शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

काक्रोभित्र लुकाएर ल्याइएको हेरोइनसहित युवक पक्राउ

आइतवार , जेठ १०, २०८३

सिन्धुली,१० जेठ — झापाबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक हायसबाट काक्रोभित्र लुकाएर ल्याइएको लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा गरेको चेकजाँचका क्रममा शुक्रवार दिउसो १ ः४५ बजेो समयमा एक सय ग्रामभन्दा बढी खैरो हेरोइन बरामद गरेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय भिमान र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासको संयुक्त टोलीले कमलामाई नगरपालिका–९ भिमानस्थित बीपी राजमार्गमा सवारी साधन जाँच गर्ने क्रममा उक्त लागुऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–२ निवासी २६ वर्षीय विक्रम श्रेष्ठ रहेका छन् ।

प्रहरीका अनुसार बा ४ ख ५५०० नम्बरको हायसमा सवार श्रेष्ठले बोकेको रातो रङको झोलाभित्र शंकास्पद सामग्री देखिएपछि खानतलासी गरिएको थियो । जाँचका क्रममा काक्रोमा प्वाल बनाई त्यसको भित्री भागमा कालो र सेतो प्लास्टिकले बेरिएका दुईवटा पोका लुकाइएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको पदार्थ प्रारम्भिक परीक्षणका क्रममा खैरो हेरोइन जस्तो देखिएको र मान्यता प्राप्त तराजुमा तौल गर्दा प्लास्टिकबाहेक शुद्ध तौल १०० ग्राम ४२० मिलिग्राम रहेको प्रहरीको भनाइ छ । लागुऔषध तस्करीमा नयाँ शैली अपनाउँदै दैनिक उपभोग्य वस्तुभित्र लुकाएर ओसारपसार गर्ने प्रवृत्ति बढ्दै गएको प्रहरी अधिकारीहरू बताउँछन् ।

घटनापछि श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ । आइतवार सिन्धुली जिल्ला अदालतबाट  १० दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक अजय कुमार कशवाहाका अनुसार पछिल्लो समय राजमार्गमार्फत हुने लागुऔषध ओसारपसार नियन्त्रणका लागि निगरानी कडा बनाइएको छ । “विशेष सूचनाका आधारमा गरिएको नियमित चेकजाँचकै क्रममा लागुऔषध बरामद भएको हो,” उनले भने, “घटनासँग अन्य व्यक्तिको संलग्नता रहेको वा नरहेको विषयमा समेत अनुसन्धान केन्द्रित गरिएको छ ।”

बीपी राजमार्ग हुँदै पूर्वी नेपालबाट राजधानी भित्रिने मार्गलाई पछिल्लो समय लागुऔषध ओसारपसारका लागि प्रयोग गर्ने प्रयास बढ्दो देखिएको प्रहरीको निष्कर्ष छ । प्रहरीले यस्ता गतिविधि नियन्त्रणका लागि राजमार्गका विभिन्न बिन्दुमा संयुक्त सुरक्षा निगरानी र आकस्मिक चेकजाँचलाई थप प्रभावकारी बनाउने जनाएको छ ।

प्रतिक्रिया