शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा रेडक्रसको ५५औँ सभा सम्पन्न, सेवा विस्तारमा जोड

आइतवार , बैशाख ६, २०८३

सिन्धुली,०६ बैशाख — नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीको ५५औँ वार्षिक साधारण सभा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । शनिवार भएको सभाले विगत वर्षका गतिविधिको समीक्षा गर्दै आगामी वर्षका नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ ।

कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरी समग्र गतिविधिको मूल्यांकन गरिएको थियो । साथै आगामी वर्षका लागि आँखा उपचार सेवा, रक्त सञ्चार सेवा, एम्बुलेन्स सेवा, प्राथमिक उपचार सेवा तथा विपद् व्यवस्थापन पूर्वतयारी र जोखिम न्यूनीकरण कार्यक्रमलाई प्राथमिकताका साथ प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको विधान २०७७ (१८औँ संशोधन सहित २०८२) को कार्यान्वयनबारे पनि सभामा विस्तृत जानकारी दिइएको थियो ।

सभाले रेडक्रस अभियानलाई अझ प्रभावकारी बनाउन उपशाखा, पालिका शाखा र जिल्ला शाखाबीच समन्वय सुदृढ गर्दै स्थानीय तहका जनप्रतिनिधिसँग सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । कार्यक्रममा जिल्लाभरिका ४२ वटै उपशाखाका पदाधिकारी तथा रेडक्रसकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

वार्षिक मूल्यांकनअन्तर्गत विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने उपशाखा तथा व्यक्तित्वहरूलाई सम्मान गरिएको छ । समग्र गतिविधि तथा मानवीय सेवामा उल्लेखनीय योगदान पु¥याउँदै सिद्धबाबा उपशाखाले जिल्लास्तरमा द्वितीय स्थान हासिल गर्न सफल भएको छ भने महिला सदस्यता विस्तारतर्फ उल्लेखनीय उपलब्धि हासिल गर्दै सोही उपशाखाले प्रथम स्थान प्राप्त गरेको छ ।

त्यसैगरी स्वयम्सेवक विधातर्फ उत्कृष्ट प्रदर्शन गरेको भन्दै सिद्धबाबा उपशाखाका सभापति सन्तोषकुमार वोहरालाई प्रथम स्थानसहित सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको छ । प्रमुख अतिथि पोखरेलको हातबाट सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरिएको उक्त कार्यक्रममा जिल्ला शाखाका सभापति अशोक श्रेष्ठ, पूर्व सभापतिहरू, सहायक प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार तथा रेडक्रसकर्मीहरूको उपस्थिति रहेको थियो ।

यस उपलब्धिलाई सिद्धबाबा उपशाखाको कार्यसमिति, सल्लाहकार समिति तथा सम्पूर्ण स्वयंसेवकहरूको समर्पण, सक्रियता र अथक प्रयासको परिणामका रूपमा लिइएको छ । कार्यक्रममा सहभागीहरूले रेडक्रसको मानवीय सेवाप्रतिको प्रतिबद्धता अझ सुदृढ बनाउँदै समुदायस्तरमा प्रभावकारी सेवा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सभाको समापनसँगै सहभागीहरूले आगामी दिनमा रेडक्रस अभियानलाई अझ गतिशील बनाउने उद्घोष गर्दै संस्थागत विकास र मानवीय सेवाको दायरा विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

प्रतिक्रिया