शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

मनसुनअघि नै संकटमा बीपी राजमार्ग

बिहिवार , बैशाख २४, २०८३


सिन्धुली ,२४ बैशाख – देशको पूर्वी भेगलाई राजधानीसँग जोड्ने रणनीतिक महत्वको बीपी राजमार्ग मनसुन सुरु हुनुअघि नै पुनः जोखिमको घेरामा परेको छ । वैशाख महिनायता मात्रै पटक–पटक सडक अवरुद्ध भएपछि आगामी वर्षायाममा राजमार्गको अवस्था कस्तो रहला भन्ने चिन्ता यात्रु, व्यवसायी र स्थानीयवासीमा बढ्न थालेको छ । विशेषतः काभ्रेको भकुन्डेबेंसीदेखि नेपालथोकसम्मको खण्डमा खोलामार्फत बनाइएका अस्थायी डाइभर्सनहरू सामान्य वर्षामै बग्न थालेपछि यात्रा असुरक्षित र कष्टकर बन्दै गएको हो ।

गत वैशाख १५ गते राति रोशी खोलामा आएको बाढीले चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुंगा, डालाबेंसी, बुलढुंगा र माम्तीसहित विभिन्न स्थानका डाइभर्सन बगाउँदा यातायात पूर्ण रूपमा प्रभावित भएको थियो । त्यसपछि पनि वैशाख २१ र २२ गते पुनः बाढी र निर्माण व्यवस्थापनका कारण सडक अवरुद्ध भएपछि यात्रुहरूले लामो समय सास्ती खेप्नुपरेको थियो । हाल सुरक्षा कारण देखाउँदै साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ ।

गत असोज दोस्रो साता आएको भीषण बाढीले बीपी राजमार्गअन्तर्गत भकुन्डेबेंसीदेखि नेपालथोकसम्म करिब ३० दशमलव ५ किलोमिटर सडकमा गम्भीर क्षति पु¥याएको थियो । त्यसयता सरकारले विभिन्न खण्ड छुट्याएर पुनर्निर्माणको काम अघि बढाएको छ । सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार क्षतिग्रस्त क्षेत्रमध्ये अधिकांश खण्डमा स्थायी संरचना निर्माणको काम तीव्र गतिमा भइरहेको छ । सडक सतह उचाल्ने, आरसीसी तथा रिटेनिङ वाल निर्माण गर्ने, चेक ड्याम र कफर ड्याम बनाउनेलगायतका काम अहिले प्राथमिकताका साथ भइरहेको जनाइएको छ ।

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानेले यस वर्षको मनसुनमा पनि राजमार्ग सञ्चालन योग्य बनाइराख्ने गरी काम भइरहेको बताएका छन् । उनका अनुसार अहिले देखिएका समस्या दीर्घकालीन पुनर्निर्माणका क्रममा अस्थायी रूपमा सिर्जना भएका अवरोध मात्र हुन् । सडकको मूल संरचना मजबुत बनाएर खोलाको सतहभन्दा माथि गाडी सञ्चालन गर्न मिल्ने अवस्था तयार पारिएकाले सामान्य वर्षाले यातायात अवरुद्ध नहुने दाबी उनको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले पनि अहिले देखिएको समस्या मौसमीभन्दा बढी निर्माण व्यवस्थापनसँग सम्बन्धित रहेको स्पष्ट पारेका छन् । उनका अनुसार स्थायी संरचना निर्माण भइरहेका कारण केही स्थानमा सवारी साधनलाई अस्थायी रूपमा खोलाको बाटो हुँदै सञ्चालन गर्नुपरेको हो । बेमौसमी वर्षाका कारण डाइभर्सनमा क्षति पुगे पनि मुख्य सडक संरचना निर्माण कार्य तीव्र गतिमा अघि बढेकाले आगामी मनसुनमा अवस्था सहज हुने विश्वास कार्यालयको छ ।

कार्यालयका अनुसार बीपी राजमार्ग पुनर्निर्माणको समग्र प्रगति हाल करिब २७ देखि २८ प्रतिशत पुगेको छ । तर अत्यधिक जोखिमयुक्त स्थानमा भने ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको दाबी गरिएको छ । आगामी १० दिनभित्र धेरैजसो स्थानमा सवारीलाई पुनः मूल एलाइनमेन्टबाट सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ ।
राजमार्ग पुनर्निर्माणका लागि विभिन्न निर्माण कम्पनीसँग बहुवर्षीय ठेक्का सम्झौता गरिएको छ । भकुन्डेबेंसीदेखि चारसयबेंसीसम्मको ११ किलोमिटर सडक लामा–नवकान्तिपुर जेभीले पुनर्निर्माण गरिरहेको छ भने चारसयबेंसीदेखि डालाबेंसीसम्मको नौ किलोमिटर खण्ड खानी–कमलजित–एवान जेभीले निर्माण गरिरहेको छ । यस्तै बर्खेखोलादेखि नेपालथोकसम्मको पाँच किलोमिटर सडक सिन्धुलीतर्फ खरीढुंगा–घिसिङ–क्षितिज जेभीले पुनर्निर्माण गरिरहेको छ ।

यसैबीच जापान सरकारको सहयोगमा पुनर्निर्माण हुने भनिएको पिप्लेदेखि बर्खेखोलासम्मको ३ दशमलव २ किलोमिटर खण्डमा भने अझै स्थायी निर्माण सुरु हुन सकेको छैन । जापानी प्राविधिक टोलीले हाल स्थलगत अध्ययन गरिरहेको सडक विभागले जनाएको छ । अध्ययन सम्पन्न भएपछि सो खण्डको विस्तृत पुनर्निर्माण प्रक्रिया अघि बढाइने बताइएको छ ।

वर्षेनी बाढी र पहिरोका कारण अवरुद्ध हुने समस्या झेल्दै आएको बीपी राजमार्गलाई यसपटक दीर्घकालीन रूपमा सुरक्षित बनाउने सरकारी दाबी छ । तर मनसुन सुरु हुनुअघि नै बारम्बार सडक अवरुद्ध हुन थालेपछि यात्रुहरू भने सरकारी तयारीप्रति अझै विश्वस्त हुन सकेका छैनन् ।

प्रतिक्रिया