सिन्धुली,०६ बैशाख — नेपाली सेनाले भूतपूर्व सैनिकहरूबीच आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले सिन्धुलीस्थित ९ नम्बर वाहिनी अड्डा, माझीटारमा भूतपूर्व सैनिक सम्मेलन, भेटघाट तथा पुनर्मिलन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमलाई शनिवार औपचारिक रूपमा उदघाटन गर्दै ९ नम्बर वाहिनी अड्डाका वाहिनीपति सहायक रथी भूमि भक्त बरालले यस्ता कार्यक्रमले सेवारत तथा अवकाशप्राप्त सैनिकबीचको सम्बन्ध अझ मजबुत बनाउने विश्वास व्यक्त गरे ।
उदघाटन मन्तव्यका क्रममा सहायक रथी बरालले नेपाली सेनाले राष्ट्रको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रिय एकताको संरक्षणमा ऐतिहासिक र अतुलनीय योगदान पु¥याउँदै आएको उल्लेख गरे । उनँले सैनिक सेवाबाट अवकाश प्राप्त गरेपछि पनि भूतपूर्व सैनिकहरू राष्ट्रप्रति समर्पित रहिरहेकाले उनीहरूको अनुभव र सुझावलाई संस्थागत रूपमा उपयोग गर्न यस्ता सम्मेलनहरू महत्वपूर्ण हुने धारणा राखे ।
नेपाली सेनाले भूतपूर्व सैनिकहरूसँग प्रत्यक्ष संवाद स्थापना गर्दै उनीहरूको समस्या, सुझाव र अपेक्षालाई सम्बोधन गर्ने उद्देश्यले विभिन्न जिल्लामा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यसै सन्दर्भमा सहायक रथी बरालले सिन्धुलीसँगै रामेछाप र दोलखा जिल्लामा समेत कार्यक्रम विस्तार गरिएको जानकारी दिए । उनका अनुसार, यस प्रकारका पुनर्मिलन कार्यक्रमले सैनिक परिवारबीच आपसी आत्मीयता अभिवृद्धि गर्नुका साथै संस्थाप्रति विश्वासलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा सहभागी भूतपूर्व सैनिकहरूले आफ्नो सेवाकालीन अनुभव साटासाट गर्नुका साथै वर्तमान अवस्थामा भोगिरहेका विभिन्न चुनौतीहरूबारे पनि धारणा व्यक्त गरेका थिए । विशेषगरी स्वास्थ्य सेवा, शिक्षा तथा स्वरोजगारका अवसरहरू विस्तार गर्नुपर्ने विषयमा सहभागीहरूले जोड दिएका थिए । नेपाली सेनाले यस्ता सुझावहरूलाई गम्भीरतापूर्वक ग्रहण गर्दै कल्याणकारी कोषमार्फत उपलब्ध गराइने सेवाहरूलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।
कार्यक्रमकै अवसरमा अपाङ्गता भएका ज्येष्ठ नागरिकहरूलाई ह्विलचेयर वितरण गरिएको थियो । यसका साथै दीर्घकालीन सेवा पुर्याएका ज्येष्ठ सैनिक परिवारका सदस्यहरूलाई सम्मानसमेत गरिएको थियो । नेपाली सेनाले यस प्रकारका सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै भूतपूर्व सैनिकहरूको सम्मान र हेरचाहमा विशेष ध्यान दिँदै आएको जनाएको छ ।
नेपाली सेनाका अधिकारीहरूले भूतपूर्व सैनिकहरू राष्ट्रका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै उनीहरूको अनुभव, अनुशासन र समर्पण भावले नयाँ पुस्तालाई प्रेरणा दिने बताएका छन् । त्यसैले यस्ता सम्मेलनहरू केवल भेटघाटमा सीमित नभई संस्थागत सुधार र दीर्घकालीन योजनाको आधार तयार गर्ने माध्यमका रूपमा समेत उपयोगी हुने विश्वास लिइएको छ ।
समग्रमा, सिन्धुलीमा सम्पन्न उक्त भूतपूर्व सैनिक सम्मेलनले सेवारत र अवकाशप्राप्त सैनिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै कल्याणकारी कार्यक्रमहरूलाई प्रभावकारी बनाउन मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ । नेपाली सेनाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै भूतपूर्व सैनिकहरूको हित, सम्मान र सशक्तीकरणमा केन्द्रित रहने जनाएको छ ।