शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा आत्महत्याको रिपोर्टिङबारे सञ्चारकर्मी अभिमुखीकरण

शुक्रवार , बैशाख ४, २०८३

सिन्धुली,०४ बैशाख — आत्महत्या जस्तो संवेदनशील विषयको समाचार सम्प्रेषणलाई मर्यादित, जिम्मेवार र तथ्यपरक बनाउन उद्देश्यसहित सिन्धुलीका सञ्चारकर्मीहरूका लागि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीको आयोजनामा शुक्रबार सिन्धुलीमाढीमा आयोजित उक्त कार्यक्रममा जिल्लाभरिका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले समाचार माध्यमले समाजमा पार्ने प्रभावलाई ध्यानमा राख्दै आत्महत्या सम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्दा विशेष संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिएका थिए । आत्महत्या सम्बन्धी समाचारले समाजमा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले यस्ता विषयमा सनसनीपूर्ण प्रस्तुति नगरी सन्तुलित र जिम्मेवार पत्रकारिता अभ्यास आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो ।

स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका मनोविद अधिकृत एभोन श्रेष्ठले आत्महत्याका आधारभूत पक्ष, यसको मनोवैज्ञानिक आयाम, सम्भावित लक्षणहरू तथा रोकथामका उपायहरूबारे जानकारी गराएका थिए । उनले आत्महत्या सम्बन्धी समाचार लेख्दा प्रयोग हुने भाषा, प्रस्तुति शैली र डिजिटल माध्यममा सामग्री सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने पक्षहरूबारे विस्तृत रूपमा प्रकाश पारे। साथै, समाजमा विद्यमान आत्महत्या सम्बन्धी गलत धारणा र यथार्थबीचको भिन्नता स्पष्ट पार्दै सञ्चारकर्मीको भूमिकालाई अझ जिम्मेवार बनाउनुपर्ने आवश्यकता औंल्याए ।

त्यसैगरी, जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख बिमल पटेलले आत्महत्या सम्बन्धी समाचारमा प्रयोग गर्न उपयुक्त तथा अनुपयुक्त शब्दावलीबारे जानकारी दिँदै पीडित र उनका परिवारको गोपनीयता संरक्षण गर्न सञ्चारकर्मीलाई आग्रह गरे । उनले यस्ता घटनाको रिपोर्टिङ गर्दा व्यक्तिको सम्मान र संवेदनशीलतालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले पनि आत्महत्या सम्बन्धी घटनाको समाचार सम्प्रेषण गर्दा कानुनी र सामाजिक पक्षहरूलाई ध्यानमा राख्नुपर्ने धारणा राखेका थिए ।

अन्तरक्रियाका क्रममा सहभागी सञ्चारकर्मीहरूले आफ्नो अनुभव साझा गर्दै यस्ता अभिमुखीकरण कार्यक्रमले पेशागत दक्षता अभिवृद्धिमा सहयोग पुगेको बताएका थिए। जनस्वास्थ्य कार्यालय सिन्धुलीले आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया