शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

अवरोध हट्दै बीपी राजमार्ग, १० दिनभित्र नयाँ ट्रयाक खुल्ने

शनिवार , जेठ ९, २०८३


सिन्धुली,०९ जेठ – बीपी राजमार्ग अन्तर्गत अत्यन्त चुनौतीपूर्ण मानिएको चारसय बेँसी खण्डको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माणाधीन नयाँ ट्रयाक आगामी १० दिनभित्र सञ्चालनमा ल्याइने तयारी गरिएको छ । सडक पुनस्र्थापनाको काम तीव्र गतिमा अघि बढाइएकाले असार मध्यसम्म उक्त खण्ड पूर्ण रूपमा व्यवस्थित सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।

संघीय संसद्को पूर्वाधार विकास समितिका सभापति तथा राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद आशिष गजुरेलले स्थलगत अनुगमनपछि निर्माण प्रगतिको जानकारी दिँदै सडकको मुख्य ट्रयाक सञ्चालनयोग्य अवस्थामा पुगिसकेको बताए । उनका अनुसार हाल ट्रयाकको आधार संरचना निर्माण सम्पन्न भइसकेको छ भने केही स्थानमा पर्खाल निर्माण तथा फिलिङको काम बाँकी छ ।

हाल उक्त क्षेत्रमा सवारीसाधनलाई तलको वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ । माथिल्लो मूल सडक तयार भए पनि निर्माण कार्यमा अवरोध नहोस् भन्ने उद्देश्यले सर्वसाधारणका लागि तत्काल खुला नगरिएको जनाइएको छ । प्राविधिक टोलीका अनुसार आकस्मिक अवस्था, विशेषगरी बाढी वा अन्य विपद्का बेला भने माथिल्लो ट्रयाक प्रयोग गर्न सकिने अवस्था तयार भइसकेको छ ।

अनुगमनका क्रममा आयोजनासँग आबद्ध प्राविधिकहरूले पछिल्ला १५ दिनमा कठिन भूभागमा ट्रयाक खोल्ने काम सफलतापूर्वक सम्पन्न गरिएको जानकारी दिएका थिए । अब बाँकी रहेका संरचनात्मक कामलाई तीव्रता दिइएको र आगामी १० दिनभित्र नियमित सवारी सञ्चालनको वातावरण तयार पारिने लक्ष्य राखिएको छ ।

करीब १० किलोमिटर क्षेत्रमा फैलिएको पुनर्निर्माण कार्यमा हाल दैनिक करिब एक सय कामदार खटिएका छन् । स्थानीयवासी तथा सरोकारवालाले निर्माणलाई थप तीव्र बनाउन तीन सिफ्टमा काम सञ्चालन गर्न सुझाव दिए पनि कामदारको स्वास्थ्य, सुरक्षा तथा कार्यक्षमताका कारण हाल दैनिक १० घण्टाको कार्यतालिका अपनाइएको सभापति गजुरेलले बताए ।

परियोजनाअन्तर्गत भकुण्डेबेँसी आसपासका जटिल संरचनात्मक काम यसअघि नै सम्पन्न भइसकेका छन् । अहिले ४२० मिटर लामो चारसय बेँसी खण्डलाई सबैभन्दा संवेदनशील र चुनौतीपूर्ण बिन्दुका रूपमा लिएर काम भइरहेको आयोजनाले जनाएको छ । विशेषगरी कमजोर माटो भएका क्षेत्रमा रिटेनिङ वाल तथा चट्टानी भागमा सुरक्षात्मक प्रोटेक्सन वाल निर्माणलाई प्राथमिकता दिइएको छ ।

निर्माण पक्षले आगामी असार १५ गतेसम्म सडकलाई पूर्ण रूपमा सुरक्षित, व्यवस्थित र नियमित सञ्चालनयोग्य बनाउने लक्ष्यसहित कामलाई निरन्तरता दिएको जनाएको छ । वर्षायाम नजिकिँदै गर्दा सडक सञ्चालनलाई सहज बनाउन तीव्र गतिमा पुनर्निर्माण भइरहेको छ ।

देशकै व्यस्त तथा रणनीतिक महत्व बोकेको बीपी राजमार्ग को उक्त खण्ड लामो समयदेखि अवरुद्ध हुँदा यात्रु तथा ढुवानी क्षेत्र प्रभावित हुँदै आएका थिए । पुनर्निर्माणले गति लिएसँगै स्थानीयवासी र यात्रुमा आवतजावत सहज हुने अपेक्षा बढेको छ ।

प्रतिक्रिया