शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा ९४ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया सम्पन्न

आइतवार , जेठ १०, २०८३

सिन्धुली,११ जेठ — नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीको आयोजनामा सिन्धुली आखा उपचार केन्द्रमा  सञ्चालित दुई दिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविरमार्फत ९४ जना बिरामीको सफल शल्यक्रिया सम्पन्न गरिएको छ । ग्रामीण भेगका विपन्न तथा दृष्टि समस्याबाट पीडित नागरिकलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त कार्यक्रमले स्थानीय स्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पु¥याएको आयोजकले जनाएको छ ।

कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, फ्रेड होलोज फाउन्डेसन तथा अस्ट्रेलियन एडको सहयोगमा सञ्चालन गरिएको हो । शल्यक्रिया सेवा श्री जानकी आँखा अस्पताल जनकपुरबाट खटिएको नेत्ररोग विशेषज्ञ डा. आशिष बोहराको नेतृत्वको प्राविधिक टोलीले प्रदान गरेको थियो । शिविरमा प्रारम्भिक परीक्षणपछि मोतिबिन्दु पुष्टि भएका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिएको जनाइएको छ ।

शनिवारबाट सुरु भएको शिविर समापन कार्यक्रममा आइतवार दुधौली नगरपालिकाका कार्यवाहक नगरप्रमुख चन्द्रकिशोर थारुले बिरामीहरूलाई औषधि तथा चस्मा वितरण गर्दै शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरे । उनले दुर्गम तथा आर्थिक रूपमा कमजोर समुदायलाई लक्षित गरी यस्ता स्वास्थ्य सेवा कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने आवश्यकता औंल्याए । स्थानीय तह, स्वास्थ्य संस्था र सामाजिक संघसंस्थाबीचको सहकार्यले नागरिकको जीवनस्तर सुधारमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो ।

नेपाल रेडक्रस सोसाइटी दुधौली तदर्थ समिति तथा टाँडी, सिथौली, हर्षाही र हत्पते उपशाखाका स्वयंसेवकहरूले कार्यक्रम व्यवस्थापन, बिरामी सहजीकरण तथा सेवा प्रवाहमा सक्रिय भूमिका निर्वाह गरेका आयोजकले जनाएको छ । आयोजक संस्थाले सम्पूर्ण प्राविधिक टोली, स्वयंसेवक तथा कर्मचारीप्रति आभार व्यक्त गरेको छ ।

यसैबीच, उपचारका लागि आएका बिरामीहरूलाई दूध र बिस्कुट वितरण गरी सहयोग पुर्‍याएको पतञ्जली तथा महिला पतञ्जली योग समिति सिन्धुली परिवारप्रति पनि आयोजकले धन्यवाद ज्ञापन गरेको छ । सामाजिक सहकार्य र मानवीय सेवाको उदाहरणका रूपमा लिइएको उक्त कार्यक्रमले दृष्टि गुमाउने जोखिममा रहेका धेरै नागरिकलाई नयाँ आशा प्रदान गरेको स्थानीयवासीले बताएका छन् ।

स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका समुदायलाई लक्षित यस्ता निःशुल्क आँखा शिविरले समयमै उपचार नपाएर दृष्टि गुमाउने अवस्थालाई न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने स्वास्थ्यकर्मीहरूको विश्वास छ ।

प्रतिक्रिया