शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

सोमवार , बैशाख १४, २०८३


सिन्धुली,१४ बैशाख – सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–०६ स्थित रातामाटा क्षेत्रमा लागुऔषध (ला.औ) कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले सोमवार दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको विशेष टोलीले लागुऔषधको अवैध बिक्री–वितरण भइरहेको अवस्थामा सोमवार बिहान ९ः१५ छापामारी गर्दै उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा कमलामाई नगरपालिका–०६ बस्ने ३९ वर्षीय शंकर खड्का र कमलामाई नगरपालिका–०५ बस्ने ३८ वर्षीय चन्द्रबहादुर थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक अजयकुमार कुशहवाको कमाण्डमा खटिएको टोलीले विशेष निगरानीपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू लागुऔषध कारोबारमा संलग्न रहेको आशंकासमेत गरिएको प्रहरीले जनाएको छ ।

छापामारीका क्रममा प्रहरीले उनीहरूको साथबाट ब्राउन सुगर जस्तो देखिने लागुऔषध ०.९८० ग्राम बरामद गरेको छ । साथै, लागुऔषध तौल गर्न प्रयोग हुने डिजिटल तराजु एक थान र नगद रु. ८,३६५। पनि बरामद गरिएको  प्रहरीले जनाएको छ । बरामद सामग्रीहरू आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै परीक्षण तथा प्रमाण संकलनका लागि सुरक्षित राखिएको छ ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याइएको र प्रारम्भिक अनुसन्धानपछि कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । उनीहरूलाई सिन्धुली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ । प्रहरीका अनुसार लागुऔषधको स्रोत, वितरण सञ्जाल तथा संलग्न अन्य व्यक्तिहरूको पहिचानका लागि विस्तृत अनुसन्धान अघि बढाइएको छ ।

जिल्ला प्रहरी कार्यालयले पछिल्लो समय लागुऔषध कारोबार नियन्त्रणलाई प्राथमिकतामा राख्दै विशेष निगरानी र सूचनामूलक कारबाहीलाई तीव्र बनाएको जनाएको छ । स्थानीय तहमा बढ्दो लागुऔषध प्रयोग र कारोबारलाई रोक्न समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई समेत सुदृढ बनाइएको प्रहरीको भनाइ छ ।

प्रहरीले सर्वसाधारणलाई पनि यस्ता अवैध गतिविधिबारे सूचना दिन आग्रह गर्दै समाजमा लागुऔषधको दुष्प्रभाव न्यून गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको स्पष्ट पारेको छ । पक्राउ परेकामाथि लागुऔषध नियन्त्रण सम्बन्धी प्रचलित कानुनअनुसार थप कारबाही हुने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया