सिन्धुली,१८ बैशाख — लामो समयदेखि बजेट अभावका कारण जिर्ण अवस्थामा रहेको वडा नं. ५ मधुटारको सडक अन्ततः स्थानीय युवाहरूको सक्रिय पहलमा मर्मत कार्य भएको छ । वषौँ देखि जिर्ण अवस्थमा रहेको उक्त सडक वर्षायाममा हिलाम्मे र सुक्खायाममा धुलाम्मे बन्दै आवतजावतमा कठिनाइ सिर्जना गर्दै आएको थियो । सम्बन्धित निकायबाट पर्याप्त ध्यान नपाउँदा स्थानीयवासी निराश हुँदै गएका बेला युवाहरूले स्वयं अग्रसरता देखाउँदै उदाहरणीय कार्य सम्पन्न गरेका हुन् ।
सिन्धुली युवा क्लबको नेतृत्वमा सञ्चालन गरिएको श्रमदान अभियानमार्फत सडक मर्मत कार्य सम्पन्न गरिएको हो । क्लबका अगुवा पवन रोक्काको संयोजनमा अघि बढाइएको उक्त अभियानमा दर्जनौँ युवाहरूले नियमित रूपमा श्रमदान गरेका थिए । उनीहरूले दैनिक कामकाजसँगै समय व्यवस्थापन गर्दै सडकका खाल्टाखुल्टी मर्मत कार्यहरू सम्पन्न गरेका हुन् ।
स्थानीय बासिन्दाहरूका अनुसार, यस सडकको मर्मतले गाउँको जनजीवनमा उल्लेखनीय सहजता ल्याएको छ । विगतमा बिरामी बोक्न, विद्यार्थीहरूलाई विद्यालय आवतजावत गर्न कठिनाइ हुने अवस्था अब हटेको छ । अहिले सडक मर्मत भएपछि यातायात सहज भएको छ ।
गाउँवासीहरूले युवाहरूको प्रतिबद्धता र समर्पणप्रति उच्च प्रशंसा व्यक्त गरेका छन् । “सरकारको मुख ताकेर मात्र बस्ने हो भने विकास कहिल्यै हुँदैन भन्ने सन्देश युवाहरूले दिएका छन्,” एक स्थानीयले भने । उनीहरूले यस्तो पहलले अन्य समुदायलाई समेत प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
यस अभियानले सामुदायिक एकताको उदाहरण प्रस्तुत गर्नुका साथै विकासका कामहरूमा स्थानीय सहभागिताको महत्त्वलाई पुनः उजागर गरेको छ । सीमित स्रोतसाधनका बीच पनि दृढ इच्छाशक्ति र सहकार्यका माध्यमबाट ठूला उपलब्धि हासिल गर्न सकिन्छ भन्ने सन्देश यस कार्यले दिएको देखिन्छ ।
स्थानीय तहका जनप्रतिनिधिहरूले समेत युवाहरूको पहलको सराहना गर्दै आगामी दिनमा यस्ता प्रयासलाई संस्थागत सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विकास निर्माणमा सरकार र समुदायबीच सहकार्य आवश्यक रहेको सन्देशसहित सिन्धुलीको यो उदाहरण अन्य क्षेत्रका लागि पनि प्रेरणादायी बनेको छ ।