शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

बाढीपहिरो र अव्यवस्थित उत्खननले बिपी राजमार्ग जोखिममा

मंगलवार , बैशाख १५, २०८३

सिन्धुली,१५ बैशाख — कुनै समय मुलुककै नमुना र दिगो पूर्वाधारका रूपमा चिनिएको बिपी राजमार्ग अहिले सामान्य वर्षामा पनि अवरुद्ध हुने अवस्थासम्म पुगेको छ । २०८१ असोज १२ गते रोसी खोलामा आएको बाढीपहिरोले सडकका महत्त्वपूर्ण खण्ड बगाएपछि यस राजमार्गको दीर्घकालीन स्थायित्वमाथि गम्भीर प्रश्न उठ्न थालेका छन्। त्यसयता निरन्तर देखिएको अव्यवस्था, कमजोर पुनस्र्थापना प्रयास र मानवजन्य हस्तक्षेपका कारण सडकको अवस्था झन् जटिल बन्दै गएको छ ।

राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ र पूर्वी नेपालबीचको आवागमनमा नियमित समस्या उत्पन्न भइरहेको छ । हिउँदको सामान्य वर्षादेखि मनसुनको पानीसम्मले सडकमा क्षति पु¥याउने क्रम रोकिएको छैन । स्थानीयवासी र यात्रुहरूका अनुसार, दुई वर्ष नपुग्दै पुनःनिर्माणको स्पष्ट र भरपर्दो प्रगति नदेखिँदा सडक प्रयोग असुरक्षित र अनिश्चित बनेको छ ।

विज्ञहरूका अनुसार समस्या केवल प्राकृतिक विपत्तिमा सीमित छैन । रोसी खोला क्षेत्रमा अनियन्त्रित रूपमा सञ्चालन भइरहेका ढुङ्गाखानी र क्रसर उद्योगहरूले खोलाको सतह अस्वाभाविक रूपमा माथि उठाएको छ । खोलाको प्राकृतिक बहाव अवरुद्ध भई सतह उकासिँदा सानो पानी पर्दा पनि खोलाको धार सडकतर्फ मोडिने गरेको छ । यसले सडक संरचनालाई सीधै जोखिममा पारेको छ ।

हाल जापान सरकारको करिब २.६१ अर्ब रुपैयाँ अनुदान र नेपाल सरकारको करिब आठ अर्ब रुपैयाँ लगानीमा पुनर्निर्माण प्रक्रिया अघि बढाइएको छ । तर यति ठूलो लगानी हुँदाहुँदै पनि दीर्घकालीन समाधानबिना निर्माण गरिने हो भने यसको औचित्यमाथि प्रश्न उठ्ने विज्ञहरूको चेतावनी छ । उनीहरूका अनुसार, खोलाको बहाव व्यवस्थापन र भू–प्राविधिक सुधारबिना केवल सडक मर्मत वा पुनर्निर्माणले समस्या समाधान गर्न सक्दैन ।

भू–प्राविधिक विज्ञ डा. मन्दीप सुवेदीले रोसी खोला आसपासका खानी तथा क्रसर उद्योगलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्नुपर्नेमा जोड दिन्छन्। उनका अनुसार, इन्जिनियरिङ अध्ययन र अनुसन्धानबिना गरिएको उत्खननले भू–सन्तुलन बिगार्ने मात्र होइन, नदी प्रणालीलाई समेत अस्थिर बनाउँछ । खानी सञ्चालन गर्दा खोलादेखिको दूरी, गेग्रान नबग्ने संरचना र वातावरणीय प्रभावका विषयमा कडाइका साथ मापदण्ड लागू गरिनुपर्ने उनको भनाइ छ ।

यसैगरी, वरिष्ठ भूगर्भविद् शिवप्रसाद बाँस्कोटाले खानी र क्रसरबाट निस्कने ढुङ्गा, बालुवा र माटो जथाभावी खोलामा विसर्जन हुँदा खोलाको सतह निरन्तर उकासिँदै गएको बताउँछन्। उनका अनुसार, यस्ता गेग्रानले पानीको भार उल्लेख्य रूपमा बढाउँछ, जसका कारण सामान्य बाढी पनि अत्यधिक विनाशकारी बन्न सक्छ । अनुसन्धानअनुसार, गेग्रानयुक्त बाढीको भार सामान्य पानीभन्दा पाँचदेखि पन्ध्र गुणासम्म बढी हुन सक्छ, जसले सडक, पुल र अन्य संरचनामा गम्भीर क्षति पु¥याउँछ ।

वर्तमान अवस्थामा सडक माथिबाट बग्ने गेग्रानयुक्त भेल प्रत्यक्ष रूपमा सडक संरचनामाथि नै पर्छ। कतिपय स्थानमा निर्माण गरिएका अस्थायी डाइभर्सनहरू पनि प्रभावकारी रूपमा काम गर्न सकेका छैनन्। सडक डिभिजन भक्तपुरका अधिकारीहरूका अनुसार, गत वर्ष केही नियन्त्रण उपाय अपनाइए पनि यस वर्ष अचानक परेको वर्षाका कारण त्यस्ता उपाय पर्याप्त हुन सकेनन्। यद्यपि, निकट भविष्यमा थप संरचनात्मक सुधार गर्ने तयारी भइरहेको बताइएको छ ।

विज्ञहरूले दीर्घकालीन समाधानका लागि एकीकृत दृष्टिकोण आवश्यक रहेको औंल्याएका छन्। यसमा खोलाको बहाव व्यवस्थापन, जैव–इन्जिनियरिङ प्रविधिको प्रयोग, रिटेनिङ पर्खाल निर्माण तथा वनस्पति रोपण जस्ता उपायहरू समावेश गर्नुपर्ने उनीहरूको सुझाव छ । साथै, सडकको डिजाइन क्षमताभन्दा बढी भार बोक्ने सवारीसाधनमा कडाइका साथ प्रतिबन्ध लगाउनुपर्ने आवश्यकता पनि औँल्याइएको छ ।

समग्रमा, बिपी राजमार्गको वर्तमान अवस्था केवल प्राकृतिक प्रकोपको परिणाम नभई अव्यवस्थित विकास र कमजोर नियमनको संयुक्त प्रभाव हो। यथास्थितिमा सुधार नगरी पुनर्निर्माण अघि बढाइएमा भविष्यमा अझ ठूलो क्षति व्यहोर्नुपर्ने जोखिम रहेको स्पष्ट देखिन्छ ।

प्रतिक्रिया