शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा भिरबाट लडेर घाइते भएका सुनुवारको उपचारकै क्रममा निधन

सोमवार , बैशाख २१, २०८३

सिन्धुली, २१ वैशाख — सिन्धुलीको दुधौली नगरपालिकामा भिरबाट लडेर गम्भीर घाइते भएका एक पुरुषको उपचारको क्रममा निधन भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुधौली नगरपालिका–१३ भित्रीयाका अन्दाजी ४५÷४६ वर्षीय टिका सुनुवारको उपचारका क्रममा ज्यान गएको हो ।

प्रहरीका ाअनुसार सुनुवार १९ वैशाख दिउँसो घरबाट निस्किएका थिए । तर, रातिसम्म पनि घर नफर्किएपछि परिवारका सदस्य तथा आफन्तले खोजतलास सुरु गरेका थिए । खोजी गर्ने क्रममा भोलिपल्ट बैशाख २० गते बिहान करिब ७ः३० बजे घरदेखि करिब ३०० मिटर दक्षिणतर्फ रहेको खोल्सामा, भिरबाट करिब १० मिटर तल लडेको अवस्थामा उनलाई फेला पारिएको थियो । घटनास्थल स्थानीय बासिन्दाका अनुसार जोखिमयुक्त भौगोलिक संरचना भएको क्षेत्र हो ।

गम्भीर अवस्थामा भेटिएका सुनुवारलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कटारी पु¥याइएको थियो । प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाउने निर्णय गरिएको थियो । तर, बाटोमै उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई जिल्ला अस्पताल सिन्धुली फर्काइएको थियो । सोही अस्पतालमा चिकित्सकले दिउँसो १२ः५८ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी निरीक्षकको नेतृत्वमा अनुसन्धान टोली खटिएको थियो । घटनास्थल सदरमुकामबाट करिब ६ किलोमिटर दक्षिणमा पर्ने अरुण ठाकुर अस्थायी प्रहरी पोष्टको कार्यक्षेत्रभित्र पर्दछ । प्रहरीले घटनाको प्रकृति, कारण तथा परिस्थितिबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

यसैबीच, मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी दिउँसो करिब ३ः०० बजे मुचुल्का उठाइएको र पोस्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको प्रहरीले जानकारी दिएको छ । स्थानीय तह तथा प्रहरी स्रोतका अनुसार घटनास्थल दुर्गम तथा भिरालो भएकाले यस्ता दुर्घटनाको जोखिम उच्च रहने गरेको छ ।

 

प्रतिक्रिया