काभ्रेपलाञ्चोक,१३ बैशाख — निरन्तर वर्षासँगै आएको बाढीले वीपी राजमार्ग अवरुद्ध हुँदा अलपत्र परेका सयौँ यात्रुको उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार शनिबार साँझदेखि रोशी गाउँपालिका–९ मंगलटार क्षेत्रमा फसेका ६ सय २७ यात्रुलाई आइतबार बिहान सुरक्षित स्थानमा सारिएको हो ।
प्रहरी नायब उपरीक्षक रविन बिष्टका अनुसार रोशी खोलामा आएको आकस्मिक बाढीले राजमार्गका विभिन्न स्थानमा बनाइएका अस्थायी डाइभर्सनहरू बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो । त्यसका कारण मंगलटार क्षेत्रमा यात्रुवाहक तथा मालवाहक सवारीसाधनहरू रोकिँदा ठूलो संख्यामा यात्रुहरू अलपत्र परेका थिए ।
उद्धार कार्यका क्रममा नेपाल प्रहरी, स्थानीय तह तथा सर्वसाधारणको समन्वयमा यात्रुहरूलाई झोलुङ्गे पुलमार्फत सुरक्षित रूपमा पार गराइएको थियो । त्यसपछि उनीहरूलाई तेमाल गाउँपालिकाको बाटो हुँदै भकुण्डेसम्म पु¥याइएको प्रहरीले जनाएको छ । उद्धार गरिएका यात्रुहरूलाई आवश्यक खाद्य तथा पेय पदार्थको समेत व्यवस्था गरिएको थियो ।
प्रहरीका अनुसार करिब ८० वटा सवारीसाधन मंगलटार क्षेत्रमा रोकिएका छन् । ती सवारीका चालक र सहचालकसहित करिब १२० देखि १२५ जना व्यक्ति अझै सवारीसाधनकै संरक्षणमा उक्त क्षेत्रमा रहेका छन् । डाइभर्सन पुनः निर्माण नभएसम्म ती सवारीसाधन गन्तव्यतर्फ अघि बढ्न नसक्ने अवस्था रहेको जनाइएको छ ।
उद्धारपछि यात्रुहरूलाई स्थानीय होटल व्यवसायी तथा सुरक्षाकर्मीको सहयोगमा भकुण्डे क्षेत्रमा फलफूल, चाउचाउ, पेय पदार्थ र पिउने पानी उपलब्ध गराइएको थियो । कठिन परिस्थितिमा स्थानीय समुदायले देखाएको सहकार्यलाई सराहनीय मानिएको छ ।
यता, वर्षा केही कम भएसँगै बाढीले बगाएका डाइभर्सनहरूको पुनर्निर्माण कार्य सुरु गरिएको छ । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुंगा, डालाबेंशी, बुलढुंगा र माम्ती गरी आठ स्थानमा डाइभर्सन निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ ।
राजमार्ग पुनः सञ्चालनमा ल्याउन स्थानीय सरकार, सुरक्षाकर्मी तथा प्राविधिक टोली सक्रिय रूपमा खटिएको जनाइएको छ । यद्यपि, मौसमको अवस्था अनुकूल नभएसम्म पूर्ण रूपमा यातायात सञ्चालनमा आउन समय लाग्न सक्ने अनुमान गरिएको छ ।
प्राकृतिक विपत्तिका कारण उत्पन्न यस्तो अवस्थाले यात्रु सुरक्षा र पूर्वाधार व्यवस्थापनमा थप सजगता आवश्यक रहेको देखिएको छ । सम्बन्धित निकायहरूले दीर्घकालीन समाधानतर्फ ध्यान दिनुपर्ने आवश्यकता पुनः उजागर भएको छ ।