सिन्धुली,२४ बैशाख — सिन्धुलीको दुधौली नगरपालिकामा बिहीबार बिहान जन्ती बोकेको बुलेरो दुर्घटनामा पर्दा पाँच जना घाइते भएका छन् । बेहुलासहित जन्ती लिएर उदयपुरतर्फ जाँदै गरेको डबलक्याप बुलेरो घुम्ती सडकमा अनियन्त्रित भई सडकबाट दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।
दुर्घटना दुधौली नगरपालिका–१ राँगेस्थित सडक खण्डमा भएको हो । फिक्कल गाउँपालिका–१ महादेवडाँडा जलजलेबाट उदयपुरको घाइघाट–रातमाटेतर्फ बेहुला लिएर जाँदै गरेको मधेश प्रदेश ०३–००१ च ८२०२ नम्बरको बुलेरो अचानक नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको स्थानीय प्रशासनले जनाएको छ ।
गाडीमा बेहुला हेमबहादुर विकसहित १० जना सवार रहेका थिए । दुर्घटना भए पनि बेहुला भने सकुशल रहेको जनाइएको छ । विवाह समारोहका लागि हिँडेको जन्ती टोली दुर्घटनामा परेपछि केही समय स्थानीय क्षेत्रमा त्रास र अफरातफरीको अवस्था सिर्जना भएको थियो ।
दुर्घटनामा घाइते भएका योगबहादुर खत्रीको अवस्था गम्भीर रहेको बताइएको छ । प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि सिन्धुली अस्पताल पठाइएको वडा नं. १ का सचिव हेरम्बराज अधिकारीले जानकारी दिए । अन्य घाइते लालबहादुर विक, साने विक, श्याम विकलगायत चार जनाको स्थानीय सिर्थौली अस्पतालमा उपचार भइरहेको छ । उपचाररत सबैको अवस्था निगरानीमा रहेको अस्पताल स्रोतले जनाएको छ ।
स्थानीयवासीका अनुसार उक्त सडक खण्ड साँघुरो तथा घुम्ती धेरै भएकाले वर्षे तथा बिहानको समयमा सवारी सञ्चालन जोखिमपूर्ण बन्ने गरेको छ । दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले उद्धार गरी घाइतेहरूलाई अस्पताल पु¥याएका थिए ।
प्रहरीले घटनास्थलको निरीक्षण गरी दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ । प्रारम्भिक अनुमानमा तीव्र गति वा सडकको जटिल मोडका कारण सवारी अनियन्त्रित भएको हुन सक्ने बताइए पनि विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।
ग्रामीण क्षेत्रमा सडक सुरक्षाको चुनौती कायमै रहेका बेला विवाहजन्य यात्रामा हुने सवारी दुर्घटनाले यात्रु सुरक्षाप्रति थप संवेदनशीलता अपनाउनुपर्ने आवश्यकता पुनः उजागर गरेको स्थानीयवासीले बताएका छन् ।