सिन्धुली, २१ बैशाख – फिक्कल गाउँपालिकाले आर्थिक रूपमा विपन्न नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको ‘गरिबसँग विश्वेश्वर कार्यक्रम’ अन्तर्गत वडा नम्बर २ पा्खरीमा विभिन्न आयआर्जनमुखी सामग्री वितरण गरेको छ । स्थानीय तहले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटमार्फत उक्त कार्यक्रम कार्यान्वयन गरिएको गाउँपालिकाका उपाध्यक्ष राजु बरालले बताए ।
बरालका अनुसार कार्यक्रम अन्तर्गत यस वर्ष कुल दुई लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सोही बजेटबाट वडा नम्बर २ का विपन्न वर्गका नागरिकलाई लक्षित गरी चार वटा ब्याडे बोका, एक वटा बिउ पाडि, दुई वटा बंगुर तथा दुई थान कुटान–पिसान मिल वितरण गरिएको बरालले बताए । वितरण गरिएका सामग्रीले लक्षित परिवारको दैनिकीमा प्रत्यक्ष आर्थिक टेवा पुग्ने उनको अपेक्षा छ ।
गाउँपालिकाले दीर्घकालीन रूपमा गरिबी न्यूनीकरण गर्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको बताएको छ । पशुपालन तथा साना उद्यममार्फत आयआर्जन बढाउने लक्ष्यसहित सामग्री वितरण गरिएको हो । यस कार्यक्रमले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्दै आत्मनिर्भरता अभिवृद्धि गर्ने विश्वास गाउँपालिकाले व्यक्त गरेको छ ।
वडा नम्बर २ मा यो कार्यक्रम नियमित रूपमा सञ्चालन हुँदै आएको जनाउँदै स्थानीय जनप्रतिनिधिहरूले यसको प्रभाव सकारात्मक देखिएको बताएका छन् । उनीहरूका अनुसार यसअघि वितरण गरिएका सामग्रीबाट लाभान्वित परिवारले उत्पादन वृद्धि गर्दै आयआर्जनमा सुधार ल्याएका उदाहरणहरू समेत देखिएका छन् ।
कार्यक्रम अन्तर्गत सामग्री वितरण गर्दा लक्षित वर्गको पहिचान गरी प्राथमिकताका आधारमा छनोट गरिएको गाउँपालिकाले जनाएको छ । वास्तविक विपन्न, दलित तथा सीमान्तकृत समुदायलाई केन्द्रमा राखेर कार्यक्रम कार्यान्वयन गरिएको उल्लेख गरिएको छ ।
स्थानीय तहले आगामी वर्षहरूमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै थप प्रभावकारी बनाउने योजना अघि सारेको छ । आर्थिक रूपमा कमजोर वर्गलाई उत्पादनमुखी क्षेत्रमा संलग्न गराउँदै दिगो विकासको लक्ष्य हासिल गर्ने दिशामा गाउँपालिका केन्द्रित रहेको जनाइएको छ ।