शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा ईभी दुर्घटना,  ११ जना घाइते

शनिवार , बैशाख ५, २०८३

सिन्धुली,०५ वैशाख — सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–१ चौराईस्थित मदनभण्डारी राजमार्गमा शनिबार दिउँसो विद्युतीय सवारीसाधन अनियन्त्रित भई दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दिउँसो करिब १२ः५० बजेको समयमा सिन्धुलीबाट हेटौँडातर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ७००५ नम्बरको ईभी अचानक अनियन्त्रित भई सडकको दाहिने किनारतर्फ गई दुर्घटनामा परेको हो । सवारी चालक मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–८ कमाने बस्ने ४५ वर्षीय प्रकाश पाख्रिन रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनापछि चालकलाई प्रहरी चौकी डाँडीगुराँसेको नियन्त्रणमा लिइएको छ ।

दुर्घटनामा परी घाइते हुनेहरूमा सिन्धुली मरीण गाउँपालिका–२ बस्ने १५ वर्षीया पुर्णीमा राई, सोही स्थानका २५ वर्षीय सिद्धार्थ थाठामगर, मकवानपुर बकैया गाउँपालिका–३ का ५० वर्षीय भीमबहादुर मोक्तान, सिन्धुली हरिहरपुरगढी गाउँपालिका–१ की ७२ वर्षीया सानुमाया घलान, सर्लाही बागमती गाउँपालिका–६ का १८ वर्षीय लक्ष्मण राई, सप्तरीका १९ वर्षीय चञ्चल चौधरी रहेका छन् ।

यसैगरी, हरिहरपुरगढी–१ का ६३ वर्षीय सागरबहादुर घलान, मकवानपुर बकैया–३ की ७० वर्षीया सुन्तली मोक्तान, हेटौँडा महानगरपालिका–१८ की ३९ वर्षीया सुशिला मोक्तान, सर्लाही बागमती नगरपालिका–८ का ४७ वर्षीय रामबहादुर कार्की तथा ओखलढुंगा घर भएका ३९ वर्षीय रुद्रबहादुर खड्का घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइतेमध्ये अधिकांशको टाउको, मुख, खुट्टा तथा घुँडामा सामान्य चोट लागेको छ । दुर्घटनापछि घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको थियो ।

घटनास्थलमा प्रहरी चौकी डाँडीगुराँसेबाट प्रहरी टोली खटिएको थियो । प्रारम्भिक अनुसन्धानअनुसार सवारी अनियन्त्रित हुनु नै दुर्घटनाको मुख्य कारण रहेको बताइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। साथै, राजमार्गमा सवारी सञ्चालन गर्दा सावधानी अपनाउन र गति नियन्त्रणमा राख्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया