिरोधी पूर्वाधार निर्माणको आवश्यकता थप महसुस गरिएको छ ।
सरकारले पुनर्निर्माण सम्पन्न भएपछि बीपी राजमार्गलाई अझ सुरक्षित, व्यवस्थित र दीर्घकालीन उपयोगयोग्य बनाउने लक्ष्य लिएको जनाएको छ ।