सिन्धुली,१५ बैशाख— सिन्धुली जिल्लाको दुधौली नगरपालिका–४ पचरुखीस्थित कमलाखोलामा एक युवक डुबेर मृत अवस्थामा फेला परेका छन् । स्थानीय २९ वर्षीय सुरेन्द्र अधिकारी माछा मार्न भनी घरबाट निस्किएका सम्पर्कविहीन बनेका थिए । खोजतलासको क्रममा उनी खोलाको पानीमा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार, वैशाख १४ गते सा्मपार साँझ करिब ५ः३० बजेतिर अधिकारी माछा मार्ने उद्देश्यले कमलाखोलातर्फ गएका थिए । उनि घर नफर्किएपछि परिवार तथा स्थानीयवासीले खोजी कार्य सुरु गरेका थिए । खोजी कार्यकै क्रममा उनलाई खोलाभित्र डुबेको अवस्थामा फेला पारिएको हो । घटनाबारे औपचारिक जानकारी वैशाख १५ गते मंगलवार दिउँसो इलाका प्रहरी कार्यालय डकाहामा टेलिफोनमार्फत प्राप्त भएको प्रहरीले जनाएको छ ।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको अनुसन्धान टोली घटनास्थलमा पुगेको छ । टोलीले घटनास्थलको मुचुल्का तयार गर्ने, प्रमाण संकलन गर्ने तथा प्रारम्भिक अनुसन्धान गर्ने कार्य अघि बढाएको जनाएको छ । घटनाको प्रकृति, सम्भावित कारण र परिस्थितिबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
स्थानीयवासीका अनुसार कमलाखोला वर्षायाममा मात्र नभई अन्य समयमा पनि गहिरो र जोखिमयुक्त रहने गरेको छ । विशेषगरी एक्लै माछा मार्न जाने क्रममा सतर्कता नअपनाउँदा यस्ता दुर्घटना हुने जोखिम बढ्ने गरेको उनीहरूको भनाइ छ । यस घटनाले स्थानीय तहमा नदी तथा खोलाको सुरक्षासम्बन्धी सचेतनाको आवश्यकता पुनः उजागर गरेको छ ।
प्रहरीले मृतकको शवलाई पोस्टमार्टमका लागि नगर अस्पतार दुधौलीमा पठाएको जनाएको छ । पोस्टमार्टम रिपोर्टपछि मात्र मृत्युको वास्तविक कारण स्पष्ट हुने प्रहरीको भनाई छ । साथै, घटनासँग सम्बन्धित थप तथ्य संकलन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरी स्रोतले जनाएको छ ।
यसैबीच, स्थानीय प्रशासनले नदी तथा खोलामा प्रवेश गर्दा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । एक्लै जोखिमयुक्त क्षेत्रमा नजान, सुरक्षाका आधारभूत उपायहरू अपनाउन तथा सम्भावित जोखिमप्रति सचेत रहन सबैलाई अनुरोध गरिएको छ ।