सिन्धुली, ०३ वैशाख — जिल्ला प्रहरी कार्यालय सिन्धुली अन्तर्गत इलाका प्रहरी कार्यालय भिमानले लागूऔषध सेवनमा संलग्न रहेको आरोपमा आठ जना युवालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ । वी.पी. राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–९ स्थित भिमान चेकपोस्टमा नियमित सवारी जाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बुधबार राति करिब १०ः३० बजे प्रहरी निरीक्षक राजु के.सी.को कमाण्डमा खटिएको संयुक्त चेकिङ टोलीले ट्राफिक प्रहरीसँग मिलेर सवारी साधनहरूको निगरानी गरिरहेको थियो । सोही क्रममा बर्दिबासबाट सिन्धुलीतर्फ आउँदै गरेका केही मोटरसाइकलहरूलाई रोक्न खोज्दा चालकहरूले संकेत अवज्ञा गर्दै भाग्न खोजेका थिए । ती सवारी साधनहरूमा अवैध रूपमा परिवर्तन गरिएको तथा अत्यधिक ध्वनि प्रदूषण गर्ने किसिमका उपकरण जडान गरिएको पाइएको प्रहरीको भनाइ छ ।
प्रहरीले तत्कालै नियन्त्रणमा लिएका ती व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय भिमानमा राखी थप जाँच गरिएको थियो । बिहिबार बिहान करिब ९ः३० बजे लागूऔषध परीक्षण (युरिन टेस्ट) गर्दा सबैको रिपोर्ट सकारात्मक( पोजेटिभ) देखिएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूमा गोलन्जोर गाउँपालिका–४ का २० वर्षीय प्रजुल ठकुरी र २४ वर्षीय प्रजुन ठकुरी रहेका छन् । त्यसैगरी कमलामाई नगरपालिका–६ का २१ वर्षीय वेद बहादुर कार्की र २६ वर्षीय सनिर न्यौपाने पनि पक्राउ परेका छन् । मोटरसाइकलमा सवार अन्य व्यक्तिहरूमा हेम बहादुर मल्ल ठकुरी, अमित वाइबा, विश्वास राज विश्वकर्मा र भरत राम मगर रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूले प्रयोग गरेका मोटरसाइकलहरू सवारी नियम विपरीत परिमार्जन गरिएको पाइएको छ । यसले ध्वनि प्रदूषण बढाउनुका साथै सडक सुरक्षामा समेत चुनौती सिर्जना गरेको बताइएको छ ।
घटनापछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी सिन्धुली जिल्ला अदालतबाट सात दिनको म्याद थप गराएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लागूऔषध सेवन र सवारी नियम उल्लंघन सम्बन्धी मुद्दामा कानुनी कारबाही अगाडि बढाइने प्रहरीले स्पष्ट पारेको छ ।
प्रहरीले पछिल्लो समय युवामाझ लागूऔषध दुरुपयोग बढ्दो चिन्ताको विषय बनेको उल्लेख गर्दै यस्ता गतिविधि नियन्त्रणका लागि निगरानी कडा पारिएको जनाएको छ । साथै, सर्वसाधारणलाई सवारी नियमको पालना गर्न र लागूऔषधबाट टाढा रहन पनि अनुरोध गरिएको छ ।