सिन्धुली,१६ बैशाख – सिन्धुलीको कमलामाई नगरपालिकाले सञ्चालन गरेको ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सफलतापूर्वक सम्पन्न भएको छ । वैशाख १ गतेदेखि ७ गतेसम्म सञ्चालन गरिएको उक्त अभियानले नागरिकका आधारभूत अधिकार सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण योगदान पु¥याएको नगरपालिकाले जनाएको छ । जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद तथा बसाइँसराइजस्ता व्यक्तिगत घटनाहरूलाई सरकारी अभिलेखमा समेटी प्रत्येक नागरिकलाई कानुनी पहिचान दिलाउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको कमलामाई नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाका एम.आई.एस. अपरेटर भानुभक्त श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार यस अभियानमार्फत ५६ वटा व्यक्तिगत घटना दर्ता गरिएको छ । यद्यपि नियमित रूपमा दर्ता हुने क्रम जारी रहे पनि निश्चित समयसीमाभित्र सबै नागरिकलाई दर्ताको दायरामा ल्याउने लक्ष्यका साथ सप्ताहव्यापी अभियान सञ्चालन गरिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाले जनाएको छ । विशेषगरी घटना भएको ३५ दिनभित्र दर्ता गराउने संस्कार विकास गर्न नगरपालिकाले प्राथमिकता दिएको श्रेष्ठले बताए ।
नेपाल सरकारले अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार सन् २०२४ सम्ममा शतप्रतिशत जन्मदर्ता सुनिश्चित गर्ने लक्ष्य लिएको सन्दर्भमा नगरपालिकाले पनि सो लक्ष्यलाई आत्मसात् गर्दै अभियानलाई निरन्तता दिएको श्रेष्ठले बताए । यस अभियान राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्देशनअनुसार सञ्चालन गरिएको श्रेष्ठले स्पष्ट पारे । यसअघि पनि आर्थिक वर्ष २०७७÷७८ मा १४ वडामा लक्षित अभियान सञ्चालन गरिएको अनुभवका आधारमा यसपटकको कार्यक्रम थप व्यवस्थित रूपमा सञ्चालन गरिएको जनाइएको छ ।
अभियानलाई प्रभावकारी बनाउन नगरपालिकाले विभिन्न प्रचार–प्रसारका माध्यमहरू अपनाएको थियो । स्थानीय पत्रपत्रिका तथा रेडियो–एफएममार्फत सूचना प्रकाशन तथा प्रसारण गर्नुका साथै वडा कार्यालयहरूमा आवश्यक कागजातसम्बन्धी जानकारी समेटिएका फ्लेक्स, पम्पलेट तथा ब्रोसर वितरण गरिएको थियो । यसका अतिरिक्त सबै वडामा अटोमार्फत माइकिङ गरी नागरिकलाई जानकारी गराइएको सामाजिक सुरक्षा शाखाले जनाएको छ ।
हाल कमलामाई नगरपालिकाका सबै १४ वडामा व्यक्तिगत घटना दर्ता अनलाइन प्रणालीमार्फत हुने व्यवस्था गरिएको छ । यस प्रणालीका कारण सेवाग्राहीहरूले आवश्यक कागजात पेश गरेपछि तत्कालै डिजिटल प्रमाणपत्र प्राप्त गर्न सक्ने सुविधा उपलब्ध भएको छ । यसले सेवा प्रवाहलाई छरितो र सहज बनाएको मात्र नभई पारदर्शिता पनि बढाएको नगरपालिकाको दाबी छ ।
व्यक्तिगत घटना दर्ता नागरिकको आधारभूत अधिकारसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो। यसले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, विद्यालय भर्ना गर्न, राहदानी बनाउन तथा अन्य सरकारी सेवा लिन अनिवार्य भूमिका खेल्ने भएकाले यसको महत्व अझ बढी रहेको देखिन्छ । कानुनी व्यवस्था अनुसार घटना भएको ३५ दिनभित्र दर्ता गराएमा सेवा निःशुल्क पाइनेछ भने सो अवधि नाघेपछि रु २०० शुल्क लाग्ने प्रावधान रहेको छ ।
नगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र अझै दर्ता हुन बाँकी रहेका नागरिकलाई यथाशीघ्र सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी घटना दर्ता गराउन अनुरोध गरेको छ। सप्ताह सकिए पनि पञ्जीकरणसम्बन्धी कार्य नियमित रूपमा जारी रहने जनाइएको छ ।
यसैबीच, २०८२ सालदेखि ३५ दिनभित्र घटना दर्ता गर्ने व्यक्ति वा सूचकलाई सम्मान गर्ने कार्यक्रम ल्याउने तयारी गरिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले जनाएको छ । यस्तो प्रोत्साहनमूलक कार्यक्रमले समयमै दर्ता गर्ने प्रवृत्तिलाई थप बढावा दिने अपेक्षा गरिएको छ ।
समग्रमा, कमलामाई नगरपालिकाले सञ्चालन गरेको ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ले नागरिक सचेतना अभिवृद्धि गर्नुका साथै कानुनी पहिचान सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण उपलब्धि हासिल गरेको देखिन्छ ।