शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

बालमैत्री वडा निर्माणतर्फ कमलामाई –५ को पहल

आइतवार , बैशाख १३, २०८३


सिन्धुली,१३ बैशाख — बालमैत्री स्थानीय शासन प्रवद्र्धन गर्ने उद्देश्यले कमलामाई नगरपालिका वडा नं. ५ मा ‘चाइल्ड प्रोफाइल’ निर्माण सम्बन्धी एकदिने अभिमुखीकरण तथा तालिम कार्यक्रम आइतवार सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा तथा नगरपालिकाको समन्वयमा आयोजित उक्त कार्यक्रमले वडाभित्रका बालबालिकाको यथार्थ अवस्था अभिलेखीकरण गर्ने कार्यलाई औपचारिक रूपमा अघि बढाएको छ ।

वडा नं. ५ लाई बालमैत्री वडाका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य अनुरूप सञ्चालन गरिएको कार्यक्रममा सरोकारवाला निकाय तथा तथ्यांक संकलकहरूलाई लक्षित गरी आवश्यक प्राविधिक ज्ञान र सीप हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बालबालिकाको समग्र अवस्था—शिक्षा, स्वास्थ्य, पोषण, संरक्षण तथा सहभागितासँग सम्बन्धित विवरण संकलन गरी व्यवस्थित प्रोफाइल तयार पार्ने प्रक्रियाबारे विस्तृत छलफल तथा प्रशिक्षण गरिएको जनाइएको छ ।

कार्यक्रमको प्रशिक्षण सत्रमा प्रशिक्षक हरिश्चन्द्र घिमिरेले बालबालिकासम्बन्धी तथ्यांक संकलनका विधि, सूचकहरूको पहिचान तथा प्रोफाइल निर्माणका प्राविधिक पक्षबारे सहजीकरण गरेका थिए । उनले तथ्यांकको विश्वसनीयता र समावेशितामा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै, बालमैत्री योजना कार्यान्वयनमा यस्ता विवरणको महत्वपूर्ण भूमिका रहने बताए ।

कार्यक्रम वडा अध्यक्ष तथा बालमैत्री स्थानीय शासन वडा समितिका अध्यक्ष पूर्णबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रमुख अतिथिका रूपमा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेलको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिमा नगर उपप्रमुख मञ्जु देवकोटा सहभागी भएकी थिइन । कार्यक्रममा वडा सदस्यहरू, महिला, बालबालिका तथा समाज कल्याण शाखाका प्रतिनिधिहरू, वडा सचिव, स्वास्थ्य संस्थाका प्रतिनिधि, स्थानीय बाल अधिकार समितिका पदाधिकारी, टोल विकास संस्थाका प्रतिनिधि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमका वक्ताहरूले बालबालिकाको हक, हित र संरक्षण सुनिश्चित गर्न स्थानीय तहको सक्रियता अपरिहार्य रहेको धारणा राख्दै ‘चाइल्ड प्रोफाइल’ निर्माणले नीति निर्माण र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका थिए ।

वडाभित्र रहेका प्रत्येक बालबालिकाको वस्तुस्थितिको समग्र अभिलेख तयार पार्दै उनीहरूको अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ सुरु गरिएको यो पहलले कमलामाई नगरपालिका वडा नं. ५ लाई बालमैत्री नमुना वडा बनाउने अभियानमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया