बि.पी. राजमार्गमा भीषण दुर्घटना, युवक गम्भीर घाइते
सिन्धुली,०५ बैशाख — बि.पी. राजमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका–७ तल्लो बारा क्षेत्रमा शुक्रवार भएको मोटरसाइकल दुर्घटनामा एक युवक गम्भीर घाइते भएका छन् । काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ३५ फिट तल खस्दा उक्त दुर्घटना भएको हो ।
जिल्ला तेह्रथुम पञ्चकन्या गाउँपालिका–१ निवासी २८ वर्षीय बिनोद लिम्बुले चलाएको बा ९१ प ४३६३ नम्बरको मोटरसाइकल बिहान करिब ११ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । तीव्र गतिमा रहेको मोटरसाइकल अचानक नियन्त्रण बाहिर जाँदा सडक छेउबाट तल खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक लिम्बुको टाउको र ढाडमा चोट लागेको प्रहरीले जानकारी दिएको छ । घाइतेलाई तत्काल उद्धार गरी नजिकै रहेको सुभजिवन अस्पताल खुर्कोटमा ल्याई उपचार सुरु गरिएको थियो । चिकित्सकका अनुसार उनको अवस्था जटिल रहेको र थप विशेषज्ञ उपचार आवश्यक देखिएपछि काठमाडौं रिफर गर्ने निर्णय गरिएको थियो ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहर टोली घटनास्थलमा खटिएको थियो । प्रहरीले दुर्घटनास्थल सुरक्षित गर्दै थप अनुसन्धान अघि बढाएको जनाएको छ । दुर्घटनाग्रस्त मोटरसाइकल हाल इलाका प्रहरी कार्यालय खुर्कोटको नियन्त्रणमा राखिएको छ ।
सडकको भौगोलिक अवस्था, तीव्र मोड तथा सवारी साधनको गति नियन्त्रणमा कमी जस्ता कारणले यस क्षेत्रमा पटक–पटक दुर्घटना हुने गरेको स्थानीय बताउँछन् ।
यसैबीच, घाइते लिम्बुलाई दिउँसो करिब २ बजेर ३३ मिनेटमा नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल पठाइएको छ । आकस्मिक उद्धार तथा हवाई स्थानान्तरणका कारण उनको ज्यान जोगाउने प्रयास तीव्र बनाइएको चिकित्सकहरूले बताएका छन् ।
प्रहरीले सवारी चालकलाई सावधानीपूर्वक सवारी चलाउन, विशेषगरी जोखिमयुक्त राजमार्ग खण्डमा गति नियन्त्रणमा राख्न आग्रह गरेको छ । साथै, सडक सुरक्षासम्बन्धी सचेतना अभिवृद्धि आवश्यक रहेको पनि सरोकारवालाहरूले औंल्याएका छन् ।