सिन्धुली,०३ बैशाख — राष्ट्रिय गौरवको आयोजना मानिएको मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीमाढी क्षेत्रको लामो समयदेखि विवादमा अडकिएको सडक निर्माण कार्य पुनः सुरु भएको छ । मुआब्जा र जग्गा सम्बन्धी विवादका कारण झण्डै एक दशकदेखि रोकिएको काम अहिले स्थानीय तह, राजनीतिक नेतृत्व र आयोजना पक्षबीच सहमति जुटेपछि अघि बढाइएको हो ।
कमलामाई नगरपालिकाभित्र पर्ने धुराबजारदेखि ज्यामिरेसम्मको करिब एक किलोमिटर सडक खण्ड विभिन्न छ स्थानमा विवादका कारण अधुरो रहँदै आएको थियो । यस क्षेत्रमा मापदण्ड निर्धारण र मुआब्जा वितरणलाई लिएर स्थानीय बासिन्दा र आयोजना पक्षबीच लामो समयदेखि मतभेद रहँदै आएको थियो । सोही कारण सडक निर्माण कार्य पटक–पटक स्थगित हुँदै आएको थियो ।
अब भने धुराबजार, ढकालगाउँ, कोलपाखा, साङ्बाले, खट्टार र ज्यामिरे लगायतका स्थानमा पुनः ठेक्का प्रक्रिया सम्पन्न गरी निर्माण कार्य अघि बढाइएको आयोजनाले जनाएको छ । ती स्थानमा क्रमशः ३९० मिटर, १४५ मिटर, ३३ मिटर, ११४ मिटर, २८२ मिटर र ७१ मिटर सडक निर्माण बाँकी रहेको थियो ।
आयोजना र स्थानीयबीच सहमति जुटाउन कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल, प्रदेश सांसद छेत्रबहादुर बम्जन तथा पूर्व सांसद लेखनाथ दाहाललगायतले सक्रिय पहल गरेका थिए । सहमतिअनुसार सडकको दायाँ–बायाँ एक–एक मिटर नाला सहित ११ मिटर चौडाइभित्र निर्माण गरिने तय गरिएको छ ।
मदन भण्डारी राजमार्ग आयोजना (पश्चिम खण्ड) का इन्जिनियर याबद सुबेदीका अनुसार चालु आर्थिक वर्षमा संघीय सरकारले पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोही बजेट अन्तर्गत सिन्धुली बिल्डर्ससँग चार करोड ५३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ । निर्माण कम्पनीले आगामी असार २५ गतेसम्म काम सम्पन्न गर्ने लक्ष्यसहित काम सुरु गरिसकेको छ ।
निर्माण कार्यमा कुनै किसिमको विवाद उत्पन्न भए स्थानीय तहले समाधान गर्ने प्रतिबद्धता जनाएपछि मात्रै आयोजना अघि बढाइएको सुबेदीले जानकारी दिए। “नगरपालिकाले आवश्यक समन्वय र विवाद समाधान गर्ने आश्वासन दिएपछि हामीले काम अगाडि बढाएका हौं,” उनले भने ।
यद्यपि, सबै स्थानीय बासिन्दा भने सन्तुष्ट देखिएका छैनन् । धुराबजारका हरिशरण श्रेष्ठले आफ्नो घर सडक क्षेत्रमा पर्ने भए पनि अहिलेसम्म उचित मुआब्जा नपाएको गुनासो गरेका छन् । “चलनचल्तीको मूल्यअनुसार मुआब्जा पाए घर भत्काउन तयार छु, नत्र घरको एक टुक्रा पनि नछोड्ने,” उनले स्पष्ट पारे । उनका अनुसार वडा अध्यक्ष र ठेकेदारले घर खाली गर्न आग्रह गरे पनि आफूले मुआब्जा नपाएसम्म सहयोग नगर्ने अडान लिएका छन् ।
निर्माण व्यवसायी दिलबहादुर बम्जनले भने खट्टार क्षेत्रबाट यसै सातादेखि काम सुरु गरिएको बताए । उनका अनुसार सडकमा पिच, ढलान, नाला तथा ग्याभिन वाल निर्माणका कामहरू हुनेछन् । “विवाद समाधान भएपछि काम अघि बढाउन सहज भएको छ,” उनले भने ।
मदन भण्डारी राजमार्ग कुल २५० किलोमिटर लामो आयोजना हो, जसले उदयपुरको बसाहादेखि हेटौडाको चौगडासम्म जोड्छ । २०७३ सालदेखि निर्माण सुरु गरिएको यस आयोजनालाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरिएको छ । बसाहादेखि भिमानसम्म १३५ किलोमिटर पूर्वी खण्ड र भिमानदेखि चौगडासम्म ११५ किलोमिटर पश्चिमी खण्ड पर्छ ।
आयोजनाअन्तर्गत निर्माण गरिने ९६ वटा पुलमध्ये ९५ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । तर सिन्धुलीमाढीस्थित ग्वाङखोला पुल भने अझै विवादका कारण निर्माण हुन सकेको छैन ।
दीर्घकालीन रूपमा मध्यपहाडी क्षेत्रको विकास र यातायात सहज बनाउन महत्वपूर्ण मानिएको यो राजमार्गमा देखिएका विवाद क्रमशः समाधान हुँदै गएमा बाँकी काम पनि छिट्टै सम्पन्न हुने अपेक्षा गरिएको छ ।