सिन्धुली,०५ बैशाख, – उपचार खर्च अभावका कारण अस्पतालमै रोकिएका सिन्धुलीका १९ वर्षीय शिव सदा अन्ततः सहयोग प्राप्त भएसँगै अस्पतालबाट डिस्चार्ज भएका छन् । आर्थिक विपन्नताका कारण उपचार शुल्क तिर्न नसकेर विराटनगरस्थित विराट निदान हस्पिटल एन्ड ट्रमा सेन्टरमा अलपत्र परेका सदा प्रति सार्वजनिक चासो बढेपछि निजी क्षेत्रबाट आएको सहयोगले उनको उपचार प्रक्रिया पूर्ण हुन सकेको हो ।
सिन्धुलीको दुधौली नगरपालिका–७ पोखरेका सदाको दयनीय अवस्थाबारे सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि सिजी होल्डिङ्सका अध्यक्ष अरुणकुमार चौधरीले तत्परता देखाउँदै उपचार खर्चको ठूलो अंश व्यहोरेका हुन् । उनले एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएपछि अस्पतालले पनि बाँकी रकममध्ये केही छुट दिँदै सदालाई डिस्चार्ज गर्ने प्रक्रिया अघि बढाएको हो ।
गत २७ चैतमा विष सेवन गरेका सदालाई प्रारम्भिक उपचारपछि विराटनगर ल्याइएको थियो । कोशी अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई निजी अस्पतालमा भर्ना गरिएर आईसीयूमा राखी उपचार गरिएको थियो । उपचारका क्रममा अस्पताल शुल्क र औषधि खर्च गरी कुल एक लाख ३९ हजार रुपैयाँभन्दा बढी रकम पुगेको थियो । तर अत्यन्तै कमजोर आर्थिक अवस्थाका कारण परिवारले जम्मा १५ हजार रुपैयाँ मात्र तिर्न सकेको थियो ।
बाँकी रकम जुटाउन असमर्थ भएपछि सदाकी आमा मघिया सदा पैदल नै घरतर्फ सहयोग खोज्न निस्किएकी थिइन् । उनीसँग भएको मोबाइलसमेत औषधि पसलमा बन्धकी राखिएको थियो भने अस्पतालमा सदा र उनकी किशोरी श्रीमती मात्र बसिरहेका थिए । यस्तो संवेदनशील अवस्थाको समाचार सार्वजनिक भएपछि समाजका विभिन्न क्षेत्रबाट चासो व्यक्त भएको थियो ।
चौधरीको आर्थिक सहयोग प्राप्त भएपछि अस्पताल प्रशासनले पनि सहानुभूति देखाउँदै बाँकी करिब २४ हजार रुपैयाँ छुट दिएको जनाएको छ । अस्पतालका सञ्चालक अजय यादवले बिरामीको आर्थिक अवस्था अत्यन्त कमजोर देखिएकाले मानवीय आधारमा सहयोग गरिएको बताएका छन् ।
डिस्चार्जका बेला घर फर्किने खर्चसमेत नभएका सदालाई अस्पतालले थप दुई हजार रुपैयाँ उपलब्ध गराएको थियो । उपचारपछि स्वास्थ्यमा सुधार आएका सदाले भविष्यमा गल्ती नदोहो¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै अब श्रम र इमानदारीबाट जीवनयापन गर्ने बताए ।
यस घटनाले आर्थिक अभावमा उपचारबाट वञ्चित हुने अवस्थालाई उजागर गर्नुका साथै समयमै गरिएको सहयोगले कसरी जीवन जोगाउन सक्छ भन्ने सन्देश पनि दिएको छ ।