काभ्रेपलाञ्चोक, १३ वैशाख – अविरल वर्षापछि आएको बाढीले रोशी खोलासहित विभिन्न स्थानका डाइभर्सन बगाउँदा बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको छ । शनिबार दिउँसो करिब चार बजेदेखि यातायात ठप्प भएको उक्त राजमार्ग तत्काल सञ्चालनमा आउने सम्भावना न्यून रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार सडक पुनः सञ्चालनमा ल्याउन आइतबार साँझसम्म पनि चुनौती कायम रहने आकलन गरिएको छ ।
प्रहरीका अनुसार चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेशी, ठुलोढुंगा र माम्तीसहितका क्षेत्रमा निर्माण गरिएका अस्थायी डाइभर्सनहरू बाढीले बगाएको छ । यसैगरी नेपालथोक तथा सिन्धुलीतर्फको आँपघारी क्षेत्रमा समेत डाइभर्सन क्षतिग्रस्त हुँदा आवागमन पूर्ण रूपमा प्रभावित बनेको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहका अनुसार सडक अवरुद्ध भएपछि मंगलटार, भकुण्डे, काभ्रेभञ्ज्याङ, धुलिखेल तथा सिन्धुलीको नेपालथोक र खुर्कोट क्षेत्रमा सयौं सवारी साधन रोकिएका थिए । आइतबार बिहानदेखि ती स्थानमा रोकिएका सवारी साधनलाई क्रमशः सुरक्षित स्थानतर्फ सार्ने कार्य सम्पन्न गरिएको उनले जानकारी दिए ।
यात्रीहरूको सहजता र सुरक्षालाई ध्यानमा राख्दै वैकल्पिक व्यवस्था अपनाइएको छ । मंगलटारसम्म पुगेका सवारी साधनहरूलाई त्यहीँ रोकेर यात्रुहरूलाई पैदल रूपमा रोशी खोला पार गराइँदैछ । त्यसपछि अर्को सवारी साधनमार्फत तेमालको कालधार–नारायणस्थान–भकुण्डे हुँदै धुलिखेलतर्फ गन्तव्यमा पठाउने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । यस प्रक्रियाले यात्रुहरूलाई गन्तव्यसम्म पु¥याउने प्रयास गरिए पनि असहजता भने कायम रहेको छ ।
प्रहरीले मौसममा सुधार भई सडक पूर्ण रूपमा सुरक्षित भएको सुनिश्चित भएपछि मात्र सवारी साधन सञ्चालन पुनः सुरु गरिने स्पष्ट पारेको छ । सो सम्बन्धमा थप सूचना जारी गरिने र यात्रु तथा सर्वसाधारणलाई आवश्यक जानकारीका लागि नेपाल प्रहरीको १०० तथा ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
बीपी राजमार्ग अवरुद्ध हुँदा काठमाडौं उपत्यकाबाट पूर्वी पहाडी जिल्ला तथा तराई क्षेत्रतर्फ जाने तथा राजधानी भित्रिने सयौं सवारी साधन प्रभावित भएका छन् । उल्लेखनीय रूपमा, गत वर्ष असोज महिनाको दोस्रो साता आएको भीषण बाढीले भकुण्डेदेखि नेपालथोकसम्म करिब २८ किलोमिटर सडक खण्डमा गम्भीर क्षति पु¥याएको थियो । हाल पुनर्निर्माण कार्य जारी रहे पनि स्थायी संरचना निर्माण नहुँदा अस्थायी डाइभर्सनमा निर्भर रहनु परेको छ, जसले यस्ता प्राकृतिक विपत्तिका बेला यातायात व्यवस्थापनलाई थप जटिल बनाउँदै आएको छ ।