शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सालकः सबैभन्दा धेरै तस्करी हुने तर बिर्सिएको स्तनधारी जनावर

शुक्रवार , बैशाख ११, २०८३

एउटा यस्तो जनावर कल्पना गर्नुहोस् जुन हिँडिरहेको सल्लाको फल जस्तो देखिन्छ र जसको दाँत हुँदैन । यसले आक्रमण गर्न वा लड्न सक्दैन। जब यसलाई खतरा हुन्छ, मात्र एउटै काम गर्छः आफ्नो शरीरलाई कडा रूपमा गोलो बनाएर पर्खिन्छ ।

सालक शान्त र लजालु स्तनधारी जनावर हो जसको शरीर टाउकोदेखि पुच्छरसम्म एक–अर्कामाथि खप्टिएको खापेटाले ढाकिएको हुन्छ । यस्तो किसिमको कवच भएको यो संसारको एक मात्र स्तनधारी जनवार हो । यिनीहरु राति बाहिर निस्कन्छन्, बिस्तारै जंगल र खेतबारी हुँदै हिँड्छन् र आफ्नो जीवन शान्त रूपमा कमिला र धमिरा खाएर बिताउँछन् । यीनिहारू खतरनाक हुँदैनन्, मानिस वा बालीलाई कुनै हानि गर्दैनन् । वास्तवमा, एउटा सालकले वर्षमा करिब ७ करोड जाति कमिला र धमिराहरु खान्छ, जसले धमिरा को संख्या सन्तुलनमा राख्छ र किसानलाई कीटनाशक प्रयोग गर्नुपर्ने खर्चबाट जोगाउँछ। तर पनि, सालक संसारकै सबैभन्दा धेरै अवैध रूपमा व्यापार हुने वन्य स्तनधारी हो ।

एशिया र अफ्रिकामा गरी सालकका आठ प्रजातिहरू पाइन्छन् । तीमध्ये दुई प्रजाति नेपालका जंगलमा पाइन्छन् । चिनियाँ सालक (Manis pentadactyla ) र भारतीय सालक (Manis crassicaudataa)। दुवै अहिले IUCN को संकटापन्न जनावरहरु को सुचीमा छन् ।

वासस्थान र आहार

नेपालमा सालकहरू विभिन्न भू–भागमा पाइन्छन् । चिनियाँ सालक, जसलाई “कालो सालक” पनि भनिन्छ र तल्लो पहाडी क्षेत्रदेखि मध्य पहाडसम्म पाइन्छ र कहिलेकाहीँ ३,००० मिटरको उचाइसम्म पनि पुग्छ । भारतीय सालक, जसलाई “तामे सालक” भनिन्छ, मुख्यतया तराई क्षेत्रको घाँसे मैदान, खुला जंगल र मानव बस्ती नजिक पाइन्छ । २०२४ को अध्ययनले भारतीय सालक लमजुङ जिल्लासम्म पाइएको देखाएको छ।

दुवै प्रजाति किटभक्षी हुन् र मुख्यतया कमिला र धमिरा  खान्छन् । राम्रोसँग देख्न नसक्ने भएकाले यिनीहरुले गन्धको सहायताले धमिरा र कमिला खोज्छन् । सालकका अगाडिका बलिया नङ्ग्राले कडा धमिरा को ढिस्का समेत सजिलै फुटाउन सक्छन । सालकको जिब्रो आफ्नै शरीरभन्दा लामो हुन्छ र करिब ४० सेमी सम्म फैलिन सक्छ। यिनीहरुको जिब्रो छिटो  र टाँसिने हुने भएकाले गहिरो सुरुङ वा रुखभित्रका कमिलाहरुलाइ सजिलै निकाल्न सहयोग गर्छन । दाँत नभएकाले यिनीहरुको पेटमै पाचन प्रक्रिया हुन्छ। साना ढुंगाहरु पनि निल्छन र तिनले आहारा पिस्ने काम गर्छन् ।

प्रजनन र जीवनचक्र

सालकहरू एक्लै बस्ने जनावर हुन् । यिनिहरु प्रजननका लागि मात्र ३ देखि ५ दिनसम्म सँगै बस्छन् । भारतीय सालकको गर्भावधि समय करिब ६५ देखि ७० दिन सम्मको हुन्छ भने चिनियाँ सालकको गर्भावधि समय ३१८ देखि ३७२ दिनसम्म हुन्छ । यिनीहरुले प्रत्येक वर्ष एउटा मात्र बच्चा जन्माउँछन् । जन्मिएपछि केही महिनासम्म आमाले बच्चालाई आफ्नो पुच्छरमा बोकेर हिँडाउँछिन् । करिब दुई वर्षमा यिनीहरु प्रजननको लागि परिपक्व हुन्छन् । यिनीहरु प्राकृतिक अवस्थामा कति वर्ष बाँच्छन् भन्ने स्पष्ट छैन तर बन्दी अवस्थामा २० वर्षसम्म बाँच्न सक्ने देखिएको छ।

सालकहरुको वितरण

विश्वभरमा सालक चार प्रजाति एशियामा र चार प्रजाति अफ्रिकामा पाइन्छन् । नेपालमा सालकहरू धेरै जिल्लामा पाइन्छन् । २०१६ को राष्ट्रिय सर्वेक्षणले ४३ जिल्लामा सालाकको पुष्टि गरेको थियो भने २०१९ को अध्ययनले ७७ मध्ये ६१ जिल्लामा पाइने देखाएको छ । नेपालको करिब १५.२% भूभाग सालकका लागि उपयुक्त मानिन्छ तर त्यसमध्ये केवल १७% मात्र भुभाग संरक्षित क्षेत्रमा पछ । बाँकी ८३% असुरक्षित क्षेत्रमा पर्दछ ।

संरक्षण र कानुनी अवस्था

सबै आठ प्रजातिका सालकहरू अन्तर्राष्ट्रिय रूपमा CITES को Appendix I मा सूचीकृत छन् । नेपालमा सालक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन १९७३ अन्तर्गत संरक्षित स्थान्धारी जनावर हो । कालो सालक अत्यन्तै संकटापन्न र भारतीय सालक संकटापन्न सूचीमा सुचिकृत छ । सालक वा सालकको कुनै पनि आखेटोपाहर अवैध रूपमा शिकार वा व्यापार गरेमा १५ वर्षसम्म कैद र १५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ ।

नेपालमा कानुनी सुरक्षा भए पनि अवैध व्यापार सालकको सबैभन्दा ठूलो खतरा हो । सालकका खप्टा प्राय चीन र दक्षिण–पूर्व एशियामा तस्करी गरिन्छ । नेपालमा सन २०२३/२४ मा २४४ के.जी खप्टा सिकारी बाट बरामद गरिएको थियो । वासस्थान नष्ट हुनु, किसानद्वारा मारिनु र यसको संरक्षणमा कम ध्यान जानु अन्य प्रमुख समस्या हुन् ।

हामीले सालकको संरकक्षणमा के गर्न सक्छौं ?

अवैध गतिविधि देखेमा रिपोर्ट गर्नुहोस् । वन्यजन्तुबाट बनेका सामग्री नकिन्नुहोस् । समुदायमा सचेतना फैलाउनुहोस् । 

सालक आफैं बोल्न सक्दैन तर हामी बोल्न सक्छौं, यसको संरकक्षणको लागि हामीले आवाज उठाउन सक्छौ ।

लेखक : प्राकृत श्रोत व्यबस्थापन कलेज, कटारी, उदयपुरका ८ औं सेमेस्टर बी.एस.सी. फरेस्ट्री का बिद्यार्थी हुन

 

प्रतिक्रिया