काभ्रेपलाञ्चोक,१२ वैशाख — निरन्तर वर्षासँगै जोखिम बढेपछि महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको बिपी राजमार्ग पुनः बन्द गरिएको छ । बनेपा, पनौती, नमोबुद्ध र बेथानचोक आसपासका क्षेत्रमा वर्षा सुरु भएसँगै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सावधानी अपनाउँदै सवारी साधनको आवागमनमा तत्कालका लागि रोक लगाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रवीन विष्टका अनुसार रोशी खोलाको माथिल्लो क्षेत्रमा वर्षा भएसँगै जलस्तर आकस्मिक रूपमा बढ्ने सम्भावना रहेकाले जोखिम न्यूनीकरणका लागि राजमार्ग बन्द गर्ने निर्णय गरिएको हो । “मौसममा सुधार नआएसम्म र अवस्थाबारे थप मूल्यांकन नगरेसम्म सवारी सञ्चालन खुला गरिने छैन,” उनले बताए । उनले यात्रु तथा सवारी चालकलाई अत्यावश्यक बाहेकको यात्रा स्थगित गर्न र यात्रा गर्नै परेमा सम्बन्धित प्रहरी निकायसँग समन्वय गरेर मात्र अघि बढ्न आग्रह गरे ।
गत वर्ष असोज महिनाको दोस्रो सातामा आएको भीषण बाढीले बिपी राजमार्गको भकुन्डेदेखि नेपालथोकसम्म करिब २८ किलोमिटर सडक खण्डमा व्यापक क्षति पु¥याएको थियो। सो क्षतिग्रस्त क्षेत्रमा हाल पुनर्निर्माण कार्य जारी रहे पनि पूर्ण रूपमा स्थायी संरचना निर्माण हुन बाँकी छ । अस्थायी समाधानका रूपमा रोशी खोलाको किनार हुँदै डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आएको छ ।
तर, वर्षा सुरु हुनासाथ खोलाको बहाव तीव्र हुने र अस्थायी डाइभर्सन बगाउने जोखिम उच्च रहने भएकाले सुरक्षालाई प्राथमिकतामा राख्दै बेला–बेलामा राजमार्ग बन्द गर्ने गरिएको प्रहरीको भनाइ छ । यसले यात्रुहरूलाई असुविधा भए पनि मानवीय तथा भौतिक क्षति रोक्न यस्तो निर्णय अपरिहार्य भएको सम्बन्धित निकायको तर्क छ ।
बिपी राजमार्ग पूर्वी नेपाललाई राजधानीसँग जोड्ने प्रमुख मार्गमध्ये एक भएकाले यसको अवरोधले दैनिक आवागमन र आर्थिक गतिविधिमा प्रभाव पर्ने देखिन्छ । यद्यपि, विज्ञहरूले अस्थायी संरचनामाथि निर्भरता कम गर्दै दीर्घकालीन समाधानमा जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै आएका छन् ।
यसैबीच, जिल्ला प्रशासन तथा सुरक्षा निकायहरूले मौसमको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको जनाएका छन् । सर्वसाधारणलाई आधिकारिक सूचना बिना जोखिमपूर्ण यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्नसमेत सुझाव दिइएको छ ।