शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा चैत महिनामा ३८ मुद्दा दर्ता, लागू औषध र आत्महत्याका घटना चिन्ताजनक

बुधवार , बैशाख २, २०८३


सिन्धुली,०२ बैशाख— जिल्ला प्रहरी कार्यालय सिन्धुलीले चैत महिनाको प्रगति विवरण सार्वजनिक गर्दै सो अवधिमा जिल्लामा विभिन्न प्रकारका ३८ वटा अपराधसम्बन्धी मुद्दा दर्ता भएको जनाएको छ । सार्वजनिक गरिएको तथ्यांकअनुसार दर्ता भएका मुद्दामध्ये १९ वटा फछ्र्योट भइसकेका छन् भने १९ वटा अझै बाँकी रहेका छन् ।

प्रहरीका अनुसार चैत महिनामा लागू औषधसम्बन्धी मुद्दा सबैभन्दा बढी ११ वटा दर्ता भएका छन् । त्यस्तै झुन्डिएर आत्महत्या सम्बन्धी ८, बैंकिङ कसूरका ६, अभद्र व्यवहारका ३ तथा अन्य विभिन्न शीर्षकका घटनाहरू दर्ता भएका छन् । जबरजस्ती करणी, विष सेवन, सवारी ज्यान, भवितव्य ज्यानलगायतका गम्भीर प्रकृतिका घटनासमेत देखिएका छन् । यस अवधिमा चालु मुद्दाका २५ जना प्रतिवादी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

फैसला कार्यान्वयनतर्फ चार जना फरार प्रतिवादी पक्राउ गरी ४ महिना २० दिन कैद तथा ९८ हजार ८ सय ६६ रुपैयाँ जरिवाना असुल गरिएको विवरणमा उल्लेख छ । महिला, बालबालिका तथा जेष्ठ नागरिकसँग सम्बन्धित ३० वटा उजुरी परेकोमा विभिन्न उमेर समूहका पीडित तथा पीडकको संख्या उल्लेखनीय रहेको छ । हराएका १७ जनामध्ये १६ जना फेला पारिएको तथ्याकले देखाउँछ ।

घरेलु हिंसाका घटनासमेत उल्लेखनीय देखिएका छन् । शारीरिक र मानसिक गरी १० वटा उजुरी परेकोमा ९वटा मिलापत्रमार्फत टुंग्याइएको छ भने १ वटा अदालत पठाइएको छ । प्रत्यक्षरपमा प्रहरी कार्यालयमा परेको  उजुरीतर्फ १०६ उजुरी दर्ता भई १०६ वटा फछ्र्योट गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक विमल खतिवडाल जनाएको छ ।

लागू औषध नियन्त्रणतर्फ १४ जना पक्राउ परेका छन् भने ६ किलोभ गाँजा ,५९.५१ खैरो हिराइन,९० पिस ट्याबलेट बरामद गरिएको छ । यस अवधिमा कुल ९ वटा आत्महत्या भएकोमा पुरुष, महिला तथा बालबालिकासमेत प्रभावित भएका छन्, जसले सामाजिक सचेतनाको आवश्यकता औंल्याएको छ ।

अपराध न्यूनीकरणका लागि प्रहरीले गस्ती सुदृढीकरण, सम्भावित जोखिम क्षेत्रहरूमा निगरानी वृद्धि, सूचना संकलन तथा नागरिक सचेतना कार्यक्रम सञ्चालन गरेको जनाएको छ । सुरक्षा शान्तितर्फ नियमित रूपमा एलआरपी, एमआरपी, एसआरपी, पिकेट तथा चेकिङ सञ्चालन गरिएको छ । चैत महिनाभर कुल ११ हजार ३९५ जना प्रहरी परिचालन गरिएको थियो ।

सार्वजनिक सुरक्षा अवस्था समग्रमा सामान्य रहेको प्रहरीको भनाइ छ । बन्द, चक्काजाम, आन्दोलन वा हुडदंगजस्ता विशेष परिस्थिति नभएको र कुनै मानवीय वा भौतिक क्षति नभएको उल्लेख गरिएको छ । यद्यपि ६ वट सवारी दुर्घटनामा एक जनाको मृत्यु र १८ जना घाइते भएको तथ्यांकले सडक सुरक्षामा अझ ध्यान दिनुपर्ने देखिएको छ ।

अवैध हातहतियार नियन्त्रणतर्फ  ६ थान भरुवा बन्दुक बरामद गरिएको छ भने राजस्व चुहावट नियन्त्रण अन्तर्गत ८० हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको छ । प्राकृतिक स्रोत दोहन नियन्त्रणका क्रममा १३ वटा ट्याक्टर नियन्त्रणमा लिई ४० हजार रुपैयाँ राजस्व संकलन गरिएको प्रहरीले जनाएको छ ।

विपद् व्यवस्थापनतर्फ ७ वटा आगलागी र ३ वटा चट्याङका घटना व्यवस्थापन गरिएको छ । सामुदायिक तथा विद्यालय केन्द्रित १६९ वटा कार्यक्रम सञ्चालन गरी ३ हजार ३३७६ जनालाई लाभान्वित गरिएको छ भने विद्यालयस्तरमा ६ वटा कार्यक्रममार्फत १७५ विद्यार्थीलाई सहभागी गराइएको छ ।

जिल्ला प्रहरी कार्यालयले नागरिकसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै हेल्पलाइन सेवामार्फत १ हजार ५९९ जनालाई सेवा प्रदान गरेको जनाएको छ । साथै सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत नागरिकका गुनासा र सुझाव संकलन गरिएको छ ।

प्रहरी निरीक्षक विपल खतिवडाले सार्वजनिक गरेको विवरणमा शान्ति सुरक्षालाई थप सुदृढ बनाउन आगामी दिनमा अझ प्रभावकारी रणनीति अवलम्बन गरिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया