शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा फरार अभियुक्त पक्राउ

मंगलवार , बैशाख ८, २०८३

सिन्धुली,०८ बैशाख — हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा सजाय तोकिएपछि लामो समयदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुली मातहत रहेको प्रहरी चौकी चकमकेबाट खटिएको टोलीले नियमित गस्तीका क्रममा फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीका अनुसार  मंगलवार बिहान करिब ८ बजेको समयमा चकमके क्षेत्रमा गस्ती गरिरहेको टोलीले लगत नं. २०६८ तथा मुद्दा नं. ०७९– सि १–००२० अन्तर्गत दोषी ठहर भई ५ महिना ५ दिन कैद सजाय तोकिएका सिन्धुल ी जिल्लाको तिनपाटन गाउँपालिका–११, चकमके निवासी करिब ३८ वर्षीय राजु धमला भनिने तेजनाथ गिरी लाई पक्राउ गरेको हो । 

अदालतबाट सजाय तोकिएपछि फरार रहेका गिरीलाई खोजतलासको क्रममा प्रहरीले निगरानी बढाएको थियो । सोही क्रममा उनी आफ्नो स्थायी ठेगानानजिकै फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका गिरीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्मानित सिन्धुली जिल्ला अदालतमा पेश गरिएको थियो ।

अदालतको आदेशअनुसार उनलाई कैद भुक्तानीका लागि जिल्ला कारागार सिन्धुली पठाइएको प्रहरीले जानकारी दिएको छ । लामो समयदेखि फरार रहेका अभियुक्त पक्राउ परेसँगै सम्बन्धित मुद्दाको कार्यान्वयन प्रक्रियाले गति लिएको जनाइएको छ ।

प्रहरीले फरार अभियुक्तहरूको खोजी तथा पक्राउलाई प्राथमिकतामा राखी अभियान सञ्चालन गरिरहेको बताउँदै कानून कार्यान्वयनमा कुनै किसिमको सम्झौता नगर्ने स्पष्ट पारेको छ । स्थानीयवासीको सहयोग तथा सूचनाको आधारमा यस्ता कारबाही अझ प्रभावकारी बनाइने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया