सिन्धुली,२३ बैशाख – सिन्धुलीको बीपी राजमार्ग क्षेत्रमा भएका दुई फरक सवारी दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा काठमाडौंस्थित अस्पतालमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुवै घटना केही दिनअघि भएका भए पनि उपचाररत अवस्थामै घाइतेहरूको ज्यान गएको हो ।
पहिलो घटना गोलन्जोर गाउँपालिका–७ तल्लो बारास्थित बीपी राजमार्गमा वैशाख ४ गते बिहान करिब ९ बजेर १० मिनेटमा भएको थियो । काठमाडौंबाट तेह्रथुमतर्फ जाँदै गरेको बा ९१ प ४३६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ३५ फिट तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक तेह्रथुम पञ्चकन्या गाउँपालिका–१ निवासी २८ वर्षीय बिनोद लिम्बु गम्भीर घाइते भएका थिए ।
घटनापछि उनलाई तत्काल उद्धार गरी ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । लामो समयदेखि उपचाररत लिम्बुको सोमबार दिउँसो २ बजेर ३५ मिनेटमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालमा कार्यरत प्रहरी कर्मचारीमार्फत साँझ जिल्ला प्रहरी कार्यालयलाई घटनाबारे जानकारी प्राप्त भएको जनाइएको छ ।
यस्तै, दोस्रो दुर्घटना वैशाख २० गते कमलामाई नगरपालिका–२ तेहसयस्थित बीपी राजमार्ग खण्डमा भएको थियो । गढीतर्फबाट सिन्धुलीतर्फ आउँदै गरेको बा.प्र ०१–०१६ प ५४२९ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कुटर चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ निवासी २५ वर्षीय आदर्श चौलागाईं सामान्य घाइते भएका थिए भने पछाडि सवार सोही स्थानका ३९ वर्षीय बिकेश घिमिरे गम्भीर घाइते भएका थिए ।
घाइते घिमिरेलाई प्रारम्भिक उपचारपछि काठमाडौंस्थित ह्याम्स अस्पताल पठाइएको थियो । उपचारकै क्रममा सोमबार साँझ ६ बजेर ५५ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । दुर्घटनामा चालक चौलागाईंको बाँया खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । उनको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको र हाल थप निगरानीका लागि काठमाडौंमै रहेको बताइएको छ ।
प्रहरीले दुवै घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ । पछिल्लो समय बीपी राजमार्गमा तीव्र गति, लापरवाहीपूर्ण सवारी सञ्चालन तथा सडक सुरक्षामा कमजोरीका कारण दुर्घटनाका घटना बढ्दै गएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।