सिन्धुली, ०८ बैशाख — पिपलभन्ज्याङ–रामपुर सडक खण्ड अन्तर्गत निर्माणाधीन दुई वटा पुल र कालोपत्रे सडक निर्धारित समयभन्दा अगाडि सम्पन्न भएपछि सम्बन्धित निर्माण ब्यवसायीलाई सम्मान गरिएको छ । पूर्वाधार विकास कार्यालय सिन्धुलीको आयोजनामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा द्वारा निर्माणमा निर्माण ब्यावसायीहरूलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको हो ।
निर्धारित समयभन्दा अगाडि निमार्ण कार्य सम्पन्न गरी सम्मानित हुनेहरुमा पुल र्मिाणमा श्रृजना निर्माण सेवा, सिन्धुलीका प्रोपाइटर उद्वब प्रसाद दाहाल , सडक निर्माणतर्फ दिलबहादुर बम्जन र भुपेन्द्र पौडेल रहेका छन् । उनीहरूले समयमै गुणस्तरीय काम सम्पन्न गर्ने प्रतिबद्धता र दक्षताले परियोजना छिटो पूरा हुन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ ।
कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले विकास आयोजनाहरू समयमै सम्पन्न हुनु प्रदेशको समग्र विकासका लागि सकारात्मक संकेत भएको उल्लेख गरे ।
वक्ताहरूले समयमै र गुणस्तरीय निर्माण कार्य गर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्न यस्ता सम्मान कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरे । साथै, आगामी दिनमा पनि विकास आयोजनाहरूमा पारदर्शिता, उत्तरदायित्व र समयपालनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो ।
यस कार्यक्रमले स्थानीय तहमा विकास निर्माणप्रति जिम्मेवारीबोध बढाउनुका साथै दक्ष जनशक्तिलाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ ।
गाउँपालिकाका अध्यक्ष जगत भोला (भोलन) को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सञ्चालन पूर्वाधार इन्जिनियर सरोज लुइँटेलले गरेका थिए । कार्यक्रममा पूर्वाधार कार्यालय प्रमुखले योजनाको विस्तृत जानकारी प्रस्तुत गर्दै स्वागत मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममामा बागमती प्रदेशसभा सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ, प्रदेशसभा सदस्य मातृका भट्टराई, एमाले सिन्धुलीका नेता मनोजजंग थापा,घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलन, उपाध्यक्ष शकरमान घलान लगायत स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।