शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

बारम्बारको वर्षाले बिपी राजमार्ग अस्तव्यस्तः यात्रु संकटमा

शुक्रवार , बैशाख १८, २०८३

सिन्धुली,१८ बैशाख — काठमाडौँलाई पूर्वी तराई तथा पहाडी जिल्लासँग जोड्ने महत्वपूर्ण जीवनरेखा मानिएको बिपी राजमार्ग पछिल्लो एक वर्षयता निरन्तर अवरोधको मारमा परेको छ । विशेषतः वर्षायाम र त्यसपछिका सामान्य वर्षाका कारण समेत अस्थायी रूपमा निर्माण गरिएका डाइभर्सनहरू बारम्बार बग्दा यात्रु तथा सवारीसाधन आवागमन गम्भीर रूपमा प्रभावित हुँदै आएको छ ।

२०८१ साल असोज १० देखि १२ गतेसम्म आएको भीषण बाढीले भकुण्डे (१ नम्बर पुल) देखि नेपालथोकसम्मको सडक खण्डमा व्यापक क्षति पु¥याएपछि राजमार्गको नियमित सञ्चालनमा समस्या देखिन थालेको हो। पुनर्निर्माणको काम जारी रहे पनि वैकल्पिक संरचना अभाव र अस्थायी समाधानमा निर्भरता बढ्दा सामान्य वर्षामा समेत सडक अवरुद्ध हुने क्रम रोकिएको छैन ।

जिल्ला सुरक्षा समितिको तथ्यांकअनुसार गत वर्ष वैशाखदेखि हालसम्मको अवधिमा वर्षाका कारण मात्रै एक दर्जनभन्दा बढी पटक राजमार्ग अवरुद्ध भएको छ । यसबाहेक सुरक्षा संवेदनशीलता र जोखिम मूल्याङ्कनका आधारमा समितिको निर्णयबाट चार पटक राजमार्ग पूर्ण रूपमा बन्द गरिएको छ । यसरी प्राकृतिक कारण र प्रशासनिक निर्णय दुवैले सडक सञ्चालनलाई अनिश्चित बनाउँदै आएको देखिन्छ ।

विशेषगरी रोसी खोलाको जलप्रवाहसँग सम्बन्धित जोखिमले समस्या झनै जटिल बनाएको छ । बनेपा, पनौती, धुलिखेल र बेथानचोकलगायत माथिल्लो क्षेत्रमा वर्षा भएसँगै खोलामा पानीको बहाव बढ्ने र त्यसले किनारमै बनाइएका डाइभर्सन संरचना बगाउने समस्या दोहोरिँदै आएको छ । चौकीडाँडादेखि नेपालथोकसम्मको खण्डमा निर्माण गरिएका यस्ता अस्थायी सडकहरू वर्षा सुरु भएसँगै टिक्न नसक्ने अवस्थामा पुगेका छन् ।

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठका अनुसार पुनर्निर्माण जारी रहँदासम्म डाइभर्सनमार्फत सवारी सञ्चालन गरिँदै आएको भए पनि वर्षा सुरु हुनेबित्तिकै जोखिम न्यूनीकरणका लागि यातायात रोक्नु अपरिहार्य बन्दै गएको छ । “सवारी आवागमनमा जोखिम बढ्नासाथ सुरक्षाको दृष्टिले तत्काल निर्णय लिनुपर्छ,” उनले भनिन, “रातिको समयमा समेत राजमार्ग बन्द गर्ने निर्णय यही सन्दर्भमा गरिएको हो ।”

गत वर्ष विभिन्न समयमा राजमार्ग बन्द भएको विवरणले समस्या कति गम्भीर छ भन्ने देखाउँछ । वैशाख ५ देखि ६ गतेसम्म एक दिन, वैशाख १२ देखि १४ गतेसम्म करिब ३६ घण्टा, साउन ४ गते करिब डेढ घण्टा तथा भदौ १२ गते करिब १२ घण्टा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। यसैगरी चैत महिनामा पनि पटक–पटक सडक बन्द गर्नुपरेको थियो, जसले यात्रुहरूलाई थप सास्ती दिएको छ ।

बाढीले काभ्रेपलाञ्चोकतर्फ करिब २५ दशमलव ११ किलोमिटर सडक खण्डमा गम्भीर क्षति पु¥याएको थियो भने सिन्धुलीतर्फ नेपालथोकदेखि काभ्रेपलाञ्चोक सिमानासम्म करिब चार किलोमिटर क्षेत्रमा असर परेको छ । हाल काभ्रेपलाञ्चोकतर्फ चार खण्ड र सिन्धुलीतर्फ एक खण्डमा पुनर्निर्माणको काम भइरहेको छ । तर, निर्माण कार्य पूर्ण रूपमा सम्पन्न नभएसम्म स्थायी समाधान सम्भव देखिँदैन ।

वैकल्पिक सडक अभावका कारण राजमार्ग अवरुद्ध हुँदा सवारीसाधन लामो समयसम्म बीच बाटोमै रोकिन बाध्य हुने गरेका छन्। यसले यात्रुहरूको समय, श्रम र आर्थिक स्रोतमा प्रत्यक्ष असर पार्नुका साथै आपत्कालीन सेवासमेत प्रभावित हुने जोखिम बढाएको छ ।

सरकारले पुनर्निर्माण कार्यलाई तीव्रता दिने र दीर्घकालीन दृष्टिले सुरक्षित संरचना निर्माण गर्नेतर्फ ध्यान केन्द्रित नगरेसम्म बिपी राजमार्गमा देखिएको समस्या तत्काल समाधान हुने संकेत देखिँदैन। अहिलेको अवस्था हेर्दा, अस्थायी उपायमा निर्भर रहँदा प्रत्येक वर्षा सिजनसँगै यो महत्त्वपूर्ण राजमार्ग पुनः संकटमा पर्ने चक्र दोहोरिने सम्भावना उच्च देखिएको छ ।

प्रतिक्रिया