सिन्धुली,०८ बैशाख — सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा मृत्यु भएपछि घटनाले गम्भीर प्रश्नहरू उठाएको छ । वैशाख ३ गतेदेखि हिरासतमा रहेका विकको सोमवारर साँझ इलाका प्रहरी कार्यालय खुर्कोटस्थित प्रहरी थुनुवा कक्षमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले थुनुवा कक्षको भेन्टिलेसनमा सर्टको पासो लगाई आत्महत्या गरेका हुन् ।
घटनाका बेला थुनुवा कक्षमा विक एक्लै रहेको प्रहरीको दाबी छ । साँझ करिब ६ बजेतिर उनले आत्महत्याको प्रयास गरेको थाहा पाएपछि तत्काल उद्धार गरी सुनकोशी सामुदायिक अस्पताल लगिएको थियो । त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि सिन्धुली अस्पताल पठाइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
मृतक विक काठमाडौंमा सवारी चालकको रूपमा कार्यरत थिए । उनले खोटाङ निवासी एक १७ वर्षीया युवतीसँग गत चैत २८ गते प्रेम विवाह गरेका थिए । उक्त विवाहपछि युवती नाबालिका रहेको दाबी गर्दै परिवारले जबरजस्ती करणीको आरोपमा काठमाडौं प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा विकलाई काठमाडौंमा पक्राउ गरी पछि खुर्कोट प्रहरीको जिम्मा लगाइएको थियो, जहाँ उनलाई हिरासतमा राखिएको थियो ।
तर मृतकका परिवारले घटनालाई आत्महत्या मात्र मान्न अस्वीकार गरेका छन् । उनीहरूले अन्तरजातीय विवाहप्रतिको सामाजिक असहिष्णुता र गलत आरोपका कारण विकमाथि अन्याय भएको दाबी गरेका छन् । परिवारजनका अनुसार, युवती नाबालिका भएको बहानामा मुद्दा दर्ता गरिए पनि वास्तविक कारण अन्तरजातीय विवाह नै रहेको उनीहरूको आरोप छ । साथै प्रहरीको लापरबाहीले पनि घटनालाई गम्भीर बनाएको उनीहरूको भनाइ छ ।
घटनापछि मृतकका आफन्त तथा स्थानीयवासी इलाका प्रहरी कार्यालय खुर्कोटमा भेला भएका छन् । उनीहरूले घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न माग गरेका छन् । हिरासतमा रहेका व्यक्तिको सुरक्षाको जिम्मेवारी राज्यको हुने भएकाले यस प्रकारको मृत्युले सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठाएको छ ।
मानव अधिकारसम्बन्धी संवेदनशील विषय भएकाले हिरासतभित्र हुने प्रत्येक घटनामा उच्च सतर्कता अपनाउनुपर्ने सरोकारवालाहरू बताउँछन् । यस्ता घटनाले प्रहरी प्रणालीप्रति जनविश्वास कमजोर पार्ने खतरा पनि देखिएको छ ।
यसबीच प्रहरीले भने प्रारम्भिक रूपमा घटनालाई आत्महत्याको रूपमा प्रस्तुत गरेको छ र विस्तृत अनुसन्धान भइरहेको जनाएको छ । शव हाल सिन्धुली अस्पतालमा राखिएको छ र पोस्टमार्टम रिपोर्टपछि घटनाको थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
यो घटनाले अन्तरजातीय विवाहप्रति समाजमा अझै विद्यमान पूर्वाग्रह, कानुनी प्रक्रियाको प्रयोग र प्रहरी हिरासतको सुरक्षा व्यवस्थाबारे पुनः बहस आवश्यक रहेको संकेत दिएको छ। निष्पक्ष अनुसन्धानमार्फत सत्यतथ्य सार्वजनिक गर्नु अहिलेको प्रमुख आवश्यकता बनेको छ ।