सिन्धुली,०९ बैशाख —सिन्धुलीमा हिरासतमा रहेका एक युवकको मृत्यु भएपछि परिवारले निष्पक्ष न्यायिक छानबिनको माग गरेका छन् । सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–३ निवासी विन्दमाया वि.क.ले आफ्नो २२ वर्षीय छोरा कृष्ण वि.क.को मृत्यु प्रहरी यातनाबाट भएको आशंका व्यक्त गर्दै बुधवार पत्रकार सम्मेलन गरी सत्य तथ्य सार्वजनिक गर्न आग्रह गरेकी हुन् ।
उनका अनुसार, कृष्ण वि.क.लाई गत वैशाख ३ गते ललितपुरको सातदोबाटो प्रहरी चौकीले खोटाङकी १८ वर्षीया कामन मगर (नाम पबिर्तन)सँग बालविवाह गरेको आरोपमा नियन्त्रणमा लिएको थियो । त्यसपछि वैशाख ४ गते इलाका प्रहरी कार्यालय खुर्कोटमा पठाइएको जानकारी आमाले वैशाख ५ गते मात्र पाएकी थिइन् । प्रारम्भिक रूपमा मिलापत्रको कुरा भए पनि पछि केटी पक्षबाट जबरजस्ती करणीको मुद्दा दर्ता गराइएको र जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको जनाइएको छ ।
विन्दमाया वि.क.ले प्रहरीको दबाबमा केटी पक्षबाट मुद्दा दर्ता गराइएको आरोप लगाएकी छन् । साथै, हिरासतमा रहेका आफ्नो छोरालाई मानसिक तथा शारीरिक यातना दिई जबरजस्ती करणी गरेको स्वीकार गर्न बाध्य बनाइएको दाबी पनि उनले गरेकी छन् । “बालविवाहको विषयमा मुद्दा चल्दा पनि किन करणीको मुद्दा बनाइयो भन्ने कुरा रहस्यमय छ,” उनले भनिन् ।
वैशाख ७ गते साँझ करिब ४ बजे कृष्ण वि.क.ले इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतभित्रको शौचालयको झ्यालमा सटको पासो लगाई आत्महत्या गरेको भन्ने प्रहरीको भनाइलाई परिवारले अस्वीकार गरेको छ । “पुरानो सटको कपडाले मानिस झुण्डिएर मर्न सम्भव छैन, यो आत्महत्या नभई यातनाबाट भएको मृत्यु हो,” आमाको भनाइ छ ।
घटनापछि परिवारलाई तुरुन्त जानकारी नदिइएको आरोप पनि लागेको छ। प्रहरीका अनुसार साँझ ४ बजे घटना भएको भए पनि परिवारलाई राति १० बजे मात्र जानकारी गराइएको थियो। साथै, घटनास्थल अवलोकन गर्न समेत नदिइएको भन्दै परिवारले असन्तुष्टि जनाएको छ । मृतकको शव भने सिन्धुली अस्पतालको शव गृहमा राखिएको अवस्थामा परिवारले देखेको जनाएको छ ।
परिवारले न्यायिक छानबिन नभएसम्म पोस्टमार्टम तथा दाहसंस्कार नगर्ने अडान लिएको छ । तर, जिल्ला प्रशासन कार्यालय र प्रहरीबाट शव बुझेर छिटो दाहसंस्कार गर्न मानसिक दबाब दिइएको आरोप पनि विन्दमायाले लगाएकी छन् । उनका पति दल बहादुर वि.क.को पनि नौ महिना अघि आत्महत्याबाट मृत्यु भएको थियो, जसले गर्दा उनी एकल महिला बनेकी छन् ।
उक्त घटनालाई लिएर विन्दमाया वि.क.ले राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय दलित आयोग तथा एडभोकेसी फोरम लगायतका निकायमा समेत उजुरी दिएको जानकारी दिएकी छन् । उनले सरकारसँग निष्पक्ष न्यायिक छानबिन आयोग गठन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेकी छन् ।
यस घटनाले प्रहरी हिरासतमा हुने मानव अधिकार उल्लंघनको प्रश्न फेरि एकपटक उठाएको छ । सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्नुपर्ने आवश्यकता देखिएको छ ।