शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीको सुनकोशीमा डुबेर दुई बालकको मृत्यु

आइतवार , जेठ १०, २०८३


सिन्धुली,१० जेठ – सुनकोशी नदीमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आइतबार अपराह्न सिन्धुलीको सुनकोशी गाउँपालिका–५ सित्खा क्षेत्रमा रहेको सुनकोशी नदीको किनारबाट छुट्टिएको सानो भंगालोमा नुहाउने क्रममा उनीहरू दुर्घटनामा परेका हुन् ।

मृत्यु हुनेमा सुनकोशी गाउँपालिका–४ स्थायी घर भई हाल वडा नं. ३ बोहोरेटार बस्दै आएका दलबहादुर पुलामी मगरका नौ वर्षीय छोरा सफल पुलामी मगर र सुनकोशी गाउँपालिका–५ बन्दीपुर घर भई हाल बोहोरेटारमै बस्दै आएका सरिता विकका १० वर्षीय छोरा युकेस विक रहेका छन् ।

प्रहरीका अनुसार दिउँसो करिब तीन बजेतिर स्थानीय गोठालाले दुई बालक नदीको भंगालोमा नुहाइरहेको देखेका थिए । केही समयपछि तीमध्ये एक जना बालक पानीमा डुबेको र अर्का बालक बगिरहेको जस्तो देखिएपछि उनले तत्काल प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ प्रहरी चौकी रातामाटाबाट प्रहरी सहायक निरीक्षक गोपीलाल थामीको नेतृत्वमा टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो ।

स्थानीय बासिन्दाको सहयोगमा गरिएको खोजीका क्रममा सफल पुलामी मगर नुहाएको स्थानबाट करिब एक सय ५० मिटर पूर्वतर्फ सुनकोशी नदीको किनारमा मृत अवस्थामा फेला परेका थिए । अर्का बालक युकेस विक भने प्रारम्भिक खोजीका क्रममा बेपत्ता भएका थिए ।

घटनास्थलमा प्रहरी चौकी रातामाटा र इलाका प्रहरी कार्यालय खुर्कोटबाट थप प्रहरी टोली परिचालन गरिएको थियो । इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विमल खतिवडाको नेतृत्वमा ‘सिन अफ क्राइम अफिसर’सहितको टोली पुगेको थियो भने शसस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस खुर्कोटबाट उद्धार सामग्रीसहितको टोली पनि खटाइएको प्रहरीले जनाएको छ ।

खोज तथा उद्धार कार्य जारी रहेका बेला साँझ करिब ४ः१५ बजे युकेस विकको शव पनि घटनास्थल नजिकै नदीभित्र डुबेको अवस्थामा फेला पारिएको थियो । प्रहरी र स्थानीयवासीको सहयोगमा उनको शव बाहिर निकालिएको जनाइएको छ ।
प्रहरीले घटनास्थलबाट दुई जोर सेता चप्पल समेत फेला पारेको जनाएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा बालकहरू नुहाउने क्रममा नदीको गहिरो भागमा पुगेपछि दुर्घटना भएको अनुमान गरिएको छ ।

वर्षायाम नजिकिँदै जाँदा नदी तथा खोलानालामा पानीको बहाव र गहिराइ अनपेक्षित रूपमा परिवर्तन हुने भएकाले बालबालिकालाई नदी किनार तथा जलाशय आसपास निगरानीबिना जान नदिन प्रहरीले अभिभावकलाई आग्रह गरेको छ । स्थानीय तह र सुरक्षाकर्मीले पनि जोखिमयुक्त क्षेत्रमा सतर्कता बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

घटनापछि बोहोरेटार र आसपासका बस्तीमा शोकको वातावरण बनेको छ । एउटै घटनामा दुई बालकको ज्यान गएपछि स्थानीयवासी स्तब्ध बनेका छन् । प्रहरीले दुवै शव पोस्टमार्टमका लागि प्रक्रिया अघि बढाइएको जनाएको छ ।

प्रतिक्रिया