शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

रोसी खोलाको बाढीमा फसेका ८९ यात्रु नौ घण्टापछि सकुशल उद्धार

मंगलवार , बैशाख २२, २०८३

काभ्रेपलाञ्चोक,२२ वैशाख  — अविरल वर्षासँगै रोसी खोलामा आएको आकस्मिक बाढीका कारण बीपी राजमार्गअन्तर्गत रोसी गाउँपालिका–७ घुमाउने क्षेत्रमा फसेका ८९ जना यात्रुलाई करिब नौ घण्टापछि सकुशल उद्धार गरिएको छ । सोमबार साँझदेखि सुरु भएको उद्धार अभियान विभिन्न सुरक्षा निकाय र स्थानीयवासीको सक्रिय सहभागितामा राति अबेर सम्पन्न भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बनेपा, पनौती, बेथानचोक, धुलिखेल तथा नमोबुद्ध क्षेत्रलगायत आसपासका स्थानमा परेको निरन्तर वर्षापछि रोसी खोलामा अचानक जलप्रवाह बढ्दा पाँचवटा सवारीसाधन खोलाको बीच भागमै रोकिन पुगेका थिए । काठमाडौँतर्फ गइरहेका ती सवारीमा हायस र विद्युतीय गाडीसमेत रहेका थिए, जसमा सवार यात्रुहरू साँझ ५ बजेदेखि जोखिमपूर्ण अवस्थामै फसेका थिए ।

उद्धार कार्य प्रारम्भिक चरणमा कठिन बनेपछि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका विपद् उद्धार टोली परिचालन गरिएका थिए । स्थानीय तहका बासिन्दासमेत उद्धारमा सक्रिय रूपमा जुटेका थिए । राति अबेरसम्म पनि यात्रुलाई सुरक्षित स्थानमा ल्याउन नसकिएपछि थप स्रोतसाधन प्रयोग गर्दै राफ्टिङ बोटमार्फत उद्धार कार्य तीव्र बनाइएको थियो। अन्ततः सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालेर गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार वर्षाका कारण खोलामा पानीको बहाव बढ्न थालेपछि सवारी आवागमन रोक्न निर्देशन दिइएको थियो । तर, उक्त निर्देशनको बेवास्ता गर्दै जबरजस्ती अघि बढेका कारण सवारीहरू बाढीमा फसेका हुन् । यस घटनामा संलग्न पाँचवटै सवारीका चालकलाई नियन्त्रणमा लिइएको छ र थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

बाढीले अस्थायी रूपमा बनाइएको डाइभर्सन सडक बगाएपछि केही सवारीसाधन अझै घटनास्थलमै रोकिएका छन् । यसअघि २०८१ सालको असोज महिनामा आएको भीषण बाढीले बीपी राजमार्गको भकुण्डेदेखि नेपालथोकसम्मको करिब २९ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो । त्यसपछि वैकल्पिक रूपमा खोलाको किनार हुँदै अस्थायी मार्ग निर्माण गरी यातायात सञ्चालन हुँदै आएको छ ।

हाल उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ चार र सिन्धुलीतर्फ एक खण्डमा पुनर्निर्माण कार्य जारी रहेको छ। तर, सामान्य वर्षामै पनि रोसी खोलामा जलस्तर बढ्दा यातायात अवरुद्ध हुने समस्या दोहोरिँदै आएको स्थानीयले बताएका छन् । यस घटनाले वर्षायाममा सावधानी नअपनाउँदा उत्पन्न हुन सक्ने जोखिमप्रति पुनः सचेत गराएको छ ।

प्रतिक्रिया