शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

समयमै परेको वर्षाले सिन्धुलीमा डढेलो न्यून, वन सुरक्षित

बुधवार , बैशाख १६, २०८३


सिन्धुली,१६ बैशाख — यस वर्ष समयमै र निरन्तर रूपमा परेको वर्षाले सिन्धुली जिल्लाका वन क्षेत्रमा डढेलोका घटनामा उल्लेखनीय कमी ल्याएको छ । सामान्यतया चैत र वैशाख महिनालाई वन डढेलोको उच्च जोखिमयुक्त समयका रूपमा लिइने गरिए पनि यस वर्षको मौसमीय अवस्थाले उक्त परम्परागत जोखिमलाई न्यून बनाएको देखिएको छ । स्थानीयवासी तथा वन सम्बद्ध निकायहरूका अनुसार वर्षाले वन क्षेत्रमा आवश्यक चिस्यान कायम राख्दै डढेलो नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको छ ।

कमलामाई नगरपालिका–४ अन्तर्गत पर्ने शिलादेवी सामुदायिक वन उपभोक्ता समूहका सदस्य छत्रबहादुर थापाले यस वर्षको वर्षा वन संरक्षणका दृष्टिले अत्यन्त लाभदायक सावित भएको बताए । उनका अनुसार वर्षाका कारण वन क्षेत्र सुक्खा हुन नपाउँदा डढेलो लाग्ने सम्भावना न्यून भएको मात्र होइन, नयाँ बिरुवाहरूको वृद्धि र संरक्षणमा समेत सहजता आएको छ । अघिल्ला वर्षहरूमा यही समयमा डढेलो नियन्त्रणका लागि स्थानीय उपभोक्ताहरूलाई वन क्षेत्रमा नै सक्रिय रहनुपर्ने बाध्यता थियो, तर यस वर्ष त्यस्तो अवस्था सिर्जना हुन नपाएको उहाँको अनुभव छ ।

स्थानीय तहमा चैत–वैशाख महिनालाई ‘खुरीखण्ड’ अर्थात् अत्यधिक गर्मी र न्यून वर्षा हुने समयका रूपमा चिनिने गरिन्छ । तर यस वर्षको मौसमीय प्रवृत्ति त्यसको विपरीत देखिएको छ । समय–समयमा परेको वर्षाले वातावरणलाई शीतल बनाउनुका साथै वनजंगलमा हरियाली वृद्धि गरेको छ । यसले वन क्षेत्रलाई प्राकृतिक रूपमा सुरक्षित राख्न सहयोग पुगेको छ । साथै, विगतमा घाँस पलाउने उद्देश्यले गरिने डढेलो लगाउने प्रचलनमा समेत कमी आएको स्थानीयहरूको भनाइ छ ।

वन डढेलो नियन्त्रणका लागि सामुदायिक वन उपभोक्ता समूहहरूले पूर्वतयारीका रूपमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन् । अग्निरेखा निर्माण, झाडी सरसफाइ, र जनचेतनामूलक कार्यक्रमहरू यसका प्रमुख उदाहरण हुन् । जिल्लाभर रहेका सामुदायिक वन समूहहरूले समन्वयात्मक रूपमा यस्ता गतिविधि अघि बढाउँदै वन संरक्षणमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन् ।

जिल्लाको कुल क्षेत्रफलमध्ये करिब दुई लाख ४९ हजार एक सय हेक्टर क्षेत्र ओगटेको सिन्धुलीमा एक लाख ६० हजार एक सय ९१ हेक्टर वन क्षेत्र रहेको छ । यति ठूलो वन क्षेत्रको संरक्षण चुनौतीपूर्ण रहे पनि यस वर्षको मौसमीय अनुकूलताले संरक्षण कार्यलाई सहज बनाएको वन कार्यालयका अधिकारीहरूको भनाइ छ ।

डिभिजन वन कार्यालय मरिणका प्रमुख कृष्णराज न्यौपानेका अनुसार यस वर्ष जिल्लामा डढेलोका घटना अत्यन्त न्यून रहेका छन् । उहाँले एक कबुलियती वनमा सामान्य प्रकृतिको डढेलो लागेको उल्लेख गर्दै त्यसबाट करिब २० देखि २५ वटा बिरुवामा मात्र क्षति पुगेको जानकारी दिनुभयो। अन्य स्थानमा भने कुनै ठूलो क्षति नभएको उहाँले स्पष्ट पारे ।

त्यसैगरी, डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख रामकुमार भण्डारीका अनुसार गत वर्ष ७५८ दशमलव ५ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित भएकोमा यस वर्ष हालसम्म करिब १० हेक्टर क्षेत्र मात्र प्रभावित भएको छ । उनका अनुसार तीन स्थानमा सानो परिमाणमा डढेलो लागेको भए पनि ती सबै घटनालाई स्थानीय उपभोक्ताहरूले तत्काल नियन्त्रणमा लिन सफल भएका छन् ।

वन संरक्षणमा स्थानीय समुदायको सक्रियता र सचेतनाको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेको सरोकारवालाहरूको भनाइ छ । सामुदायिक वन उपभोक्ता समूहहरूको सहभागिता, जनचेतनामूलक कार्यक्रमहरू, तथा स्थानीय तहसँगको सहकार्यले डढेलो नियन्त्रणमा सकारात्मक प्रभाव पारेको देखिन्छ । सडक नाटक, सचेतना अभियान तथा तालिममार्फत वन संरक्षणको सन्देश समुदायसम्म पु¥याउने प्रयास जारी रहेका छन् ।

यद्यपि, वन डढेलो नियन्त्रणमा मौसमीय अनुकूलता प्रमुख कारकका रूपमा देखिएको वन कार्यालयको निष्कर्ष छ । समयमै परेको वर्षाले डढेलोको जोखिम घटाउनुका साथै वन क्षेत्रको समग्र स्वास्थ्यमा सुधार ल्याएको छ । आगामी दिनमा पनि यस्तै अनुकूल मौसमीय अवस्था कायम रहनुका साथै स्थानीय समुदायको सक्रियता निरन्तर रहिरहेमा वन संरक्षणमा थप सकारात्मक उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया