शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

बीपी राजमार्गमा रात्रीकालीन सवारी चलाउन रोक

मंगलवार , बैशाख २२, २०८३

काभ्रे,२२ बैशाख — वर्षायामको जोखिम बढ्दै गएसँगै बीपी राजमार्ग अन्तर्गत खुर्कोट–भकुण्डेबेंसी सडकखण्डमा रात्रीकालीन सवारी आवागमनमा कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले मंगलबार सार्वजनिक सूचना जारी गर्दै साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सवारी साधन सञ्चालन पूर्ण रूपमा निषेध गरिएको जनाएको हो ।

प्रशासनका अनुसार पछिल्ला दिनमा निरन्तर वर्षा, रोशी खोलामा आकस्मिक बाढीको सम्भावना तथा कमजोर भू–संरचनाका कारण सडक जोखिमपूर्ण बन्दै गएको छ । यी अवस्थालाई मध्यनजर गर्दै सम्भावित दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै रात्रीकालीन आवागमनमा रोक लगाइएको प्रशासनले स्पष्ट पारेको छ ।

सूचनामा उल्लेख गरिएअनुसार तोकिएको समयबाहेक पनि मौसमको अवस्था प्रतिकूल भएमा वा नदीमा जलस्तर बढेमा आवश्यकताअनुसार जुनसुकै समयमा छोटो अवधिका लागि सवारी आवागमन रोक्न सकिनेछ । प्रशासनले यसलाई सतर्कतामूलक उपायका रूपमा व्याख्या गर्दै आम नागरिकलाई संयमित र जिम्मेवार व्यवहार गर्न आग्रह गरेको छ ।

यात्रु तथा सवारी चालकलाई उक्त सडकखण्ड प्रयोग गर्नु अघि सडकको वर्तमान अवस्था, मौसम पूर्वानुमान तथा सम्बन्धित निकायको सूचना अनिवार्य रूपमा बुझ्न प्रशासनले अनुरोध गरेको छ । विशेष गरी कटुन्जेबेंसी (काभ्रे) देखि नेपालथोक (सिन्धुली) सम्मको खण्डमा यात्रा गर्दा थप सावधानी अपनाउन सुझाइएको छ ।

यसैबीच, सोमबार राति रोशी खोलामा आएको आकस्मिक बाढीले स्थिति झनै संवेदनशील बनेको छ । बाढीका कारण बीच खोलामा अलपत्र परेको माइक्रो बसमा सवार ८९ जना यात्रुहरू जोखिममा परेका थिए। उनीहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले समन्वयात्मक रूपमा उद्धार गरी सकुशल सुरक्षित स्थानमा पु¥याएको थियो ।

उक्त घटनाले राजमार्गको जोखिम अवस्थालाई उजागर गरेको भन्दै सरोकारवाला निकायहरू थप सतर्क बनेका छन् । प्रशासनले सम्भावित प्राकृतिक विपद् र सडक अवरोधबाट जोगिन नागरिकलाई अनावश्यक यात्रा नगर्न, अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न र सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न पुनः आग्रह गरेको छ ।

सुरक्षा संवेदनशीलता उच्च रहेको यस सडकखण्डमा जारी गरिएको प्रतिबन्धले यात्रु सुरक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । साथै, सम्बन्धित निकायहरूले परिस्थितिको निरन्तर अनुगमन गर्दै आवश्यकताअनुसार थप निर्णय लिने जनाएका छन् ।

प्रतिक्रिया