शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीम मोटरसाइकलको ठक्करबाट ३ वर्षीय बालक घाइते

बिहिवार , बैशाख ३, २०८३


सिन्धुली, ०३ वैशाख  — सिन्धुली जिल्लाको मरिण गाउँपालिका–६ छापस्थित मदन भण्डारी राजमार्ग सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् । बुधवार अपराह्न करिब ४ः२५ बजेको समयमा सर्लाहीबाट नयाँबस्ती हुँदै सिन्धुलीतर्फ जाँदै गरेको मोटरसाइकलले बाटो काट्दै गरेका ३ वर्षीय बालकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीका अनुसार बा ५८ प १६५९ नम्बरको मोटरसाइकल चालक घ्याङलेख गाउँपालिका–१ निवासी २४ वर्षीय सुरेश कुमार भोलनले चलाइरहेका थिए । सो क्रममा मरिण गाउँपालिका–३ बरुण बस्ने छोइसाङ थिङका छोरा लोप्साङ थिङलाई ठक्कर लागेको हो । दुर्घटनामा बालकको टाउको, च्यापु तथा मुखमा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ । उनी सामान्य रूपमा बोल्न सक्ने अवस्थामा रहेको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।

घाइते बालकलाई तत्काल उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा पु¥याइएको थियो । त्यहाँ प्रारम्भिक उपचार पश्चात् साँझ ५ः३० बजे थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुलीतर्फ पठाइएको प्रहरीले जनाएको छ । तर अवस्था सुधार नदेखिएपछि पुनः साँझ ७ः०० बजे उनलाई थप उपचारका लागि धुलिखेल अस्पताल, काभ्रेतर्फ रिफर गरिएको प्रहरीले जनाएको छ  । बालक राति करिब १ः०० बजे धुलिखेल अस्पताल पुगेको र हाल त्यहीँ उपचार भइरहेको जनाइएको छ ।

दुर्घटनामा संलग्न मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय कपिलाकोटले नियन्त्रणमा लिएको छ ।  यस घटनाले सडक सुरक्षाप्रति पुनः चिन्ता बढाएको छ। विशेषगरी राजमार्ग क्षेत्र आसपासका बस्तीमा बालबालिकाको सुरक्षामा अभिभावकको सजगता आवश्यक रहेको स्थानीयले बताएका छन् । प्रहरीले पनि सवारी चालकलाई गति नियन्त्रणमा राख्न र सडक पार गर्ने सर्वसाधारणप्रति विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया