शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

एक प्रत्यक्षदर्शीको अनुभव

पैदलमार्गमा देखिएको सादगीः एक सांसदसँगको आकस्मिक भेटले जगाएको पुस्तागत आशा

सोमवार , बैशाख १४, २०८३

सिन्धुली अस्पतालको उत्तरी भेगको पैदलमार्ग । सामान्य जस्तो लाग्ने दिउँसोको समय , मेरो जीवनको एउटा स्मरणीय क्षण बन्न पुग्यो । कहिलेकाहीँ जीवनमा घट्ने साना भेटहरूले मनमा ठूला प्रश्न र आशाहरू जन्माइदिन्छन—आजको दिन पनि यस्तै भयो ।

म परिवारसहित गाडीमा सवार थिएँ । अस्पताल क्षेत्र पार गर्दै अघि बढ्दै गर्दा अचानक मेरो नजर पैदलमार्गतर्फ पुग्यो । त्यहाँ देखिएको अनुहार परिचित थियो,सांसद आशिष गजुरेल केही युवाहरूसँगै साधारण रूपमा पैदल हिँड्दै हुनुहुन्थ्यो । न कुनै विशेष तामझाम, न सुरक्षा घेरा—बस सामान्य नागरिकजस्तै सहज चालमा अघि बढिरहेको दृश्य ।

मैले सहज रूपमा गाडीको हर्न हल्का बजाएँ । उहाँले हामीलाई देख्नुभयो र केही क्षणमै पैदलमार्गबाट तल ओर्लिएर हामीतर्फ आउनुभयो । गाडी नजिक आइपुग्दा उहाँसँग हात मिलाउने अवसर जुर्यो । छोटो तर आत्मीय संवाद भया,—सन्चो–बिसन्चोको हालखबर सोधपुछ भयो ।

उहाँ आज नै काठमाडौंमा आयोजना हुने एक महत्वपूर्ण बैठकका लागि प्रस्थान गर्न लागेको बताउनुभयो । हामीले शुभयात्राको कामना ग¥यौं । त्यसपछि उहाँ आफ्नो गन्तव्यतर्फ लाग्नुभयो, हामी पनि आफ्नै बाटो लाग्यौं । तर त्यो छोटो भेटले मेरो मनमा गहिरो प्रभाव छोडिसकेको थियो ।

मिडियाको चर्चा र वास्तविक दृश्यबीचको अन्तर

केही दिनअघि विभिन्न मिडियाहरूमा सांसदहरूको जीवनशैलीबारे आएका समाचारहरू देखेको थिएँ,कहिलेकाहीँ सादगी र व्यवहारमाथि प्रश्न उठाउने शैलीका शीर्षकहरू पनि । ती समाचारहरूले मनमा केही जिज्ञासा जन्माएका थिए ।

तर त्यसदिन आफ्नै आँखाले सांसदलाई सामान्य नागरिकझैं पैदलमार्गमा सहज रूपमा हिँडिरहेको देख्दा, म एकछिन अचम्ममा परेँ । मनमा प्रश्न उठ्यो,सार्वजनिक जीवनमा रहेका व्यक्तिहरूका साना व्यवहारहरू किन कहिलेकाहीँ अतिरञ्जित रूपमा प्रस्तुत गरिन्छन ? सादगीलाई पनि किन विवादको विषय बनाइन्छ ?

छोराको उत्साहः नयाँ पुस्ताको मनोविज्ञान

म यिनै विचारहरूमा हराइरहेको बेला, मेरो छोरा आश्रयले उत्साहित हुँदै भन्यो,“बाबा, आज मैले पनि हाम्रो सांसदलाई देखेँ !”

उसको अनुहारमा देखिएको खुशी कुनै फिल्मको नायक देखेपछि बालकको आँखामा देखिने उत्साहजस्तै थियो । उसले पटक–पटक सोध्यो,“यो साँच्चै आशिष गजुरेल नै हो नि ?”

मैले मुस्कुराउँदै पुष्टि गरेँ,“हो बाबु, हाम्रो गाउँकै दाइ हो ।”

उसको अर्को प्रश्न अझ अर्थपूर्ण थियो,“आशिष गजुरेलले सिन्धुली बनाउँछन बाबा ?”

मैले छोटो तर आशावादी उत्तर दिएँ, “प्रयास गरिरहनुभएको छ, राम्रो गर्नुहुने आशा गरौँ ।”
तर प्रश्नहरूको श्रृंखला त्यतिमै रोकिएन । उसले फेरि जिज्ञासा राख्यो, “बालेन र आशिषले नेपाल बनाउँछन् है बाबा ?”
त्यो प्रश्न केवल एउटा बालकको जिज्ञासा मात्र थिएन; त्यो आजको पुस्ताको अपेक्षाको प्रतिबिम्ब थियो ।
घरभित्र फैलिएको उत्साह

घर पुग्ने बित्तिकै मेरो छोराले उत्साहित हुँदै आफ्नी हजुरआमालाई भन्यो, “आमा, आज मैले हाम्रो एनपीलाई देखेँ! बाबाले उहाँसँग कुरा पनि गर्नुभयो ।”
आमाले मुस्कुराउँदै उत्तर दिनुभयो,“राम्रो गरेछांै । पढेलेखेका मान्छेसँग संगत गर्नुपर्छ ।”

त्यसपछि ऊ साथीहरूसँग खेल्न बाहिर गयो, तर त्यहाँ पनि उसले साथीहरूलाई यही अनुभव सुनाइरहेको थियो । एउटा सानो भेट उसको दिनको सबैभन्दा ठूलो घटना बनेको थियो ।

हाम्रो समय र आजको समयबीचको दूरी

त्यो घटनापछि म आफ्नै बाल्यकाल सम्झन थालेँ। हाम्रो समयमा, सानै उमेरमा सांसद वा प्रधानमन्त्रीको नाम चिन्ने चलन कमै थियो। त्यो समय राजनीतिक अस्थिरता, बन्द–हड्ताल र द्वन्द्वको त्रासले भरिएको थियो। बालबालिकाको प्राथमिकता खेलकुद, घरायसी काम र दैनिक जीवनमै सीमित हुन्थ्यो ।

हामी गुच्चा खेल्थ्यौँ, गाईभैँसी चराउँथ्यौँ, कहिलेकाहीँ पैसा जुटे फिल्म हेर्न जान्थ्यौँ । मोबाइल फोन थिएन, समाचारपत्र आउन पनि हप्तौँ कुर्नुपर्ने अवस्था थियो ।

आज परिस्थिति बिल्कुल फरक छ। सूचना प्रविधिको तीव्र विकासले बालबालिकालाई सानै उमेरमा देश–समाजका विषयमा सचेत बनाएको छ । पाँच कक्षामा अध्ययनरत मेरो छोरा आफ्नै जिल्लाको सांसद चिन्ने मात्र होइन, देशको भविष्यबारे आशा राख्ने अवस्थामा पुगेको छ ।
नयाँ पुस्ताको आशा नेतृत्वप्रतिको भरोसा

आजको पुस्ता राजनीतिप्रति चासो राख्छ। उनीहरू प्रश्न गर्छन्, अपेक्षा राख्छन् र परिवर्तनको कल्पना गर्छन् । बालबालिकाको मनमा जन्मिएको आशा कुनै पनि राष्ट्रको भविष्यका लागि महत्वपूर्ण आधार हो ।

तर यो आशालाई जोगाइराख्ने जिम्मेवारी नेतृत्व वर्गको हो । अघिल्ला पुस्ताले जस्तै निराशा दिने गल्ती दोहोरिनु हुँदैन । असल नियत, पारदर्शी नीति र जनतामुखी कामले मात्र त्यो भरोसालाई बलियो बनाउन सक्छ । यदि नयाँ पुस्ताका नेताहरूले सही नीति र स्पष्ट दृष्टिकोणका साथ काम गर्न सके, देशलाई समृद्धिको मार्गमा अघि बढाउन धेरै समय लाग्ने छैन ।

एक सानो भेट, ठूलो सन्देश

आजको सानो भेट केवल एउटा व्यक्तिगत अनुभव मात्र थिएन। त्यो एउटा संकेत थियो—नेतृत्व जनतासँग जोडिएको छ भन्ने अनुभूति दिने संकेत । आजको पुस्ताले नेतृत्वप्रति देखाएको भरोसा केवल भावनात्मक मात्र होइन, भविष्यप्रतिको अपेक्षाको प्रतिविम्ब पनि हो । यही अपेक्षा पूरा गर्न सकियो भने, देशको भविष्य उज्यालो बन्नेछ ।

अन्ततः, हामी सबैले एउटै भावना मनमा राखेका छौँ “Hope for the best, prepare for the worst.” तर आजको सन्दर्भमा, यो वाक्य केवल व्यक्तिगत सोच मात्र होइन; यो देशको भविष्यप्रतिको सामूहिक विश्वास पनि हो।

प्रतिक्रिया